२० माघ, बागलुङ । तीन पटक म्याद थप्दा समेत निर्वाचन प्रहरी अपुग भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले छिमेकी जिल्लाबाट जनशक्ति थपेर तालिम सुरु गरेको छ ।
बागलुङ जिल्लामा आवश्यक एक हजार २९८ निर्वाचन प्रहरीका लागि अपुग जनशक्ति म्याग्दी जिल्लाबाट ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उनले अपुग जनशक्तिमध्ये १५४ जनशक्ति म्याग्दीबाट मगाएर एक हजार २४० जना निर्वाचन प्रहरीको चार स्थानमा तालिम दिन थालिएको भारतीले बताए ।
तीन पटक म्याद थप्दा समेत आवश्यक निर्वाचन प्रहरी अपुग भएपछि म्याग्दीमा आवेदन बढी आएका जनशक्तिलाई बागलुङ ल्याइएको हो ।
बागलुङमा मागेको आवेदन भन्दा कम जम्मा एक हजार ८६ जनामात्रै निर्वाचन प्रहरीका लागि निवेदन परेको थियो ।
अझै ५८ जना जनशक्ति अन्य जिल्लाबाट ल्याउने तयारी गरिएको भारतीले जानकारी दिए । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि बागलुङका चार ठाउँमा तालिम सुरु गरिएको छ ।
बागलुङमा १ हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम सुरु भएको हो । निर्वाचन प्रहरी भर्नाको लागि तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत माग संख्या भन्दा २१२ जना कमले आवेदन पेश गरेका थिए ।
भर्ना प्रक्रियाबाट छनोट भएका निर्वाचन प्रहरीमध्ये इलाका प्रहरी कार्यालय बरेङडाँडामा ५९ जना, बुर्तिवाङमा ३१०, गलकोटमा १८१ र अन्य बाँकी ७४८ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट तालिम दिन थालिएको हो ।
प्रतिक्रिया 4