+
टी-२० विश्वकप २०२६ :

दक्षिण अफ्रिकाको शानदार जित, भारतको अपराजित यात्रामा ‘ब्रेक’

२०८२ फागुन  १० गते २२:५१ २०८२ फागुन १० गते २२:५१
दक्षिण अफ्रिकाको शानदार जित, भारतको अपराजित यात्रामा ‘ब्रेक’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ अन्तर्गत भारतलाई ७६ रनले पराजित गरेको छ।
  • भारतको लामो समयको टी-२० अपराजित यात्रा तोडिएको छ र यसअघि सन् २०२४ को विश्वकपमा अपराजित च्याम्पियन बनेको थियो।
  • सुपर ८ को समूह १ मा दक्षिण अफ्रिकाले २ अंक जोडेको छ र शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

१० फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ अन्तर्गत आइतबारको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतमाथि शानदार जित हासिल गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको हो । योसँगै भारतको लामो समयको अपराजित यात्रा समेत तोडिएको छ ।

भारत सन् २०२४ को टी-२० विश्वकपमा पहिलो खेलदेखि आजसम्म टी-२० फर्म्याटमा भएका बहुराष्ट्र प्रतियोगितामा अपराजित रहेको थियो । सन् २०२२ को टी-२० विश्वकप सेमिफाइनलमा पछिल्लोपटक पराजित भएको भारत सन् २०२४ को संस्करणमा अपराजित रहेर विश्वकप च्याम्पियन बनेको थियो भने यस संस्करणमा पनि आजको खेलअघि सम्म अपराजित थियो ।

दक्षिण अफ्रिकाले उक्त अपराजित यात्रामा ब्रेक लगाउँदै यस विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । योसँगै गत संस्करणको फाइनलमा बेहोरेको हारको समेत बदला लिएको छ ।

दक्षिण अफ्रिकाले दिएको १८८ रनको बलियो लक्ष्य पछ्याएको भारतले १८.५ ओभरमा अलआउट हुँदै १११ रन मात्र बनाउन सक्यो ।

भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन बनाए । कप्तान सूर्यकुमार यादव र हार्दिक पान्ड्याले समान १८ रन बनाए ।

दक्षिण अफ्रिकाका मार्को यानसेनले ३.५ ओभरमा २२ रन दिएर ४ विकेट लिए । केशव महाराजले ३ विकेट लिए भने कर्बिन बोशले २ र कप्तान एइडेन मार्क्रमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले डेभिड मिलरको अर्धशतकमा २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो । मिलरले ३५ बलमा ७ चौका र ३ छक्कासहित ६३ रन बनाए ।

ट्रिस्टन स्टब्स २४ बलमा १ चौका र ३ छक्कासहित ४४ रनको अविजित फिनिसिङ पारी खेले । डेवाल्ड ब्रेभिसले २९ बलमा ३ चौका र ३ छक्कासहित ३५ रन बनाए ।

भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए । अर्शदीप सिंहले २ तथा वरुण चक्रवर्ती र शिवम दुबेले १-१ विकेट लिए ।

जितसँगै सुपर ८ को समूह १ मा दक्षिण अफ्रिकाले २ अंक जोडेको छ । यो समूहमा भोलि जिम्बाबे र वेस्ट इन्डिजबीचको खेल हुनेछ ।

सुपर ८ का दुई समूहबाट शीर्ष २ टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय