२० माघ, काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन् । शेरचनको निलम्बन सञ्चालक समितिले फुकुवा गरेपछि उनले आइतबार राजीनामा दिएका हुन् ।
यसअघि बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शेरचनलगायत पक्राउ गरेपछि उनलाई सञ्चालक समितिले निलम्बन गरेको थियो । तर, विशेष सरकारी वकिलको कार्यालयले उनलाई प्रमाण नपुग्ने भन्दै हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको थियो । त्यसअघि प्रहरीले बयान नसकिएको बहानामा पटकपटक म्याद थप गर्न पेस गरेपछि उच्च अदालत, पाटनले बयान प्रक्रिया पाँच दिनभित्र सक्न भन्दै उनलाई अन्तिम पटकका लागि म्याद थप गरेको थियो । उच्च अदालतको आदेशबमोजिम त्यो म्याद पनि सकिएपछि विशेष सरकारी वकिल कार्यालयले निर्णय गरी उनलाई हाजिर जहानीमा रिहा गरेको थियो ।
सीआईबीले उनीमाथिको अनुसन्धान प्रतिवेदन अहिलेसम्म पनि सरकारी वकिल कार्यालयमा बुझाउन सकेको छैन।
उनी हाजिर जमानीमा रिहा भएपछि प्रभु बैंकको सञ्चालक समितिले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकवासँगै उनले प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।
तीन दशक बैंकिङ क्षेत्रमा रहेका शेरचन प्रभु फाइनान्स तथा प्रभु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । किस्ट बैंकमा प्रभु विकास बैंक मर्जर भएपछि बनेको प्रभु बैंकमा उनी नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरेका थिए । पछि उनी बैंकको प्रमुख कार्यकारी अधिकृत बने ।
उनी प्रमुख कार्यकारी अधिकृत हुँदा प्रभु बैंकसँग ग्रान्ड बैंक, सेञ्चुरी बैंकलगायत बैंक तथा वित्तीय संस्थाहरु गाभेर संस्थालाई विशाल बनाएका थिए ।
प्रतिक्रिया 4