News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा अभिनेता प्रकाश सपुतले मनोरञ्जन क्षेत्रमै फर्किने र १७ चैतमा आयरल्याण्डमा कन्सर्ट गर्ने घोषणा गरेका छन्।
- समानुपातिक उम्मेदवार भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी नहुनु पछि उनले राजनीतिबाट पछि हट्ने संकेत दिएका छन्।
- सपुतले आफू अभिनित फिल्म 'परालको आगो' प्रदर्शन तयारीमा रहेको र राजनीतिक नियुक्ति नलिने बताएका छन्।
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले अब आफू मनोरञ्जन क्षेत्रमै फर्किने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले आफू फिल्म र संगीत क्षेत्रमै फर्किन लागेको उल्लेख गरेका हुन् ।
झन्डै दुई तिहाइ सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार भएपनि उनी छनोट हुन भने सकेनन् । निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम विजेता उम्मेदवार घोषणा गरेको केही दिनपछि सपुतको यस्तो धारणा आएको हो ।
रास्वपाले उनलाई दलित पुरुषतर्फको क्लस्टरबाट उम्मेदवार बनाएको थियो । चुनावअघि नयाँ पहिचान र जिम्मेवारीसहित लाग्ने भन्दै उनी रास्वपाको राजनीतिमा सक्रिय थिए । रास्वपाका अन्य उम्मेदवारको चुनावी अभियानमा पनि उनी सक्रिय थिए ।
‘म अब ढुक्क जनतालाई मनोरञ्जन दिन चाहन्छु’ सपुतले फेसबुकमा लेखेका छन्, ‘मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर हुन चाहन्छु । म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु ।’
परिवर्तनको पक्षमा उभिएकै कारण आफूलाई समस्या आए गाउँ फर्किएर हलो समात्न पनि सक्ने उनले बताएका छन् । उनले आफूलाई सम्बोधन गर्ने नाममा हुनसक्ने सम्भावित राजनीतिक नियुक्ति पनि ग्रहण नगर्ने संकेत उनले गरेका छन् ।
आगामी बालेन नेतृत्वको स्थिर सरकारको सानो हिस्सा हुन पाउँदा आफूलाई खुसी लागेको पनि सपुतले बताएका छन् । आफू ३ कारणले रास्वपाको राजनीतिमा सक्रिय भएको उल्लेख समेत उनले गरेका छन् ।
आफू समानुपातिक उम्मेदवारमा विजयी हुन नसक्ने भएपछि रास्वपा सभापति रवि लामिछानेले आफूलाई भनेको केही कुरा पनि उनले स्टाटसमा उल्लेख गरेका छन् ।
रविले आफूलाई भनेका कुराको जवाफमा प्रकाशले आगामी ५ वर्षमा देश बनाउने गरि अघि बढ्न सुझाव दिएको स्मरण समेत गरेका छन् ।
आफू समानुपातिक सूचीमा पनि नअट्ने संकेत पाएपछि प्रकाशले यसअघि नै कन्सर्टमा फर्किने घोषणा गरिसकेका छन् । जसअनुसार, १७ चैतमा आयरल्याण्डमा उनले प्रस्तुति दिने कार्यक्रम छ ।
फिल्मको कुरा गर्दा, उनी अभिनित फिल्म ‘परालको आगो’ प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4