४ चैत, नेपालगञ्ज । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका कारण न्यायप्रणाली विस्तारै लयमा फर्किएको बताएका छन् । बुधबार नेपालगञ्जमा कानुन व्यवसायीसँग छलफल गर्दै न्यायिक सुशासन, जलेका मिसिलको व्यवस्थापन, तथा न्यायालयप्रतिको दृष्टिकोण सुधारलगायत विषयमा प्रधानन्यायाधीश राउतले आफ्नो धारणा व्यक्त गरेका हुन् ।
उनले जेनजी आन्दोलनपछि जलेका मिसिलको व्यवस्थापन र न्याय क्षेत्रमा पुन:प्रेरणा प्रदान गर्ने विषयलाई प्राथमिकता दिइएको बताए । सर्वोच्च अदालतमा करिब २० हजार मिसिल जलेको अवस्थामा हालसम्म १९ हजार मिसिल कायम गरिसकिएको जानकारी दिँदै मोफसलका अदालतमा जलेका मिसिलको पुन: तयारीका लागि आफूले केन्द्रस्तरबाट महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरिरहेको उनले बताए ।
अदालत राम्रोसँग सञ्चालन भए कानुन व्यवसायी पनि सन्तुष्ट हुने उल्लेख गर्दै प्रधानन्ययाधीश राउतले मिसिल पुन:स्थापना र न्याय सम्पादनमा सहयोग पुर्याउन कानुन व्यवसायीलाई आग्रह गरे ।
उनले अदालत जल्नुमा अदालतलाई हेर्ने नकारात्मक दृष्टिकोणले पनि भूमिका खेलेको हुनसक्ने उल्लेख गर्दै यसको समीक्षा आवश्यक रहेको धारणा राखे ।
बदलिँदो सन्दर्भमा अदालत मात्र होइन, न्यायालयलाई हेर्ने दृष्टिकोण किन नकारात्मक बन्न पुग्यो भन्ने प्रश्नमा गम्भीर हुनुपर्ने उनको भनाई थियो ।
यस्तै बदलिँदो परिवेशअनुसार अदालत र कानुन व्यवसायी दुवैले आफूलाई समयानुकूल बदल्नुपर्नेमा प्रधानन्यायाधीश राउतको जोड थियो । –रासस
प्रतिक्रिया 4