६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय समिति भंग गरेर एकता महाधिवेशनमा जानुपर्ने बताएका छन् । शुक्रबार फेसबुकमार्फत आफ्नो प्रस्ताव राख्दै नेता कार्कीले अर्को दुर्घटनाको प्रतीक्षा नगरेर नियमित महाधिवेशनमा जानुपर्ने तर्क गरेका छन् ।
‘चाहे जस्तोसुकै चुनौतीको सामना गर्नु परोस् सत्य छाडिदैन । हिजो पनि आज पनि सभापतिको मात्र दोष र कमजोरी होइन, पदाधिकारी पनि त्यत्तिकै दोषी छन्,’ कार्कीले लेखेका छन्, ‘जसले समग्र पार्टीको र देशको लागि सन्देश दिन सकेनन् ।’
अब केन्द्रीय समिति भंग गरेर वार्तामा जानुपर्ने उनले लेखेका छन् । ‘समिति भंग गरौँ, वार्ता गरौँ । महाधिवेसन तयारी समिति बनाएर एकताको नियमित महाधिवेशनमा जाउ । अर्को दुर्घटनाको प्रतीक्षा नगरौँ,’ कार्कीले लेखेका छन् ।
एक-एक पाइला पछि सरेर पार्टीलाई दुई पाइला अघि बढाउन उनले आग्रह गरेका छन् ।
‘दास र लास हुनबाट हामी पनि बचौँ है,’ कार्कीले भनेका छन् ।
कार्की विशेष महाधिवेशनअघि डा. शेखर कोइराला निकट मानिन्थे । पछिल्लो समय उनी खुलेरै विशेष महाधिवेशनका पक्षमा लागेका थिए ।
प्रतिक्रिया 4