News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकप २०२६ मा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको छ।
- अफगानिस्तानले यूएईले दिएको १६१ रनको लक्ष्य ४ बल बाँकी छँदा पूरा गरेको हो।
- समूह 'डी' बाट दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरेको छ।
४ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा अफगानिस्तानले पहिलो जित निकाल्ने क्रममा यूएईलाई पराजित गरेको छ । यो नतिजासँगै समूह ‘डी’ बाट दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरेको छ ।
सोमबार दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेको हो । यूएईले दिएको १६१ रनको लक्ष्य अफगानिस्तानले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
अफगानिस्तानका लागि इब्राहिम जाद्रानले ५३ रन बनाए । अजमतुल्लाह ओमरजाइ ४० रनमा अविजित रहे भने डार्विश रशूलीले ३३ रन बनाए । सेडिकुल्लाह अटलले १६ तथा गुल्बादिन नाइबले १३ रन बनाए ।
यूएईका जुनेद सिद्धीकी र मुहम्मद अरफानले २-२ विकेट लिए भने मुहम्मद जवादुल्लाहले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १६० रन बनाएको थियो । सोहेब खानले ६८ रन बनाए भने अलिशान सराफूले ४० रन बनाए ।
अफगानिस्तनका लागि अजमतुल्लाह ओमरजाइले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । मूजीब उर रहमानले २ तथा कप्तान राशिद खानले १ विकेट लिए ।
अफगानिस्तान यसअघि न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग पराजित भएको थियो। अफगानिस्तानले पहिलो जितका साथ २ अंक जोडेको छ । यूएईको पनि २ अंक छ । क्यानडा अंकविहीन छ ।
अफगानिस्तान र यूएई दुवैले आ-आफ्ना अन्तिम खेलमा क्यानडासँग खेल्न बाँकी छ । यो समूहबाट दक्षिण अफ्रिकाले ३ खेलमा ६ अंक जोडेर सुपर ८ मा स्थान पक्का गरेको हो ।
प्रतिक्रिया 4