News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलंकाले पथुम निसान्काको अविजित शतकीय प्रदर्शनमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ।
- अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ भने अस्ट्रेलिया समूह चरणबाट बाहिरिने अवस्थामा पुगेको छ।
- श्रीलंकाले ३ खेलमा ६ अंक जोडेर समूह 'बी' मा शीर्षस्थानमा पुगेको छ भने अस्ट्रेलियाको सुपर ८ सम्भावना अन्य नतिजामा भर पर्नेछ।
४ फागुन, मुम्बई । ओपनर पथुम निसान्काले शानदार शतक प्रहार गरेपछि श्रीलंकाले अस्ट्रेलियालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ ।
क्यान्डीमा भएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलिया भने आजको हारपछि समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ ।
निसान्काले ५२ बलमा १० चौका र ५ छक्कासहित अविजित १०० रन बनाए । कुसल मेन्डिसले ५१ रन बनाए । पवन रथनायकेले अविजित २८ रन बनाए । टी-२० विश्वकप २०२६ मा बनेको यो पहिलो शतक समेत हो ।
अस्ट्रेलियाका लागि दुवै विकेट मार्कस स्टोइनिसले लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो । ओपनर मिचेल मार्श र ट्राभिस हेडले शतकीय साझेदारी गर्दै अस्ट्रेलियालाई विशाल योगफलतर्फ पुर्याउने संकेत गरेपनि फिनिसिङ हुन सकेन ।
हेडले ५६ तथा मार्शले ५४ रन बनाए । जोश इङ्लिसले २७ तथा ग्लेन म्याक्सवेलले २२ रन बनाए । अन्यले दोहोरो अंक छुनै सकेनन् ।
अस्ट्रेलियाले १६ ओभरमा १६०-४ को अवस्थाबाट थप २१ रन जोड्दा ६ विकेट गुमायो । श्रीलंकाका लागि दुशान हेमन्थाले ४ ओभरमा ३७ रन दिएर ३ विकेट लिए । दुश्मान्था चमीराले २ तथा महीश थिक्साना, दुनिथ वेलालगे र कामिन्दु मेन्डिसले १-१ विकेट लिए ।
आजको जितपछि श्रीलंकाले ३ खेलमा ६ अंक जोडेर समूह ‘बी’ मा शीर्षस्थानमा रहेको छ भने अस्ट्रेलिया ३ खेलमा २ अंक मात्र जोडेर तेस्रो स्थानमा छ ।
अब अस्ट्रेलियाको सुपर ८ सम्भावना अन्य नतिजामा पनि भर पर्नेछ । भोलि हुने खेलमा जिम्बाबेले आयरल्यान्डलाई हराएमा अस्ट्रेलिया बाहिरिनेछ ।
अस्ट्रेलियाले अब अन्तिम खेलमा ओमानलाई ठूलो अन्तरले पराजित गरेर जिम्बाबे दुवै खेल हार्नुपर्नेछ ।
प्रतिक्रिया 4