+

आर्मीका विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

२०८२ चैत  ७ गते १५:४० २०८२ चैत ७ गते १५:४०
आर्मीका विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपानेले उपाधि जितेका छन्।
  • पुरुष म्याराथनमा विनोदले २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरी पहिलो स्थान हासिल गरे भने महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले १ घन्टा १७ मिनेट १० सेकेन्डमा दूरी पूरा गरिन्।
  • प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको आयोजनामा र चिनियाँ राजदूतावासको सहयोगमा लुम्बिनीमा सम्पन्न भएको थियो।

७ चैत, काठमाडौं । चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । पुरुष म्याराथनतर्फ विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले उपाधि जितेका हुन् ।

पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा सम्पन्न प्रतियोगितामा आर्मीको वर्चस्व देखियो। पुरुष म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले हासिल गरे। विनोदले २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जिते भने सुशील कुमार शाही (२:१८:१६) दोस्रो र नरेन्द्र सिंह राउत (२:१९:५८) तेस्रो भए।

त्यसैगरी चिनका वाङ ची चौथो, केन्याका जुलियस वाकोमे पाँचौं, दलबहादुर कुँवर छैटौं, इशाह नुन्गु सातौं, कुलबहादुर बस्नेत आठौं, हरि रिमाल नवौं र कर्णबहादुर रोका मगर दशौं स्थानमा रहे।

पुरुष म्याराथनका विजेता विनोदले ३ लाख ५० हजार, दोस्रो हुने सुशीलले २ लाख ५० हजार र तेस्रो हुने नरेन्द्रले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने अन्य शीर्ष दस धावकलाई पनि क्रमअनुसार नगद पुरस्कार प्रदान गरियो।

महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले १ घन्टा १७ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितिन् भने अघिल्लो संस्करणकी विजेता सन्तोषी श्रेष्ठ (१:१८:४०) दोस्रो भइन्। पूर्णलक्ष्मी अघिल्लो संस्करणमा सन्तोषीपछि दोस्रो भएकी थिइन्।

आर्मीकै निशा सार्की (१:१९:१९) तेस्रो र सुनसरी रोकाया (१:२१:४६) चौथो भइन्। त्यसैगरी रुवान सिइङ पाँचौं, कल्पना बुढा छैटौं, राज्यलक्ष्मी रावल सातौं, सन्दीभा बुढा आठौं, आश्मा विक नवौं र रसिला तामाङ दशौं स्थानमा रहे।

महिला हाफ म्याराथनकी विजेता पूर्णलक्ष्मीले १ लाख ५० हजार, उपविजेता सन्तोषीले १ लाख र तेस्रो हुने निशाले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने अन्य खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरियो।

यसैगरी भेट्रान्स ५ किमी दौडमा धर्म महर्जन पहिलो, रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए। पुरुष ५ किमी खुल्ला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए।

५ किमी गर्ल्सतर्फ दिपशिखा शाही पहिलो, स्वस्तिका शाही दोस्रो र अन्तिमा बुढा तेस्रो भइन् भने ब्वाइजतर्फ युवराज बुढा पहिलो, रमेश बुढा दोस्रो र अरविन्द कुमार यादव तेस्रो भए।

म्याराथनकै अवसरमा ३ किमी वाकाथन पनि आयोजना गरिएको थियो। प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको आयोजनामा तथा चिनियाँ राजदूतावासको सहयोगमा सम्पन्न भएको हो।

विजेताहरूलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा संयोजक अशोक वज्राचार्यलगायतले पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरे।

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय