+
+
Shares

बालेनको घरदैलो : सुटुक्क आए, दुई दिन घुमेर फर्किए

थिएन पार्टीमा जानकारी, किन ?

‘घरदैलोको सेड्युल सार्वजनिक गर्दा फोटो भिडियो खिच्नेको भिडभाड भयो, मतदाताको समस्या सुन्न पाइएन्,’ बालेनको सचिवालयका एक सदस्य भन्छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन ५ गते २२:१५

५ फागुन, विराटनगर । झापा क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाह सोमबार बिहानै दमकमा घरददैलो गरिरहेको देखिए । दिउँसो गौरीगञ्ज पुगे । उनीसँग सचिवालयका सदस्य र पार्टीका १–२ जना सदस्य मात्रै थिए ।

मंगलबार बिहान उनी आफ्नो सचिवालयका सदस्य केही सुरक्षाकर्मीसँग देखिएका थिए । मतदातासँग भेटघाट गरेका उनी दिउँसो काठमाडौं फर्किए ।

बालेनको यो पटकको घरदैलोमा रास्वपा कार्यकर्ता देखिएनन् । उनले खबर पनि गरेका थिएनन् । कार्यकर्ता उपस्थित नहुनुलाई प्रतिस्पर्धीले चासोका साथ हेरेका छन् । तर, बालेन शाहको सचिवालय भने सल्लाहमै पार्टी कार्यकर्ता उपस्थित नभएको बताउँछ ।

‘घरदैलोको सेड्युल सार्वजनिक गर्दा फोटो भिडियो खिच्नेको भिडभाड भयो, मतदाताको समस्या सुन्न पाइएन्,’ बालेनको सचिवालयका एक सदस्यले भने, ‘हाम्रो प्राथमिकता मतदातासँगको प्रत्यक्ष भेटघाट हो ।’

रास्वपा–५ का सभापति भेषराज भट्टराई खबर गरेर जाँदा भिडभाड हुने भएकाले बालेन सुटुक्क घरदैलोमा गएको बताउँछन् । ‘पार्टीले नेताहरूलाई आ–आफ्नो वडामा खटिन भनेको छ, म सचिवालयमा खटिएको छु,’ उनले भने, ‘खबर गरेर जाँदा भिडभाड देखियो, मतदातासँग गफ गर्न उहाँ एक्लै जानु भएको हो ।’

बालेनले मतदातालाई प्राथमिकता दिँदा स्थानीय रास्वपा कार्यकर्ताहरू भने रुष्ट देखिएका छन् । उम्मेदवारले आफूहरूलाई बेवास्ता गरेको भन्दै यहाँका कतिपय कार्यकर्ताले सार्वजनिक रूपमै गुनासो पनि गरे । क्षेत्रीय सभापति भट्टराई भने गाडी अघि बढिसकेका कारण असन्तुष्टि नरहेको बताउँछन् । ‘धमिल्याउने प्रयास गर्छन्, तर उहाँले योजना बनाएर आउनु भएको छ,’ पार्टीभित्र असन्तुष्टि त छैन नि ? भन्ने प्रश्नको जवाफमा उनले भने,‘ गाडी अघि बढिसक्यो, चढ्ने अघि बढ्छन्, असन्तुष्टि हुने छोडिन्छन् ।’

केही दिनअघि बालेनको सचिवालयका सदस्यले अनलाइखबरसँगको सम्पर्कमा पार्टी कार्यकर्तालाई भन्दा बढी मतदातालाई भेट्न ध्यान दिइरहेको बताएका थिए । सचिवालय सदस्य पार्टी सदस्यलाई समय नदिदा नकारात्मक असर पर्छ भन्ने विषयमा पनि जानकार थिए । तर, केही कार्यकर्ता रिसाएपनि खास फरक नपर्ने ती सदस्यको तर्क थियो ।

बालेनकै टिममा रहेका एकजना रास्वपा कार्यकर्ता सोमबार एमाले प्रवेश पनि गरे । रास्वपा क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य भरत खनाललाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नै पार्टी प्रवेश गराए ।

यो क्षेत्रमा केपी शर्मा ओली घरदैलो गरिरहेका छन् । उनको घरदैलोमा भने समर्थकले लावालस्कर देखिएको हुन्छ ।

ओली मतदाताको घर–घर पुगेर मत मागिरहेका छन् । पार्टीभित्रका असन्तुष्ट सदस्यलाई फकाइरहेका छन् ।

कांग्रेस उम्मेदवार मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङ र श्रम संस्कृति पार्टीका समिर तामाङसहित अन्य उम्मेदवार तामझाम नगरी टोल–टोल पुगिरहेका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?