+
+
Shares

एआई र सञ्जालले प्रभावित बनाउन सक्छ चुनावी नतिजा

सामाजिक सञ्जालमा एआई वा कुनै तरिकाले बनाइएको भिडियो झट्ट हेर्दा वास्तविक जस्तो लाग्दा मतदाता झुकिने खतरा हुन्छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ माघ ८ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि एआई प्रयोग गरी भ्रामक सूचना सम्प्रेषण नगर्न आचारसंहितामा स्पष्ट निर्देशन दिएको छ।
  • सामाजिक सञ्जालमा एआईद्वारा बनाइएका फेक भिडियो र फोटोले मतदातालाई प्रभावित पार्ने जोखिम बढेको विज्ञहरूले बताएका छन्।
  • निर्वाचन आयोगले भ्रामक सूचना पहिचान गर्न एआई सफ्टवेयर प्रयोग गर्दै सामाजिक सञ्जाल कम्पनीहरूसँग समन्वय गरिरहेको छ।

८ माघ, काठमाडौं ।  ‘सबैजनालाई नमस्कार छ,’ जनार्दन शर्माले मतदातासामू आदरभाव देखाउँछन् । लगत्तै छेउमा उभिएका अर्का समर्थक भन्छन् – तपाईंलाई हाम्रो समर्थन छ ।

यसरी दुईजनाको भलाकुसारी चलिरहँदा शर्माको पछाडि अन्य मतदाता उभिएका छन् । कोही हात बाँधेर उभिएका छन् भने कोही गम्भीर भएर सुनिरहेका देखिन्छन् । सबैलाई साक्षी राखेर ती मतदाता थप भन्छन्, ‘तपाईंले बिजुली ल्याउनुभयो । सडक बनाउनुभयो । स्कुल बनाउनुभयो ।’

मतदाताले यो भन्दै गर्दा शर्मा झन कड्किएका सुनिन्छन् । उनी भन्छन्, ‘आफ्नै सहयोद्धाको भाग खोस्ने टुरिस्ट नेतालाई चिन्नुहोस् । जसले यिनलाई नेता बनाउन ज्यान दिए, आज उनकै छोराविरुद्ध उभिएको छ । धिक्कार छ, छविलाललाई ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुस्पकमल दाहाल लक्षित जनार्दन शर्माको यो टिप्पणी सुनेपछि वरपरका सबै चिच्याएर अनुमोदन गराउँछन् ।

तर, नझुक्किनुस् – सामाजिक सञ्जालमा भाइरल बनिरहेको यो भिडियो एआईद्वारा बनाइएको हो । यद्यपि, झट्ट हेर्दा भिडियो वास्तविक जस्तै देखिन्छ ।

घरहरूका छायाँदेखि परपर टुक्रुक्क बस्दै सुनिरहेका केही व्यक्तिले गाउँले झल्को दिँदा पनि कतिपयले उक्त भिडियोलाई वास्तविक ठानिरहेको प्रतिक्रियाहरुबाट बुझ्न सकिन्छ ।

त्यस्तै, बिहीबार सामाजिक सञ्जालमा एकाएक एउटा तस्बिर भाइरल छ । महेश बस्नेत फ्यान क्लबबाट भएको उक्त पोस्टमा बालेन सोफामा सुतिरहेका छन् । ‘झापा ५ बाट चुनाव लड्ने ट्यापेको ताल‘ भन्दै क्याम्पन लेखिएको उक्त फोटोमा बालेनको हातमा मदिराको बोतल र गिलास छ । झट्ट हेर्दा बालेन मदिरा पिएर ढलेजस्तो देखिने उक्त पोस्ट एआईबाट बनाइएको हो । कतिपयले भने यो पोस्टलाई यथार्थजस्तो सम्झिएर पोस्ट गर्ने, सोधखोज गर्ने गरेको सञ्जालमा देखिन्छ ।

यसरी निर्वाचनको मिति नजिकिँदै जाँदा नेता/कार्यकर्ता आक्रामक प्रचारमा उत्रिएका देखिन्छन् । यता पार्टीबाट टिकट नपाउँदै आफ्नो माहोल देखाउन कन्टेन्ट बनाइरहेका उनीहरु उम्मेदवारी दर्तापछि झन् आक्रामक देखिनु नौलो होइन ।

सामाजिक सञ्जाल नै यस्ता प्रचारप्रसारको माध्यम बनेको छ । चुनावी मैदानकै गतिविधि हुन् या अरु केही, त्यसलाई थप आकर्षक बनाएर सामाजिक सञ्जालमा हाल्नुलाई प्राथमिकतामा राखिएको छ ।

‘हुक लाइन’ देखि आकर्षक एडिटिङले मतदातालाई प्रभावित पार्न तल्लीन छन्, नेता/कार्यकर्ता । यसमा माथि उदाहरणमा देखाइएको जस्तो एआईको प्रयोग झन् बढ्दो छ ।

एआईको प्रयोग बढ्दा चुनावी नतिजालाई गलत ढंगले प्रभावित बनाउनेमा उत्तिकै जोखिम देख्छन् विज्ञहरु । डिपफेक, चीपफेक, एआई भ्वाइस क्लोनिङ, फेक–च्याट म्यानिपुलेसन लगायतबाट मतदाता प्रभावित हुने जोखिम धेरै छ ।

सामाजिक सञ्जालमा यस्ता विषयको बाढी नै लागेकाले होला, राप्रपा नेता राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रिल, स्टाटस र ट्रेन्डको भरमा विवेक विना खन्याइएको मतले परिवर्तन होइन, राजनीतिक दुर्घटना निम्त्याउँछ ।‘

जस्तो, अर्को एउटा भिडियो छ – जसमा आफूलाई प्रधानमन्त्री प्रोजेक्ट गरेर एकै क्षेत्रबाट चुनावी मैदानमा होमिएका केपी शर्मा ओली र बालेन शाहबीच महाभारत युद्धको झल्को दिने भिडियो बनाइएको छ ।

रथमा उभिएर बाँण समाएका ओलीले भन्दै छन्, ‘यो मेरो अन्तिम चेतावनी हो बालेनपुत्र । समर्पण गर । अन्यथा परिणामका लागि तयार हौं ।’

लगत्तै अर्को रथमा उभिएका बालेनले बाँण समाउँदै जवाफ फर्काउँछन्, ‘यो युद्ध मेरो स्वार्थको लडाइँ होइन । यो त नेपाल आमाको छातीमा गाडिएका घाउहरुको जवाफ हो ।’ बालेनले यसो भन्दै गर्दा पृष्ठभूमिमा एकअर्काबीच युद्ध भइरहेको देखिन्छ ।

उनको जवाफ सकिन साथ ‘आयो गोर्खाली’ भन्दै बालेन पक्षका योद्धाहरु ओलीतर्फ आक्रमण गर्न जान्छन् ।

राष्ट्रिय झन्डालाई अग्रभागमा राखेर आफूतर्फ आक्रमण गर्न आएका हुल देखेपछि ओली युद्धस्थल छाडेर भागेको दृश्य भिडियोमा देखाइएको छ । भाग्दै गर्दा ओलीले भनेका छन्, ‘अब यिनीहरुले मलाई छाड्दैनन्, भाग ।’

यसरी ओलीलाई मैदाननै छाडेर भाग्न बालेन पक्षले बाध्य बनाइएको भिडियो पनि सामाजिक सञ्जालमा चर्चामा छ, जुन एआईबाट बनाइएको हो ।

यो स्पष्ट एआईबाट बनाइएको देखिने भएपनि प्रतिक्रिया हेर्दा सामाजिक सञ्जालले मनोरञ्जन लिइरहेको र यसैगरी ‘झापामा ओली हराउनुपर्छ’ भन्दै प्रभावित भइरहेको देखिन्छ ।

यतिमात्र होइन, एआईबाटै बनाइएको ओली–बालेनका प्रशस्त भिडियो सामाजिक सञ्जालमा छताछुल्ल भेटिन्छन् । जस्तो, ओली र बालेनबीच बक्सिङ खेलेको भिडियो बनाइएको छ । उक्त भिडियोमा ओलीले बालेनलाई एक मुक्का हान्दा बालेनले घण्टी नै उठाएर ओलीको टाउकोमा हानेको देखिन्छ । ‘झापा कुँली प्रतियोगिता’ लेखिएको ब्यानरमा देखाइएको उक्त बक्सिङ खेलमा कमेन्ट्री पनि छ ।

बालेनले घण्टी उठाउनसाथ कमेन्ट्रीमा भनिएको छ, ‘ओहो! बुढो मान्छेले हान्यो । तर, यो (बालेन) के गर्दैछ ? उसले घण्टी समात्यो । र, अब हानेर लडायो । अविश्वसनीय जीत ।’

आममान्छे नै झुक्काउनेगरी कसरी एआई भिडियो बनिरहेका छन् भन्ने जान्न अर्को उदाहरण हेरौँ ।

चौतारीमा पाका मानिसहरु गफ गरिरहेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनको प्रसंगको यो भिडियोमा सबैले गगन थापालाई पार्टी सभापति बनाउने भनेका छन् । ‘आजको समयमा उपयुक्त पात्र गगन नै हुन् । अब एक काम, एक आवाज, एक लक्ष्य,’ भिडियोमा पाकाहरुले भनेका छन्, ‘गगनलाई सभापति जिताउने ।’

यस्ता भिडियोलाई सामाजिक सञ्जालको अल्गोरिदमले पनि ‘पुस’ गरिरहेको देखिन्छ । एआई निर्मित नै भएपनि मान्छेहरुको इन्गेजमेन्टलाई बढाइरहेको छ । कतिपय अवस्थामा त वास्तविक हो या एआई भनेर झट्टै छुट्याउन गार्‍हो पर्छ । जस्तो, एमाले महाधिवेशनमा प्रदीप ज्ञावालीले ओली प्यानलबाट उम्मेदवार बन्न सोचेजस्तो पद नपाएपछि रोएको भन्दै एउटा भिडियो भाइरल बन्यो । उक्त भिडियोलाई धेरैले पत्याए पनि । तर, सो भिडियो एआई निर्मित थियो ।

यिनै प्रभावलाई बुझेर निर्वाचन आयोगले पनि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि स्वीकृत गरेको आचारसंहितामा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)बारे पनि उल्लेख गरिएको छ ।

एआईको प्रयोग गरी निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने काम नगर्न आयोगले भनेको छ ।

‘सामाजिक सञ्जालमा एआईको प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने,’ आचारसंहितामा उल्लेख छ ।

त्यस्तै कुनै एक प्रयोजनका निम्ति प्रकाशित वा प्रसारित सूचना/सामग्रीलाई एआईको प्रयोग गरी/नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरेर सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनलगायत पनि गर्न नहुने आयोगको आचारसंहितामा उल्लेख छ ।

प्रभावित बनाउनसक्छ चुनावी नतिजा

एआई विज्ञ दोभान राईका अनुसार पछिल्लो समय प्रविधि यति यथार्थजस्तो बन्दै छ कि फेक र वास्तविक छुट्याउन गाह्रो भएको छ । सामाजिक सञ्जालमा एआई वा कुनै तरिकाले बनाइएको भिडियो झट्ट हेर्दा वास्तविक जस्तो लाग्दा मतदाता झुकिने खतरा हुन्छ । चुनावमा यस्ता डिपफेकको मुख्य खतरा भनेको कसैको चरित्र हत्या र असमानता हो ।

जस्तो, विशेष गरी आर्थिक तथा सामाजिक पूँजी कम भएकाहरू (जस्तै युवा महिला वा सीमान्तकृत समुदाय) लाई यसले बढी असर पार्ने राईको तर्क छ । त्यसमाथि कम आर्थिक अवस्था भएको कोही उम्मेदवार छ भने उसले आफूमाथि बनेका यस्ता भिडियोको डिफेन्ड गर्दा नै धेरै खर्च हुन्छ । अनि आममानिस पनि यस्ता कुराबाट प्रभावित हुँदा मत गलत मान्छे र पुँजीपतिकै पोल्टामा जाने खतरा रहेको उनले औँल्याइन् ।

‘चुनावको बेला सामाजिक मुद्धाका बहस र एजेन्डामा केन्द्रित हुनुपर्ने हो । तर, अब यस्ता भिडियो र सामाजिक सञ्जालकै वारले बहसलाई सतही पनि बनाउँछ । त्यसैले यस्ता भिडियोहरुबारे अब हामीले जनचेतनामै काम गनुपर्छ, ताकी जनता आफैँ यस्ता विषयको फरक छुट्याउन सकुन्,’ राईले भनिन्, ‘नत्र त यो बाढी रोक्न गाह्रो छ ।’

साइबर सुरक्षासहितका यी चार जोखिम

नेपालमा निर्वाचनको माहोल तात्तिँदै गर्दा साइबर सुरक्षा विशेषज्ञ डा. राजिब सुब्बाले एआई र सोसल मिडियाको दुरुपयोगले चुनावी नतिजालाई नै प्रभावित पार्न सक्ने बताए । डा. सुब्बाका अनुसार साइबर थ्रेटहरूलाई ‘फोर डी’ मोडलमा चुनावी डिजिटल जोखिमको वर्गीकरण गर्नसकिन्छ ।

जस्तो, डीडीओएस अट्याक (सिस्टम डाउन गराउने), डाटा चोरी (मतदाता जानकारी लिक हुने), डिसइन्फर्मेसन र मिसइन्फर्मेसन (फेक न्यूज र हेट स्पीच फैलाउने) तथा डिपफेक (एआईबाट बनाइएका नक्कली भिडियो र अडियो) मार्फत निर्वाचनमा मतदाता प्रभावित बनाउने जोखिम हुन्छ ।

यीमध्ये डिसइन्फर्मेसनले गलत भाष्य निर्माण गर्ने जोखिम हुने सुब्बाको भनाइ छ । ‘संसारभरिका घटनाहरू हेर्दा यी फोर डी प्रभाव चाहिँ धेरै रहेछ । सबैभन्दा खतरनाक भनेको चाहिँ यो डिसइन्फर्मेसन नै हो । यसले एउटा भाष्य नै निर्माण गर्दिने हुन्छ, चाहे एआईबाट बनाइएका भिडियो हुन् या अरु कुनै तरिकाले ।’

त्यसबाहेक सुब्बाको मुख्य जोड भनेको सिस्टम ह्याक हुनुभन्दा पनि ‘ट्रस्ट ब्रिच’ मा छ । बारम्बार साइबर हमला वा फेक कन्टेन्ट फैलिएपछि मतदाताहरूले निर्वाचन आयोग र समग्र प्रक्रियाप्रति विश्वास गुमाउने खतरा रहेको उनले औंल्याए ।

‘सिस्टम ह्याक हुने भनेको त एउटा सानो पक्ष मात्रै हो । सबभन्दा ठूलो ब्रिच हुने ट्रस्ट हुने भनेको डेटा ब्रिच भन्दा पनि ट्रस्ट ब्रिच हो । कुनै तरिकाले कुनै प्राविधिक सिस्टम ह्याक भयो भने यो निर्वाचन फेयर छैन भन्ने भाष्य नागरिकमा बस्नु झन जोखिमपूर्ण हुन्छ,’ उनले भने ।

तथ्य जाँच आवश्यक छ

नेपालको सन्दर्भमा फ्याक्ट चेक गर्ने राज्यस्तरीय नियामक संस्थाको आवश्यक देखिएको साइबर सुरक्षा विज्ञ डा. सुब्बा बताउँछन् । उनी भन्छन्, ‘फ्याक्ट चेक गर्ने रेगुलेटरी संस्था अथवा राज्यको निकाय नै छैन । खासमा यसमा अबको समयमा एउटा नियामक निकाय नै चाहिने देखिन्छ । अब त हरेक कुराको फ्याक्ट चेक गर्नुपर्‍यो नि त ।’

निर्वाचन आयोगले पनि मेटा जस्ता प्लेटफर्मसँग सहकार्य गर्ने प्रयास गरिरहेको भए पनि यो पर्याप्त नभएको सुब्बाको मत छ ।

त्यसैले अहिलेको अवस्थामा मिडियाहरुले पनि तथ्य जाँच गर्न आवश्यक रहेको उनको भनाइ छ । जनतामा वास्तविक र झुटो कुराको भेद छुट्याइदिनु नै आजको प्रमुख आवश्यकता हो ।

यसबाहेक नागरिकले पनि सोसल मिडियामा आएका कुनै पनि सूचनालाई तत्काल ट्रस्ट नगर्ने र सधैं भेरिफाई गर्न आवश्यक रहेको डा. राईको भनाइ छ ।

‘सोसल मिडियामा आएका कुनै पनि कुरालाई ट्रस्ट नगर्नुस्, पहिला भेरिफाई गर्नुस् । मिडियाहरुले तथ्य जाँच गर्ने, अनि नागरिकले पनि भेरिफाई गरेर मात्र विश्वास गर्ने अवस्थाको सिर्जना गर्नु नै आजको समयको माग हो,’ राईले भनिन् ।

भ्रामक सूचना पहिचानमा आयोगको सफ्टवेयर

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे भ्रामक सूचना पहिचान गर्न आयोगले एआई सफ्टवेयर प्रयोग गर्ने बताएको छ । इलेक्सन इन्फर्मेसन डेसिमिनेसन सेन्टर भनेर एउटा छुट्टै केन्द्र बनाएको छ । उक्त केन्द्रले तीन कुरालाई प्राथमिकताका साथ हेर्छ ।

जस्तो, निर्वाचन आयोगमार्फत हुने र सम्प्रेषण गर्न आवश्यक बुकलेट र विज्ञप्ति आमसञ्चार माध्यममा पठाउने काम यसको छ । त्यसबाहेक विद्युतीय सञ्चार माध्यमहरुको अनुगमन गर्ने काम गर्छ । युएनडीपी र एसिया फाउन्डेसनले यसमा निर्वाचन आयोगलाई सहयोग गरेको घिमिरेले बताए ।

‘सामाजिक सञ्जालमा हुने आचारसंहिता विपरीतका कार्यहरु, जसले निर्वाचनलाई प्रभावित पार्छ, ती कुरा स्क्रीनिड एआई सफ्टवेयरमार्फत गर्छौँ । त्यसपछि त्यस्ता कन्टेन्ट माथि कस्तो कारबाही अघि बढाउने सोच्छौँ । यदि उक्त सामग्री हटाउनुपर्ने कुन निकायसँग सम्पर्क गर्ने भनेर हेरिन्छ र पहल गरिन्छ,‘ घिमिरेले अनलाइनखबरसँग भने, ‘ती निकायहरुसँग पनि हामीले आवश्यक समन्वय गर्न सम्पर्क स्थापित गरिसकेका छौँ ।‘

सञ्जालका भ्रामक विषयमाथि छानबिन गर्न र आवश्यक परे सामग्री नै हटाउनको लागि सामाजिक सञ्जाल कम्पनी टिकटक, मेटा लगायतसँग आयोगले सम्बन्ध विस्तार गरिरहेको घिमिरेले बताए ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?