News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेमा २०६४ सालको निर्वाचनभन्दा पनि खराब नतिजापछि नेतृत्व परिवर्तन र नीति पुनर्गठनको बहस सुरु भएको छ।
- उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव योगेश भट्टराईले नेतृत्व परिवर्तनको सार्वजनिक प्रतिबद्धता जनाएका छन्।
- एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट करिब ५० हजार मतान्तरले पराजित भएका छन् र पार्टी इतिहासकै कमजोर नतिजा आएको छ।
२८ फागुन, काठमाडौं । २०६४ सालको निर्वाचन भन्दा पनि खराब नतिजा आएपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ । सामाजिक सञ्जाल, मिडिया र संवादमार्फत नेताहरूले नीति र नेतृत्व परिवर्तनको बहस थालेको देखिन्छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईसहितका नेताहरूले नीति र नेतृत्व परिवर्तनको अग्ररसता लिने सार्वजनिक प्रतिबद्धता गरेपछि पार्टीभित्र यो बहस सघन बनेको छ । उपाध्यक्ष पौडेलले फेसबुक स्टाटस लेखेर कार्यकर्ता पंक्तिलाई निराश नहुन आग्रह गर्दै पार्टी बदल्ने कामको अग्रसरता लिने बताएका छन् ।
‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रूपान्तरण गर्न र नेकपा एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ पौडेलले लेखेका थिए ।
पौडेलकै जस्तो भाषामा भट्टराईले पनि नेतृत्व परिवर्तनको प्रस्तावअगाडि सारेका छन् । ‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आपूभित्र सर्वाङगीण रूपान्तरणमार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनुपर्छ,’ भट्टराईको प्रस्ताव थियो ।
हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा त भट्टराईले ओलीको राजीनामा नआए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनीकै भाषामा बोलेका छन् । पदाधिकारी तहबाटै ओलीलाई राजीनामाको दबाव बढेपछि यो बहस तल्लो तहसम्मै पुगेको देखिन्छ ।
रूपन्देही-३ बाट निर्वाचन हारेका वासुदेव घिमिरेको स्टाटसलाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ । उनले एमाले नेताहरूलाई पञ्चसँगै तुलना गरेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरुको रटान उही- सबै ठीक छ, महाराज,’ घिमिरेको व्यंग्यात्मक स्टाटसमा लेखिएको छ ।
नेतृत्व फेर्नुपर्ने बहसको प्रतिवादमा भने सदाझै महासचिव शंकर पोखरेल उभिएका छन् । बिहीबार साँझ मात्रै स्टाटस लेखेर पोखरेलले पार्टीलाई कमजोर भ्रममा नपर्न आग्रह गरेका छन् ।
‘१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको छ । यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन–२०८२ को समग्र समीक्षा गरिनेछ,’ पोखरेलले लेखेका छन्, ‘पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडिया मार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएको भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गर्दछु ।’
विगतमा पनि पोखरेलले यस्तै तर्क गर्ने गर्थे । सुदृढीकरण र पुनर्गठनको एजेन्डा नेताहरूले उठाउँदा उनी जनताबिच एमाले लोकप्रिय रहेको रिपोर्ट तयार पार्थे । यो निर्वाचनपछि पनि पार्टी संकटमा देखिएकाले सतिसालझैँ उभिनुपर्ने भाष्य जबर्जस्त आफू पक्षधरमार्फत फैलाउने प्रयत्नमा छन् ।
ओलीको एकलौटी चल्ने एमालेले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया अथवा निर्णय सार्वजनिक गरेको छैन । महासचिव पोखरेलसहितका केही नेताको संकेत हेर्दा ओलीको राजीनामा आउने देखिन्न ।
प्रचार संयोजक मीनबहादुर शाही पार्टीको बैठकबाट निर्णय आउने बताउँछन् । ‘अब सचिवालय बैठक बस्ला, त्यसले केन्द्रीय कमिटी बोलाउछ र समीक्षा हुन्छ,’ शाही भन्छन्, ‘तर बैठक कहिले बस्छ भन्ने चाहिँ जानकारी छैन ।’
पार्टी अनपेक्षित पराजय बेहोर्नु परेकाले गम्भीर समीक्षा हुने उनी बताउँछन् । ‘यति खराब नतिजा अपेक्षित थिएन । तर जनताले आफ्नो अधिकार प्रयोग गरेर दिएको नतिजा स्वीकार्नैपर्छ,’ शाही भन्छन् ।
पार्टी इतिहासकै कमजोर
२०६४ सालमा झिनो अन्तरले पराजित भएकोबाहेक सबै निर्वाचनमा सजिलै जित्दै आएको झापा–५ मा यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लज्जास्पद पराजय बेहोरेका छन् ।
६८ हजार ३४८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन जित्दा १८ हजार ७३४ मतमा ओली समेटिएका छन् । नेपालको संसदीय निर्वाचनमा यो तहको मतान्तरमा कुनै नेताले जितेका थिएनन् । तर ओलीकै निर्वाचन क्षेत्रबाट झन्डै ५० हजारको मतान्तरमा बालेनले जितेका छन् ।
गत ०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएर जित्दा आफू समकालीन नेताहरूमध्ये सर्वाधिक लोकप्रिय रहेको दाबी गरेका थिए । ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत मात्र ल्याउँदा मतान्तर २८ हजार ५७६ थियो ।
ओलीकै जस्तै दाबी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि गर्थे । २०६४ सालको निर्वाचनमा गोरखा-२ बाट ४६ हजार २७२ मत ल्याएर जितेका भट्टराईका निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्रप्रसाद न्यौपानेले ६ हजार १७१ मत मात्र पाएका थिए ।
तर यसपटक रास्वपाका उम्मेदवारहरूले अनेक कीर्तिमान बनाए । बालेनको भन्दा ठुलो मतान्तरमा रास्वपाकै डा.लेखजंग थापाले जितेका छन् । रूपन्देही–३ बाट ५८ हजार ८१४ मत पाएर थापाले निर्वाचन जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत मात्रै पाए । यहाँ ५० हजार बढीको मतान्तर छ ।
पार्टी गठनको चार वर्ष नहुँदै दुई तिहाइ नजिकको शक्ति बन्न पुगेको रास्वपाले कीर्तिमानी नतिजा ल्याउँदा एमाले इतिहासकै कमजोर बन्न पुगेको छ । एमालेका सबै पदाधिकारी पराजित भएका छन् ।
श्रम संस्कृति पार्टीले नयाँ मतदाता तान्दा कोशीका पहाडी क्षेत्र र रास्वपाको प्रभाव कम रहेको सुदूरपश्चिम पहाडका केही क्षेत्र गरी ९ सिटमा मात्रै एमालेले जितेको छ । रास्वपाका उम्मेदवारलाई निकटतम प्रतिस्पर्धी बनाएर जित्ने मोहम्मद इस्तियाक राई एमालेका एक्लो नेता भए । बाँके-२ बाट जितेका उनी नवप्रवेशी हुन् ।
भावी प्रधानमन्त्री घोषित ओलीकै जति मतान्तर नभएपनि देशैभर एमाले उम्मेदवारहरूको अवस्था दयालाग्दो छ । ४९ जना उम्मेदवारको जमानत जफत भएको छ ।
४१ क्षेत्रमा मात्रै एमाले उम्मेदवार निकटतम प्रतिस्पर्धी छन् । एमाले दोस्रो भएका क्षेत्र मध्ये २७ क्षेत्रमा रास्वपा, २ क्षेत्रमा श्रम संस्कृति पार्टी र एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार छन् । बाँकी ८ क्षेत्रमा कांग्रेस र ३ क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छन् । अर्थात् रास्वपा नभए एमालेले थप २७ क्षेत्र मात्रै जित्ने रहेछ ।
समानुपातिक मतको अवस्था उस्तै खराब छ । उदाहरणका लागि झापालाई नै लिन सकिन्छ । रास्वपाले झापाबाट समानुपातिक तर्फ २ लाख ४८ हजार १३८ मत ल्याउँदा एमालेको प्रतिस्पर्धी शक्ति हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी बन्न पुगेको छ । ५५ हजार २५१ मत पाएर एमाले दोस्रो हुँदा श्रम संस्कृति पार्टीले ४५ हजार ३२५ मत पाएको छ ।
झापाकै जस्तो कमजोर नतिजा अरू क्षेत्रबाट समेत आउँदा अघिल्लो निर्वाचन भन्दा एमालेले १४ लाख कम मत पाएको छ । निर्वाचन आयोगको अन्तिम नतिजा अनुसार एमालेले समानुपातिकतर्फ यसपटक १४ लाख ५३ हजार १४९ (१३.४६ प्रतिशत) मत पाएको छ । यो नतिजा २०४८ साल यता निर्वाचनमा भाग लिदै आएको एमाले इतिहासको सवभन्दा कमजोर हो ।

माओवादी दबदबा रहेको २०६४ सालमा समेत एमालेले २०.३३ प्रतिशत (२२ लाख ८३ हजार ३७०) मत ल्याएको थियो । प्रत्यक्षतर्फ ३३ र समानुपातिक तर्फ ७० गरी १०३ सिटको पार्टी हुँदा पनि तत्कालीन पार्टी प्रमुख माधवकुमार नेपालले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।
माधव नेपालले राजीनामा दिएपछि झलनाथ खनाल कार्यवाहक महासचिव र आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएर ०७० सालमा एमालेलाई फेरि बलियो बनाएका थिए ।
झलनाथपछि नवौं महाधिवेशनबाट नेतृत्वमा आएका ओलीको नेतृत्वमा एमाले यसपटक पार्टी इतिहासकै सानो शक्ति बनेको छ । समानुपातिकतर्फ १६ सिट पाएको एमाले २५ सिटसहित तेस्रो शक्ति बनेको छ ।
प्रतिक्रिया 4