+
+
Shares

सेयर सूचीकरण प्रक्रियाप्रति रिलायन्स स्पिनिङ मिल्सको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते २१:००

१ फागुन, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सेयर सूचीकरण प्रक्रियाप्रति ध्यानाकर्षण गराएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले तोकेको सेयरको पहिलो कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति ध्यानाकर्षण गराउँदै बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न स्वीकृति दिने, तर उक्त विधिको लागि पहिलो कारोबार मूल्य सीमा तोक्ने कानुनी प्रबन्ध नगर्दा महँगोमा आईपीओ किनेका लगानीकर्ता मारमा परेको कम्पनीको गुनासो छ ।

कम्पनीको आईपीओ जारी गर्दाको मूल्य विद्यमान सम्पूर्ण कानुनी प्रावधान पूरा गरेर नेप्सेले निर्धारण गरेको दाबी गरिएको छ ।

कम्पनीको तात्कालीन वित्तीय अवस्था र सूचकका आधारमा धितोपत्र बोर्डको अनुमति प्राप्त, नेप्सेमा दर्ता तथा नवीकरण भएका योग्य संस्थागत लगानीकर्ताको बोलकबोल प्रणालीबाट मूल्य कायम भएको कम्पनीले जनाएको छ ।

संस्थागत लगानीकर्ताका लागि ९ सय १२ रुपैयाँ र सर्वसाधारणको लागि ८ सय २० रुपैयाँ ८० पैसा तय भएको थियो । तर, नेप्से आफैंले तय गरेको सेयर मूल्यलाई अवमूल्यन गर्दै अधिकतम ३ सय रुपैयाँको सीमा तोकिदियो । रिलायन्सको २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ ४ सय ९० रुपैयाँ ५४ पैसा रहेको छ, जुन नेप्सेले तोकेको मूल्यभन्दा बढी हो ।

‘सेयरको ओपनिङ रेन्ज १ सयदेखि ३ सय रुपैयाँ निर्धारण गरिएको जानकारी प्राप्त भएको छ, जुन अंकित मूल्यको तीन गुणासम्म मात्र हो,’ कम्पनीका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेद्वारा जारी विज्ञप्तिमा छ, ‘यो सीमा यसअघि अन्य कम्पनीहरूको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्यास विपरीत रहेको कम्पनीको बुझाइ छ ।’

रिलायन्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ओपनिङ रेन्जप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

रिलायन्सले बुक बिल्डिङ विधि सामान्य विधिभन्दा फरक रहेको हुँदा सेयर सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणको आधार समेत फरक हुनुपर्ने ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएपछि कम्पनी सेयर सूचीकरण गर्न बाध्य भएको जनाएको छ ।

यद्यपि, कारोबारको सुरु मूल्य जतिसुकै निर्धारण गरिए तापनि लगानीकर्ताहरूलाई कम्पनीको वास्तविक वित्तीय स्थितितर्फ ध्यानाकर्षण गराएको छ ।

‘कम्पनीको प्रतिसेयर मूल्य ९ सय १२ रुपैयाँ काल्पनिक आधारमा नभई विज्ञ वित्तीय संस्थाहरूले कम्पनीको वित्तीय प्रक्षेपण तथा सम्भाव्यता समेतलाई मध्यनजर गरी तोकेको वास्तविक मूल्य हो, नेप्सेले नै योग्य संस्थागत लगानीकर्ताहरूबीच सिलबन्दी बोलपत्रमार्फत र ६ सय ८ देखि ९ सय १२ रुपैयाँसम्मको सेयर खरिद मूल्य सीमा कायम गरेको यहाँ स्मरणीय छ,’ विज्ञप्तिमा छ, ‘उक्त मूल्य प्रतिष्ठित बैंक, वित्तीय संस्था तथा म्युचुअल फन्डहरूले कम्पनीको वित्तीय अवस्था, प्रक्षेपण र भावी योजनाका आधारमा निर्धारण गरेका हुन्, संस्थागत लगानीकर्ताद्वारा तय भएको मूल्यमा बुक बिल्डिङ निर्देशिका बमोजिम १० प्रतिशत घटाएर आम सर्वसाधारण लगानीकर्ताका लागि ८ सय २० रुपैयाँ ८० पैसा कायम भएको थियो ।’

ओपनिङ रेन्ज कम भए पनि कम्पनीको वर्तमान वित्तीय स्थितिले लगानीकर्तालाई आश्वस्त बनाएको छ । कम्पनीको वित्तीय अवस्था र सम्भाव्यताको उचित विचार गरी निर्णय गर्न लगानीकर्तालाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?