+
+
Shares

दोहोरो मोर्चामा पाकिस्तान : अफगानिस्तानसँग सैन्य युद्ध, भारतसँग वाकयुद्ध

अफगानिस्तानसँग सैन्य संघर्षमा रहेको पाकिस्तानविरुद्ध यसरी भारतले वक्तव्यबाजीमा उत्रिएपछि पाकिस्तानले भारतविरुद्ध वाकयुद्धको मोर्चा खोलेको छ ।

अरूण बम अरूण बम
२०८२ चैत ४ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा सैन्य संघर्ष सुरु भएको छ जसमा सयौँ सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ।
  • पाकिस्तानी वायुसेनाले काबुलको ओमिड एडिक्सन ट्रीटमेन्ट अस्पतालमा बमबारी गरेको छ जसमा ४०० जनाको मृत्यु भएको दाबी गरिएको छ।
  • भारतले पाकिस्तानको हमलाको निन्दा गर्दै कायरतापूर्ण हमला भनेको छ भने पाकिस्तानले भारतलाई आतंकवाद प्रायोजनको आरोप लगाएको छ।

४ चैत, काठमाडौं । पाकिस्तानको उत्तरी छिमेक अफगानिस्तानको तालिबान सत्तासँग संघर्ष चलिरहेको छ । अफगानिस्तान र पाकिस्तानबीच जन्मजात शत्रुतापूर्ण सम्बन्ध रहेपनि यसअघिसम्म सैन्य युद्धको स्तरमा पुगेको थिएन ।

यसपटक दुवै देशका सेना एकअर्कामाथि हमलाको स्तरमा पुगेका छन् । यद्यपि हालसम्म दुवै देशले आधिकारिक रूपमा एकअर्काविरुद्ध ‘खुला युद्ध’को आह्वान गरिसकेका छैनन् ।

खुला युद्ध नै नभनेपनि दुई देशका सेनाले अर्को देशको सीमा क्षेत्रमा प्रवेश गरेर हमला गर्ने क्रम चलिरहेको छ । जसमा दुवै देशका सयौँ सेना र आम नागरिकले ज्यान गुमाइसकेका छन् ।

यो युद्धको मुख्य कारण पाकिस्तानी सत्ताविरुद्ध लामो समय सशस्त्र संघर्ष गरिरहेको तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) बनेको छ । टीटीपीका अफगानिस्तानमा बसेर पाकिस्तानमा पटक–पटक हमला गर्दैआएको संगठन हो ।

फेब्रुअरी ६ मा पाकिस्तानको राजधानी इस्लामवादको एक शिया मस्जिदमा आतंकवादी हमला भएको थियो । जसमा ३६ जनाको मृत्यु भयो । यस्तै फेब्रुअरी १६ मा बजौर चेकपोइन्टमा भएको अर्को हमलामा पाकिस्तानका ११ जना सैनिक र एक बालक मारिएका थिए ।

पाकिस्तानले लामो समयदेखि अफगानिस्तानको तालिबान सत्तासँग टीटीपीका छापामार बुझाउन दबाब दिँदैआएको थियो । तर, टीटीपीको विचार र पस्तुन जातिको पहिचानसँग मेल खाने तालिबान सत्ताले पाकिस्तानको दबाब स्वीकारेको थिएन । यही कारण पाकिस्तानले अफगान तालिबान सत्तामाथि आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको थियो ।

पछिल्लो पटक राजधानी इस्लामावाद र बजौरमा दुई ठुला हमला बेहोरेपछि पाकिस्तान क्रोधित बनेको देखिन्छ । जसको बदलामा पाकिस्तानी वायुसेनाले फेब्रुअरी २२ मा अफगानिस्तानको भूमिमा पसेर बमबारी गरेको थियो ।

पाकिस्तानले त्यो बमबारी टीटीपी र इस्लामिक स्टेट-खोरसान प्रोभिन्स (आइएसकेपी)का स्थानकेन्द्रित रहेको दाबी गर्दैआएको छ । पाकिस्तानको त्यो हमलामा आफ्ना ११ बालबालिकासहित १८ जना सर्वसाधारण मारिएको दाबी अफगानिस्तानको छ ।

त्यसको बदलामा अफगानिस्तानको तालिबान सेना फेब्रुअरी २६ मा पहिलो पटक पाकिस्तानको भूमिमा पसेर १९ वटा पाकिस्तानी सीमा चौकी कब्जा गरेको दाबी गरेको थियो ।

त्यसपछि दुई देशबीच झन् तनाव बढेको थियो । त्यसको बदलमा पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलमा रहेको दारुलअमान र कन्दहार एयरपोर्टमा भारी बम बर्साएको थियो ।

त्यसयता अफगानी सेनाले सीमाक्षेत्रमा आक्रमण गरिरहेको छ भने, पाकिस्तानको वायु सेनाले बारम्बार अफगानिस्तानमा बमबारी गरिरहेको छ । पाकिस्तानको बमबारीबाट जलालाबाद एयरपोर्ट र काबुलका इन्टेलिजेन्स मन्त्रालयमा समेत विष्फोटका घटना भएका छन् ।

अस्पतालमा हमला र भारतको प्रवेश

यसैबीच मार्च १६ (सोमबार) मा पाकिस्तानी वायुसेनाले काबुलको ओमिड एडिक्सन ट्रीटमेन्ट अस्पतालमा बमबारी गर्दा ४०० जनाको मृत्यु भएको समाचार आइरहेका छन् । यद्यपि त्यो संख्याको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

पाकिस्तानले त्यो अस्पतालमा टीटीपीका कमान्डर लुकेर बसेकाले बमबारी गरेको दाबी गरेको छ । पाकिस्तानको त्यो हमलापछि भने चौतर्फी आलोचना भइरहेको छ ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहयोगी मिसन (युनामा) ले यसलाई नागरिक पूर्वाधारमाथिको अक्षम्य हमला भनेको छ ।

यही मौकामा पाकिस्तानसँग लामो शत्रुता रहेको भारतको प्रवेश भएको छ । भारतले त्यो घटनालाई लिएर पाकिस्तानको निन्दा गरेको छ ।

अफगानिस्तानसँग सैन्य संघर्षमा रहेको पाकिस्तानविरुद्ध यसरी भारतले वक्तव्यबाजीमा उत्रिएपछि पाकिस्तानले भारतविरुद्ध वाकयुद्धको मोर्चा खोलेको छ ।

भारत-पाकिस्तान वक्तव्य ‘वार’

पाकिस्तानी वायुसेनाले अफगानिस्तानको अस्पतालमा हमला गरेपछि भारतको विदेश मन्त्रालयले मंगलबार एक वक्तव्य जारी गरेको थियो । जसमा पाकिस्तानको हमलाको निन्दा गर्दै कायरतापूर्ण हमला भनेर टिप्पणी गरिएको थियो ।

‘यो कायरतापूर्ण र अमानवीय हिंसात्मक कार्य हो, जसले ठुलो संख्यामा सर्वसाधारण नागरिकहरूको ज्यान लिएको छ,’ वक्तव्यमा भनिएको छ, ‘कुनै पनि हिसाबले यसलाई सैन्य लक्ष्यका रूपमा उचित ठहर्‍याउन सकिँदैन ।’ भारतले पाकिस्तानको त्यो हमलालाई नरसंहारको उपमा दिएको छ ।

‘पाकिस्तानद्वारा गरिएको यो घृणित आक्रामक कार्य अफगानिस्तानको सार्वभौमिकता माथिको स्पष्ट हमला मात्र नभई क्षेत्रीय शान्ति र स्थायित्वमाथिको प्रत्यक्ष खतरा पनि हो,’ भारतको वक्तव्यमा भनिएको छ । यस्तै भारतले पाकिस्तानमाथि आफ्नो आन्तरिक असफलता ढाक्न सीमापार हिंसात्मक गतिविधि गरिरहेको आरोप लगाएको छ ।

यस्तै मुस्लिम समुदायको रमजानजस्तो पर्वको समयमा भएको आक्रमण झन् निन्दनीय भनेको छ । अन्तर्राष्ट्रिय समुदायले यस आपराधिक कार्यका लागि दोषीलाई जवाफदेही बनाउनुपर्ने भारतले धारणा दिएको छ ।

‘यस दु:खद घडीमा अफगानिस्तानका जनतासँग ऐक्यबद्धता प्रकट गर्दछ । साथै, अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति आफ्नो अटल समर्थन छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

भारतले यसरी आफ्नो आलोचना र निन्दा गर्दै वक्तव्य निकालेपछि बुधबार पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले वक्तव्य निकालेर तिखो जवाफ दिएका छन् ।

पाकिस्तानको वक्तव्यमा अफगानिस्ताको आतंकवादी संरचनाविरुद्ध कारबाही गरेको दाबी गर्दै भारतको विदेश मन्त्रालयले दिएको वक्तव्यलाई आधारहीन, भ्रामक भन्दै अस्वीकार गरिएको छ ।

 

उल्टै भारतमाथि अफगान भूमिबाट पाकिस्तानविरुद्ध आतंकवाद प्रायोजनमा काम गरेको आरोप लगाइएको छ । ‘विगतदेखिकै भूमिकाको पृष्ठभूमिमा हेर्दा उक्त वक्तव्यले भारतको स्पष्ट पाखण्ड र दोहोरो चरित्रलाई मात्र झल्काउँछ,’ वक्तव्यमा भनिएको छ ।

‘यो पनि स्मरणीय छ कि उक्त वक्तव्य त्यस्तो देशबाट आएको हो जसको नेतृत्व घरेलु निर्वाचन लाभका लागि इस्लामोफोबियालाई प्रयोग गर्दै आएको छ र आफ्नै मुस्लिम जनसंख्याविरुद्ध हिंसात्मक गतिविधिहरू भइरहेको अवस्थामा पनि जवाफदेही छैन,’ पाकिस्तानी विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ ।

यस्तै भारतमाथि छिमेकी राष्ट्रहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्दै आएको, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त उल्लंघन गर्दै आएको आरोप लगाउँदै उसले गरेका टिप्पणी हास्यास्पद रहेको पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ ।

‘पाकिस्तानले गरेको सफल आतङ्कवादविरुद्धको कारबाहीप्रति भारतले अनावश्यक टिप्पणी गर्न बन्द गर्नुपर्छ,’ पाकिस्तानी विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ । –अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अरूण बम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?