+
+
Shares

सिरहा प्रादेशिक अस्पतालका तत्कालीन मेसु यादवसहित १० विरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा

सुरेश राय सुरेश राय
२०८२ माघ २० गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहामा सेवा शुल्क संकलनमा अनियमितता भएको आरोपमा १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
  • अख्तियारले अस्पतालका ८ वटा बिलिङ काउन्टरबाट संकलन भएको ३ करोड ८७ लाख रुपैयाँमध्ये ३८ लाख ७७ हजार रुपैयाँ हिनामिनाको आरोप लगाएको छ।
  • अख्तियारका अनुसार तत्कालीन प्रमुख र जिम्मेवार पदाधिकारीहरूले आपसी मिलेमतोमा रकम हिनामिना गरेको निष्कर्ष निकालेको छ।

२० माघ, सिरहा । प्रादेशिक अस्पताल सिरहा (साविक जनकपुर अञ्चल अस्पताल) मा सेवा शुल्क संकलनमा अनियमितता भएको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव, डा. सरोज यादव, प्रशासन प्रमुख अशोककुमार सिंह, लेखा प्रमुख अशोककुमार यादवलगायत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरू ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसाको राजस्व हिनामिनामा संलग्न रहेको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार अस्पतालका बिलिङ काउन्टरमा संकलन भएको नगद रकम लामो समयसम्म सरकारी राजस्व खातामा दाखिला नगरिएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालका ८ वटा बिलिङ काउन्टरमार्फत संकलन भएको कुल ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसा मध्ये ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको र बाँकी ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा दाखिला नगरी हिनामिना तथा दुरुपयोग गरिएको अख्तियारको अभियोजनपत्रमा उल्लेख छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा समेत उक्त रकम कैफियत देखिएको थियो । अनुसन्धानअनुसार बिलिङ सफ्टवेयर र बैंक भौचरबीच आम्दानी विवरण नमिलेको जानकारी हुँदाहुँदै पनि अस्पतालका तत्कालीन प्रमुख तथा जिम्मेवार पदाधिकारीहरूले आपसी मिलेमतोमा रकम हिनामिना गरेको अख्तियारको निष्कर्ष छ ।

अख्तियारको अनुसन्धानको क्रममा बिलिङ काउन्टरमा कार्यरत कर्मचारीहरूले समेत फरक–फरक रकम दाखिला नगरेको देखिएको छ ।

श्यामकुमार मण्डलले २५ लाख ४७ हजार ४१७ रुपैयाँ ०१ पैसा, पुजाकुमारी यादवले २ लाख ८८ हजार २२९ रुपैयाँ ४० पैसा, सरस्वतीकुमारी यादवले ५ लाख २ हजार ८१३ रुपैयाँ ७४ पैसा, रोशनकुमार यादवले १ लाख ६४ हजार ६५९ रुपैयाँ ६८ पैसा र अजयकुमार मण्डलले ३ लाख ७९ हजार ०२१ रुपैयाँ ५० पैसा दाखिला नगरेको अभियोगपत्रमा उल्लेख छ ।

तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादव, प्रशासन प्रमुख अशोककुमार सिंह तथा तत्कालीन लेखा प्रमुख अशोककुमार यादवविरुद्ध पनि सम्पूर्ण हिनामिना रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरिएको छ ।

तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेकाले आपराधिक सजायको माग गरिएको छैन । उनले पुर्‍याएको क्षतिपूर्ति रकम उनकी श्रीमती मुस्कानकुमारी मण्डलबाट असुल उपर गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक संस्थाको राजस्व हिनामिना गम्भीर अपराध भएकाले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?