News Summary
Generated by OK AI. Editorially reviewed.- राजधानीमा नयाँ मेयरको आगमनले नयाँ ऊर्जा र विश्वास जगाएको भए पनि समयसँगै दूरी र संवादको अभावले थकान बढेको छ।
- नेपाली कांग्रेसको विशेष अधिवेशनले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया र संस्थागत मर्यादाको सम्मान कायम रहेको देखाएको छ।
- राजनीति केवल सत्ता खेल नभएर दर्शन, प्रक्रिया र चरित्रको परीक्षा भएको र संस्थागत निरन्तरताले लोकतन्त्र बलियो हुने लेखकले उल्लेख गरेका छन्।
नेपाली राजनीतिको यात्रासँगै मेरा पनि भावना उतार चढावकै लहरमा चले। कहिले उत्साह, कहिले निराशा, कहिले पूर्ण उदासीनता । लामो समयसम्म राजनीतिलाई टाढैबाट हेरिरहँदा प्रायः एउटै अनुभूति हावी रह्यो— थकान । थकान केवल नेताहरूको भाषणबाट होइन, नबुझेका निर्णयबाट पनि होइन; थकान त्यो निरन्तर दोहोरिने असंयम, अस्थिरता र अनिश्चितताबाट थियो ।
यति नै बीच राजधानीमा नयाँ ऊर्जा देखियो । नयाँ मेयर— नयाँ सोच, नयाँ किसिमको विश्वास । म पनि अन्य धेरैजसो मानिसझैँ उत्साहित भएँ, आशावादी भएँ। उनका आगमनले “सायद अब केही फरक हुनेछ” भन्ने अनुभूति दिएको थियो । अझै पनि त्यो प्रारम्भिक सम्मान यथावत छ, शुभेच्छा यथावत छ। तर समयसँगै फेरि नखोजीकन जोडियो – थकान । फेरि त्यो इमानको कारणले पनि हैन, न त नियतको कारणले हो, यो त खाली बढ्दै गएको दूरीको कारणले हो ।
सुरुमा मन परेको शैली, त्यो नयाँपन, त्यो निर्भीकताको ऊर्जा पहिले प्रेरणादायी लाग्थ्यो। तर बिस्तारै त्यही निर्भीकताको आवेग कहिलेकाहीँ दूरी र असामञ्जस्य जस्तो महसुस हुन थाल्यो। एउटा नेतृत्व जसले शहरसँग लगातार संवाद गर्नुपर्ने थियो, कहिलेकाहीँ केवल ‘स्टाटस’ मार्फत दूरी बढाइरहेको देखिन थाल्यो । अझै पनि लाग्छ नियत ठीक छ, इमान छ । तर हरेक नयाँ स्टाटस, हरेक सार्वजनिक अभिव्यक्ति देख्दा मनभित्र एउटा डर बस्छ— “के थाहा, भोलि फेरि यस्तो केही लेखियो भने मैले जोगाइराखेका विश्वासहरू नै लाजको बोझ बन्लान् कि ?”
म थाकें । त्यो चश्माले बनाइने दूरी देखेर थाकें, अनावश्यक कठोरतामा ढल्किने शैली देखेर थाकें, शहरसँग बोलेजस्तो देखिएर पनि शहरदेखि टाढिँदै गएको अनुभूति देखेर थाकें । यति हुँदाहुँदै पनि, म त्यो शुरुवातको इमान र उद्देश्यमाथि शंका गर्दिनँ । अझै पनि विश्वास छ – उनको चाहना गलत छैन । त्यसैले सम्मान र शुभेच्छा यथावत छन् ।
तर विश्वासको अन्तिम आधार बन्नुपर्ने नजिकपन, संवाद र संवेदनशीलता जति जरुरी थियो, त्यति पाइनँ । यही कारण विश्वास गर्न मन लाग्छ, तर शंका बिना विश्वास गर्न सकिँदैन जस्तो महसुस भइरहेको छ। यो कुनै घृणाबाट जन्मिएको दूरी होइन, यो त थकानबाट जन्मिएको बोध मात्र हो – जहाँ उद्देश्यप्रति सम्मान जोगाइराखेर पनि “विश्वास निर्भय हुन सकेन” भन्ने स्वीकारोक्ति बाँचिरहेको छ ।
यही अनुभवले एउटा गहिरो पाठ सिकाएको छ । व्यक्तिगत आकर्षणले मन जित्न सक्दो रहेछ, तर देशलाई अघि बढाउने आधार हुँदैन रहेछ। पहिले लाग्थ्यो, एउटा करिश्माटिक व्यक्तित्व आए सबै परिवर्तन सम्भव छ। तर समयले बुझायो, करिश्मा केवल सुरुवात हो, गन्तव्य होइन। र व्यक्तिले उत्साह जगाउन सक्छ, तर मुलुकलाई दीर्घकालसम्म टेकेर राख्ने शक्ति भने दर्शन, संस्था र अनुशासनबाट मात्र आउँछ भन्ने कुरा स्पष्ट हुँदै गयो ।
त्यसैले अब लाग्छ उत्साह मात्रले राज्य चल्दैन, र हिम्मत मात्रले नेतृत्व परिभाषित हुँदैन। नेतृत्वको वास्तविक परीक्षा तब शुरू हुन्छ जब लोकप्रियताभन्दा ठूलो प्रश्न अगाडि उभिन्छ, जब नारा होइन, निर्णयको भार बोक्नुपर्छ ।
यसैबीच देशको राजनीतिक दृश्यपटलमा एउटा यस्तो घटना भयो, जसले यो बोधलाई केवल सोच मात्र होइन, अनुभूति बनाइदियो ।
कांग्रेसको विशेष अधिवेशन ।
लामो समय निराश हुँदै बितेको, राजनीतिप्रति मोहभङ्ग हुँदै गइरहेको, क्रान्तिको नाममा घाइते सपना, नैतिकताहीन भाषण र व्यक्तिपूजाले ढाकिएको अधिनायकवादी प्रवृत्तिले भरिएको वातावरणबीच— हालै नेपाली कांग्रेसले देखाएको विशेष साहसले र त्यसपछि भएका गतिविधिले भने राजनीतिमा दर्शन झिनो भए पनि निभेको छैन भन्ने भाव बलियो बनाइदियो ।
मैले पनि अब बुझिसकेको छु—राजनीति केवल सत्ता जतिको खेल होइन; यो दृष्टिको, दर्शनको र चरित्रको परीक्षा हो ।
तर यहाँ कुरा स्पष्ट पार्न चाहन्छु । म कांग्रेसभित्रका ती धारबारे कुरा गरिरहेकी छैन जसले यस परिवर्तनलाई निरन्तर अस्वीकार गर्छन्, जसका लागि लोकतान्त्रिक प्रक्रिया केवल औपचारिकता मात्र हो, र जसलाई विचारभन्दा शक्ति नजिक हुने चिन्ताले चलाउँछ । त्यस्ता धारबाट अब न आशा बाँधेको छु, न अपेक्षा छ । न त अन्य दलको त्यस्ता चरित्रहरूप्रति केही भन्नै बाँकी छ किनकि त्यहाँ न विश्वास जोडिएको छ, न भविष्यको सम्भावना । म जति बोलिरहेकी छु, त्यो ती साधारण तर साहसी कांग्रेसका प्रतिनिधिहरूबारे हो— जो प्रदर्शनी हलमा बसेर प्रक्रियाको सम्मान गर्दै, संस्थालाई अझै जोगाउने निर्णयमा उभिए ।
र उनीहरूले नै देखाए— संस्था अझै हराएको छैन । प्रक्रियाको मर्यादा जोगिने मात्र होइन, बहुमतले के चाहन्छ भन्ने कुरा संस्थागत निर्णयमा प्रतिबिम्बित होस् भन्ने चेत ज्यूँदो छ । शक्ति नजिक नपुगेका साधारण मानिसहरूको चाहना पनि राजनीतिक मुख्यधारमा समेट्ने प्रयास अझै जीवित छ भन्ने अनुभूति दिएको छ। नेपाली कांग्रेसले देखाएको संगठनभित्रको लोकतान्त्रिक अभ्यास, वैचारिक प्रतिवद्धता र संस्थागत प्रक्रियाप्रति सम्मानले थकित मनमा फेरि विश्वासको थोरै उज्यालो फिर्ता दिएको छ । र नारा, गाली र हिंसा बिना पनि राजनीति शुद्ध अभ्यासतर्फ जान सक्छ भन्ने झिनो संकेत दिएको छ।
म यसलाई अझै महत्वपूर्ण ठान्छु, किनकि नेपाली कांग्रेस कुनै साधारण पार्टी होइन— इतिहास छ, संस्था छ, राजनीतिक विरासत छ । र त्यसैले यति ठूलो पार्टीले परिवर्तनको संकेत देखाउँछ भने, सुधारप्रति तत्परता देखाउँछ भने त्यसलाई “यसको केही अर्थ छैन”भनेर पन्छाउन मन लागेन। बरु, यही प्रयास– यही संकेत— यही संस्थागत चेत नै अबको बुझाइ, आशा र राजनीतिक विश्वास जोगाउने आधार बन्न सक्ला कि जस्तो लाग्छ ।
विश्वले पनि देखेको कुरा हो—अमेरिकाको लोकतन्त्र ट्रम्पवादले हल्लियो, ब्रेग्जिटले बेलायतलाई तर्सायो। तर जर्मनी, नर्वे, फिनल्यान्ड जस्ता देशहरूमा पार्टीको दर्शन र आन्तरिक लोकतन्त्र बलियो रहेकै कारण प्रणाली च्युत भएन । सबै कुरा सहज चलिरहेको बेला “दर्शन किन चाहियो?” भन्ने प्रश्न स्वाभाविक लाग्न सक्छ । तर जब संकट गहिरिन्छ, स्वार्थहरू आपसमा ठोक्किन्छन् र निर्णयहरू व्यक्तिगत लाभ–हानिको तौलमा झुण्डिन्छन्, त्यही बेला संस्थालाई भत्किन नदिई बाँधेर राख्ने अन्तिम आधार दर्शन नै हुन्छ । किनकि व्यक्तिहरू असफल हुन सक्छन्, उनीहरूको व्यवहार, कार्यशैली, समूहगत स्वार्थ र चरित्रले निराश बनाउँछ; तर ती सबैभन्दा माथि उभिएर संस्थागत निरन्तरता सुनिश्चित गर्ने शक्ति कुनै अनुहार होइन, साझा दर्शन हो ।
अझै धेरै मतभेद छन्, पार्टीभित्र पनि विभाजनहरू देखिन्छन्, एकमत छैन। तर त्यही विभाजनभित्र बहस छ, असहमति छ, प्रश्न गर्ने साहस छ, र परिवर्तनतिर टेकेका कदमहरू छन्—यति मात्र पनि आजको नेपाली राजनीतिक परिवेशमा दुर्लभ कुरा हो । त्यसैले पूर्ण उत्साह नभए पनि, कम्तिमा दर्शनप्रति फर्किने यो प्रयास आफैँमा महत्वपूर्ण र आशाजनक संकेत हो ।
सायद यही कारण, आज म पहिले जस्तो संशयमा छैन । र पहिलो पटक मलाई, अनुहार लुकाएर होइन, खुला मनले आशा गर्न सक्ने सानोभन्दा सानो आधार भेटेजस्तो लागेको छ।
यो पूर्ण समर्थनको घोषणा होइन, यो अन्धो प्रशंसा पनि होइन।
यो केवल लामो समयदेखि भित्र कुँडिरहेको द्विविधा र डरले पहिलोचोटी केही स्थिरता पाएको अनुभूति मात्र हो । किनकि मैले पनि अब बुझिसकेको छु—राजनीति केवल सत्ता जतिको खेल होइन; यो दृष्टिको, दर्शनको र चरित्रको परीक्षा हो ।
अन्त्यमा-
“Politics is a dirty game” भन्ने बाल्यकालको धारणा आज आएर फेरि पुनर्व्याख्या भएको छ।
राजनीति डर्टी त हुन्छ— जब यसलाई डर्टी मानिसहरूले चलाउँछन्। तर जब दर्शन, प्रक्रिया र लोकतान्त्रिक अभ्यासले यसलाई दिशा दिन थाल्छ त्यही राजनीति आशा बन्न बन्छ ।
आशा छ, यो अभ्यास निरन्तर रहोस्। दर्शन कागजका शब्दमा मात्र सीमित नहोस्। र, कांग्रेसका नेताहरूले यस स्थिरताको मूल्य जोगाएर राखून्, देशले पनि यसबाट केही राम्रो भविष्य अनुभूत गरोस् ।
प्रतिक्रिया 4