News Summary
Generated by OK AI. Editorially reviewed.- रमेश मल्लले सल्यानमा २३ हजार १८९ मतसहित पहिलो पटक संसद्मा निर्वाचित भएर कम्युनिस्ट किल्ला जोगाए।
- मल्लले सल्यानको माओवादी आन्दोलनको विरासत, नेतृत्व टिम, युवाको भावना र गाउँ–गाउँको अन्तर्क्रियाले जित सुनिश्चित भएको बताए।
- उनले आधारभूत आवश्यकता पूरा नभएकाले मत फेरेको अनुभव सुनाउँदै वाम आन्दोलन पुनः एकीकृत गर्नुपर्ने जोड दिए।
४ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा समग्र चुनावी नतिजा सुखद रहेन । तर रमेश मल्लले सल्यानमा आफ्नो जित सुनिश्चित गर्दै कम्युनिस्ट किल्ला जोगाए । रास्वपाको पक्षमा उभार आउँदा पनि २३ हजार १८९ मतसहित उनी निर्वाचित भए ।
उनका प्रतिद्वन्दी रास्वपाका ललितकुमार चन्दले २० हजार ९०४, कांग्रेसका केशवबहादुर विष्टले १७ हजार ५५८ र एमालेका गुलावजंग शाहले १५ हजार ३७३ मत पाए ।
कडा प्रतिस्पर्धाकाबीच रोमाञ्चक जित निकाले उनले । ‘चुनावमा जाँदै गर्दा सल्यान जितिन्छ भन्ने आत्मविश्वास थियो । तर अन्तिमसम्म आइपुग्दा र परिणाम आउँदा जित झन् रोमाञ्चक बन्यो,’ मल्लले आफ्नो अनुभव सुनाए ।
मत गणनाको क्रममा देशैभर रास्वपा अगाडि बढेको समाचारले उनी झस्किन्थे पनि । ‘यति ठूलो लहर नआउला जस्तो लाग्थ्यो । गणनाको क्रममा झस्किरहेका थियौँ । तर सल्यान जितिन्छ भन्ने सुरुदेखि विश्वास थियो । सत्य सावित भयो,’ उनले भने ।
मल्लले सल्यानमा जित हात पार्नुका चार कारण पहिल्याएका छन् ।
पहिलो– सल्यान माओवादी आन्दोलनको आधारभूमि हो । ‘ठूलो बलिदान भएको छ । साढे दुई सयभन्दा बढी शहीद छन् । धेरै बेपत्ता छन् । त्यो बलिदानको विरासतले जनाधार बनाएको छ,’ उनले भने ।

दोस्रो– पार्टीसँग स्थापित नेतृत्व टिम थियो । ‘टिम एकताबद्ध भएर लाग्यो । अभिभावकको भूमिकामा काम गर्यो,’ उनले भने ।
तेस्रो– युवाको भावना बुझेर उम्मेदवारी दिएकाले विजयी भएको निष्कर्ष उनको छ । ‘मेरो उम्मेदवारीले जेनजी पुस्ताले स्वामित्व लिएको सन्देश गयो । जसले युवाहरूलाई आकर्षित गर्यो,’ उनले भने ।
चौथो– गाउँ–गाउँ पुगेर अन्तर्क्रिया गरेकोले जित सुनिश्चित भएको मल्लको निचोड छ । ‘किसान, मजदुर, बुद्धिजीवी सबैसँग जोडियौँ । त्यो माया र विश्वासको परिणाम यो जित हो,’ उनले भने ।
संसदीय राजनीतिको मैदानमा मल्ल पहिलो पटक होमिएका थिए । पहिलो पटकमै उनी सफल भए । तर पार्टीको नतिजा कमजोर आउनुमा अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्छन् उनी ।
‘यसको समीक्षा पार्टीले गम्भीर रूपमा गर्छ । युवापुस्ताले आफ्नो भूमिका खोजिरहेको छ,’ उनले भने, ‘पारदर्शिता, जवाफदेहिता र डेलिभरी चाहिएको छ । हामीले त्यो अपेक्षाअनुसार काम गर्न सकेनौँ ।’
आफ्नो पार्टी सरकारमा गएर प्रयास गरेको तर पर्याप्त नभएको तर्क मल्लको छ । ‘राजनीतिक परिवर्तनमा योगदान गर्यौँ । तर त्यसको सर्भिसिङ गर्न सकेनौँ । यही कमजोरी हो,’ उनले भने, ‘नयाँ पुस्तालाई ठाउँ दिन हिच्किचायौँ। त्यसैले नयाँ पुस्ताले बाहिर विकल्प खोज्यो ।’
२०६४ मा माओवादी ठूलो शक्ति बन्यो । तर त्यसपछि पार्टी विभाजनका कारण जनताले दिएको म्यान्डेटलाई सही रूपमा उपयोग गर्न नसकिएको बुझाइ उनको छ । यही कारण यसपटक नयाँ शक्तिको उभार आयो । ‘चुनाव जित–हारभन्दा ठूलो लोकतन्त्रको सुदृढीकरण हो । चुनाव फेरि आउँछ । तर प्रणाली बलियो हुनुपर्छ,’ उनले भने ।
आधारभूत आवश्यकता पूरा नभएकै कारण जनताले मत फेरेको अनुभव मल्लको छ । ‘गाउँमा अझै बिजुली छैन, पानी छैन, राम्रो सडक छैन, मोबाइल चार्ज गर्न समस्या छ । स्वास्थ्य र शिक्षा कमजोर छ । रोजगारी छैन, युवाहरू विदेश गएका छन्,’ उनले भने, ‘जनताले आधारभूत सुविधा देऊ भनेका छन् । यसपटकको भोट फ्रस्ट्रेसनको हो ।’
तर, केही काम भएको छैन भन्नु पनि गलत हुने तर्क उनको छ । ‘सल्यानमा ५ प्रतिशतबाट ८० प्रतिशत विद्युतीकरण भएको छ । सडक, टेलिकम टावर, कृषि उत्पादन बढेको छ । तर अपेक्षा धेरै छ । उपलब्धि पर्याप्त छैन,’ मल्लले भने ।
अब वाम आन्दोलनलाई पुनः एकीकृत गर्नुपर्नेमा उनको जोड छ । ‘पुरानो पुस्ताले गल्ती स्वीकार्नुपर्छ । नयाँ पुस्ताले नेतृत्व लिन हिम्मत गर्नुपर्छ,’ उनले भने । अबको संसद्मा पार्टीको सिट संख्या कम भए पनि जनताको आवाजलाई बुलन्द बनाउने योजना उनको छ । ‘पहिलो प्राथमिकता जनताको आधारभूत आवश्यकता हो । बिजुली, पानी, सडक, स्वास्थ्य, शिक्षाका लागि लड्छु,’ उनले भने ।
शान्ति प्रक्रियाका बाँकी काम अझै पूरा भएको छैन । रास्वपा ठूलो शक्ति भएर आएकाले त्यो जिम्मेवारी पनि उसैको काँधमा सरेको बताउँछन् मल्ल । ‘शान्ति प्रक्रिया र संविधानको कार्यान्वयन गर्ने कामको नेतृत्व अब रास्वपाको काँधमा सरेको छ,’ उनले भने ।
मल्ल तत्कालीन माओवादी आन्दोलनमा १० वर्षे कठिन भूमिगत जीवनबाट राजनीतिमा होमिएका नेता हुन् । सल्यानबाट नै विद्यार्थी राजनीति सुरु गरेका कारण परिचित अनुहार भएकाले पनि उनलाई जित निकाल्न सहज बन्यो ।
२०५० सालमा तत्कालीन माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर उनी विद्यार्थी आन्दोलनमा होमिए । २०५३ सालमा शीतल उच्च मावि इकाइ समिति सदस्य भए । २०५४ मा क्रान्तिकारी विद्यार्थी संगठन सल्यान जिल्ला समितिको सदस्य हुँदै २०५६ सालमा जिल्ला अध्यक्ष भए ।
दुई कार्यकाल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानको अध्यक्ष बनेका मल्ल २०५८ मा विराटनगरमा सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी) एकताको १५औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बने ।
२०५९ देखि २०६२ सम्म सेती–महाकाली क्षेत्रीय समन्वय समिति संयोजक, त्यसपछि सचिवालय सदस्य, केन्द्रीय समिति कोषाध्यक्ष र उपाध्यक्ष हुँदै २०७१ मा केन्द्रीय संयोजक बने । २०७२ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भए ।

२०५४ मा पूर्णकालीन कार्यकर्ता हुँदै तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र संघर्षमा सहभागी भएका मल्ल सोही वर्ष पार्टीको संगठित सदस्य बनेका थिए । २०५७ मा जिल्ला समिति सदस्य भए भने २०६० मा पार्टीको सेती–महाकाली क्षेत्रीय ब्युरो सदस्यको जिम्मेवारी पाए । उनले २०६१ सालमा पश्चिम केन्द्रीय कमान्ड अन्तर्गतको स्कुल विभाग सदस्यका रूपमा काम गरे ।
मल्ल २०६५ सालमा एकीकृत नेकपा (माओवादी) को नेवाः राज्य समिति सदस्य, २०७३ सालमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य, २०७८ मा पार्टीको पोलिटब्युरो सदस्य हुँदै पार्टीको उपत्यका विशेष प्रदेशको सह–इञ्चार्ज पनि भएका थिए । हाल उनी नेकपाका केन्द्रीय सदस्य छन् ।
२०७९ पुसदेखि २०८१ असारसम्म दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवका रूपमा काम गरेको अनुभव उनीसँग छ ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका मल्लले प्रारम्भिक शिक्षा गाउँकै अरनिको प्राविबाट लिएका थिए । माध्यमिक तहको शिक्षा रुकुमको शीतल उमावि, चौरजहारीबाट पूरा गरेका थिए । उनै मल्ललाई जनताले अनुमोदन गरेर पहिलो पटक संसद्मा पुर्याएका छन् ।
तस्वीर/भिडियो : कमल प्रसाईं
प्रतिक्रिया 4