९ फागुन, रुकुमपूर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली रुकुमपूर्वको सिस्ने गाउँपालिका-२ मा एउटा यस्तो गाउँ छ, जहाँको परिचय भूगोलले मात्र होइन, एउटा विशिष्ट सामाजिक र राजनीतिक चरित्रले दिने गर्छ ।
त्यो गाउँ हो-छिपखोला । यहाँ पुग्ने जोकोहीलाई लाग्छ, यो गाउँ एउटा जीवित ‘राजनीतिक सङ्ग्रहालय’ हो । छिपखोलामा दशकौँदेखि ‘एउटै थर’ र ‘एउटै राजनीतिक विचार’ को अविचलित विरासत कायम छ ।
छिपखोलामा ‘पुनमगर’ समुदायबाहेक अन्य कुनै जातिको बसोबास छैन । यही कारण छिमेकी गाउँवासीहरूले छिपखोलालाई ‘पुनगाउँ’ भनेर पनि चिन्छन् । एउटै जातीय रगतको नातासँगै यहाँका सबै घरधुरीको राजनीतिक आस्था पनि दशकौँसम्म एउटै छ ।
‘कम्युन’को त्यो अभ्यास
छिपखोलामा कुनै बेला लामो समय ‘कम्युन’को अभ्यास गरिएको थियो । ‘बलिदान जन-कम्युन’का नामले २०६१ भदौ २५ गतेदेखि तत्कालीन विद्रोही माओवादीको संयोजनमा कम्युनको अभ्यास थालिएको थियो ।
सुरुमा ६ र पछि १० परिवारले आफ्नो सम्पूर्ण निजी सम्पत्ति पार्टीकरण गरेर ‘साझा काम, साझा भान्छा र साझा आम्दानी’ को अवधारणामा जीवन बिताउन थालेका थिए । त्यो बेला निजी स्वामित्वको अन्त्य गरी सामूहिक श्रममा विश्वास गर्ने परम्परा बसालिएको थियो ।
तर, माओवादी शान्ति प्रक्रियामा आएपछि भने त्यो फितलो हुँदै गयो । २०६८ मा भने कम्युनको अभ्यास रोकियो । आज त्यो कम्युन त इतिहास बनिसक्यो, तर त्यसको जगमा उभिएको ‘शहीद स्मृति पार्क’ ले गाउँको संघर्षपूर्ण विगतलाई अझै पनि ताजा बनाइराखेको छ ।
साबिकका प्वाङ, पोखरा र पिपल गाविसमा राज्यपक्षबाट ज्यान गुमाएकाहरूको नामांकित स्तम्भले यो गाउँको विद्रोही चेतलाई प्रतिबिम्बित गरिरहेको छ ।
त्यो कालो दिन
२०५२ साल फागुन २९ गते छिपखोलामा घटेको एउटा दु:खद् घटनाले नै सिंगो गाउँवासीलाई विद्रोही कम्युनिस्ट विचारमा एकाकार हुन मद्दत गरेको हो ।
प्रहरीद्वारा दुई जना सर्वसाधारणको हत्या भएपछि आक्रोशित बनेको यो गाउँले राज्यसत्ताविरुद्ध तत्कालीन विद्रोही माओवादीको धार समात्यो । त्यसपछि विकट भौगोलिक अवस्थितिले तत्कालीन माओवादीका लागि छिपखोला सुरक्षित ‘सेल्टर’ बन्यो । सेल्टर मात्र बनेन एउटा बलियो आधार इलाकाका रूपमा स्थापित भयो ।
दुर्गम बस्ती छिपखोलाले देशको नीति निर्माण तहमा पुग्ने प्रभावशाली व्यक्तित्व पनि जन्माएको छ । पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुन यही गाउँमा जन्मिएका हुन् ।
गणेशमान २०७० को संविधानसभा सदस्य हुँदै २०७२ मा मन्त्रीसमेत बनेका थिए । गणेशमानकी पत्नी कमला रोका पनि संविधानसभा सदस्य र मन्त्री बनेकी थिइन् ।
विचारको ‘लाल किल्ला’
लोकतन्त्रमा बहुदलीय आबद्धता सामान्य मानिन्छ । तर, छिपखोलामा भने अहिलेसम्म नेकपाबाहेक अन्य दलको उपस्थिति शून्यप्राय: छ । छिपखोलाले अहिलेसम्म एक पुस्तादेखि अर्को पुस्तासम्म एउटै विचार सारेको छ ।
निर्वाचनमा अन्य दलका उम्मेदवार भोट माग्न त पुग्छन्, तर स्थानीयले ससम्मान फर्काउने गरेको छ ।
पहाडको खोँचमा रहेको छिपखोलाले एउटै राजनीति विचार कति दिन सम्हाल्न सक्छ त्यो भने भविष्यले देखाउने छ ।
प्रतिक्रिया 4