+

एचजेएनबीएल : रोएल विरुद्ध आर्मीको फराकिलो जित

२०८२ चैत  ४ गते २२:२३ २०८२ चैत ४ गते २२:२३
एचजेएनबीएल : रोएल विरुद्ध आर्मीको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिगमा रोएललाई १०३-७५ ले पराजित गरेको छ ।
  • आर्मीले पाँच खेलबाट चार जितसहित शीर्ष स्थानमा रहेको छ भने रोएलले पाँच खेलबाट चार हार भोगेको छ ।
  • एचजेएनबीएलमा आठ टोली प्रतिस्पर्धा गरिरहेका छन् र विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन् ।

४ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रोएललाई फराकिलो अन्तरले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबारी राती सम्पन्न खेलमा आर्मीले रोएललाई १०३-७५ ले पराजित गरेको छ ।

लिगमा आर्मीले पाँच खेल खेल्दा यो चौथो जित हो । ९ अंक जोडेको आर्मी स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ । रोएलको यो चौथो हार हो । रोएलले ५ खेलबाट ६ अंक जोडेको छ ।

आर्मीले पहिलो क्वाटरमा २७-२० को अग्रता बनाएको थियो । दोस्रो क्वाटर २५-२५ को बराबरी हुँदा आर्मीले हाफटाइमसम्म ५२-४५ को अग्रता बनाएको थियो । त्यसपछि दुई क्वाटरमा भने आर्मीले उत्कृष्ट प्रदर्शन गर्‍यो । आर्मीले तेस्रो क्वाटर २५-१६ र चौथो क्वाटर २६-१४ ले आफ्नो पक्षमा पारेपछि फराकिलो जित हात पारेको हो ।

आर्मीले जारी एचजेएनबीएलमा दोस्रो पटक एक सय भन्दा बढी स्कोर गरेको हो । यसअघि पहिलो खेलमै आर्मीले हाउण्ड्सलाई १०४-७९ स्कोरले पराजित गरेको थियो ।

आर्मीको जितमा प्रज्वल महर्जनले सर्वाधिक २६ अंक स्कोर गरे भने नुकेश जुगजाली म्यान अफ दि म्याच घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ ।

पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

तस्बीर: एचजेएनबीएल

हिमालयन जाभा नेसनल बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय