४ चैत, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले यस पटक जनताले राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)लाई पत्याएको बताउँदै तीन महिनासम्म केही नबोल्न नेताहरूलाई सुझाएका छन् । बुधबार फेसबुकमा स्टाटस राख्दै नेता बास्कोटाले जनताले जिताएको पार्टीले जसरी चलाए पनि उनीहरूकै कुरा रहेको टिप्पणी गरेका हुन् ।
‘रास्वपाले चुनाव जित्यो । चलाउँछन् कसरी ? त्यो उनीहरूकै कुरा । नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार हो,’ बास्कोटाले लेखेका छन्, ‘जनता साझा थिए, छन् र हुने नै छन् । फरक कति मात्र हो, भने आमजनताको रोजाइमा यसपल्ट उनीहरू परे ।’
जनताले रास्वपाका वाचा पत्याएको पनि उनले उल्लेख गरेका छन् । ‘अझ यसो भनौँ उनका वाचा जनताले पत्याए । खाँबो चिथोर्न बन्द गरे हुने,’ बास्कोटाले लेखेका छन् ।
पछिल्लो समय चुनावको नतिजापछिको अवस्थालाई लिएर एमालेका नेताहरूबिच यस्ता आरोप–प्रत्यारोप र घोचपेच चलिरहेका छन् ।
प्रतिक्रिया 4