+
+
Shares

गृहमन्त्रीले भेटे रापेछाप दुर्घटनाका घाइते, उपचारमा कमी हुन नदिने आश्वासन

निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार सवारी दुर्घटनामा परेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते २१:४३

१९ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाइतेसँग भेट गरेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । मंगलबार छाउनीस्थित सैनिक अस्पताल पुगेर गृहमन्त्री अर्यालले उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् ।

सोमबार रामेछाप नगरपालिका-२ स्थित सिरुबारीमा भएको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरी छाउनिस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार सवारी दुर्घटनामा परेको थियो । मन्थलीबाट शीतलादेवी मावि सिरुबारी (क), (ख) र वडा ३ को वडा कार्यालय भवन साँघुटार (क) र (ख) मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलगायत कर्मचारी र सुरक्षाकर्मीको टोली सो गाडीमा सवार थिए ।

ना ७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी मतदान अधिकृत डोरप्रसाद घिमिरे र नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको निधन भएको थियो ।

घाइतेसँगको भेटमा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने बताए ।

छाउनी अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा नम्रता महराका अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्षा (आइसियु) मा उपचार भइरहेको छ ।

बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सविना खड्का र समरबहादुर मानन्धरको मेडिकल वार्डमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चार महिला र तीन पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?