News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काका भाइ विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
- विशेष महाधिवेशनपछि विवादका कारण पूर्णबहादुरले निर्वाचन नलड्ने घोषणा गरेपछि विष्णुले कांग्रेसको टिकट पाएका हुन्।
- सुर्खेत–१ मा एमालेका ध्रुव शाही, नेकपा, रास्वपा र राप्रपाका नयाँ उम्मेदवारले पनि मनोनयन दर्ता गराइसकेका छन्।
६ माघ, सुर्खेत । सुर्खेत-१ बाट नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काका भाइ विष्णु खड्काले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
मंगलबार दिउँसो गुर्भाकोटको मेहलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर विष्णुले मनोनयन दर्ता गराएका हुन् ।
यो क्षेत्रमा कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले २०४७ सालयता निरन्तर चुनाव लड्दै आएका थिए । यसपटक कांग्रेसको विशेष महाधिवेशनपछि उत्पन्न विवादका कारण उनले निर्वाचन नलड्ने घोषणा गरेका थिए ।
विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि त्यसविरुद्ध उनकै नेतृत्वमा शेरबहादुर देउवापक्ष पहिले निर्वाचन आयोग पुगेको थियो । आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि त्यसविरुद्ध उनकै नेतृत्वमा देउवा पक्ष सर्वोच्च अदालत गएको थियो ।
अदालतमा रिट दर्ता गराएकाले आफू उम्मेदवार नबन्ने घोषणा गरेपछि उनकै भाइ विष्णुले कांग्रेसको टिकट पाएका हुन् ।
व्यवसायीसमेत रहेका विष्णु कांग्रेस सुर्खेतका जिल्ला उपसभापति हुन । विष्णुसँग यसअघि कुनै पनि संसदीय चुनाव लडेको अनुभव छैन । उनी दाइ पूर्णबहादुरको रणनीतिक योजनामा भने सधैं अग्रभागमा रहेर काम गर्दै आएका थिए ।
यो क्षेत्रमा एमालेबाट पुरानै नेता ध्रुव शाहीले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाबाट जीतबहादुर राना, रास्वपाबाट टेकबहादुर सिंह र राप्रपाबाट रविकिरण हमालले पनि मनोनयन दर्ता गराइसकेका छन् । एमालेका शाहीबाहेक अन्य सबै उम्मेदवार यो क्षेत्रका नयाँ अनुहार हुन् ।
प्रतिक्रिया 4