News Summary
Generated by OK AI. Editorially reviewed.- बीटीएसका सदस्यहरू करिब चार वर्षपछि सिओलमा आयोजित निःशुल्क सार्वजनिक कन्सर्टमा पहिलो पटक एउटै मञ्चमा प्रस्तुत भए।
- सिओलको ग्वाङह्वामुन स्क्वायरमा २२ हजार दर्शकका लागि गोल्डेन टिकट वितरण गरिएको उक्त कन्सर्टमा करिब २ लाख ६० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको थियो।
- बीटीएसले नयाँ एल्बम 'अरिराङ' सार्वजनिक गर्दै अप्रिल २०२६ देखि मार्च २०२७ सम्म ३४ स्थानमा विश्व भ्रमण गर्ने घोषणा गरेको छ।
सियोल (सीएनएन) । ‘बीटीएस’का प्रशंसकले लामो समयदेखि पर्खिरहेको क्षण अन्ततः आएको छ । करिब चार वर्षपछि आरएम, जिन, सुगा, जे–होप, जिमिन, भी र जंग कुक पहिलो पटक एउटै मञ्चमा सँगै प्रस्तुत भएका छन् ।
बीटीएसको कमब्याकको केन्द्रमा सिओलमा आयोजना गरिएको निःशुल्क सार्वजनिक कन्सर्ट छ, जुन उनीहरूको समर्पित फ्यानका लागि हो । यस कार्यक्रममा सहभागी हुन २२ हजार जनाले मात्र ‘गोल्डेन टिकट’ पाएका थिए, तर करिब २ लाख ६० हजारसम्म दर्शक उपस्थित हुने अपेक्षा गरिएको थियो । यसले दक्षिण कोरियाको इतिहासमै सबैभन्दा ठूलो सार्वजनिक कन्सर्टको रूप लिएको छ ।
एक घण्टे यो कन्सर्ट बीटीएसको नयाँ पाँचौँ पूर्ण लम्बाइको स्टुडियो एल्बम “अरिराङ” को प्रवद्र्धन अभियानको हिस्सा हो । कन्सर्टभन्दा एक दिनअघि सार्वजनिक गरिएको यो एल्बम कोरियाली परम्परागत लोकगीत “अरिराङ” बाट प्रेरित छ, जसलाई अनौपचारिक राष्ट्रिय गीत पनि मानिन्छ । एल्बममा व्यक्तिगत पहिचान र अपनत्वजस्ता विषय समेटिएका छन् ।
यससँगै बीटीएसको अहिलेसम्मकै सबैभन्दा ठूलो विश्व भ्रमण पनि घोषणा गरिएको छ, जुन अप्रिल २०२६ देखि मार्च २०२७ सम्म ३४ स्थानमा हुनेछ । उनीहरूको लामो प्रतिक्षापछि भएको पुनर्मिलन र कमब्याक कन्सर्टमाथि आधारित डकुमेन्ट्री पनि नेटफ्लिक्समा स्ट्रिम गरिनेछ ।
कन्सर्टमा सहभागी भएका धेरै बीटीएस फ्यान परम्परागत कोरियाली पोशाक हानबोकबाट प्रभावित देखिए । आगामी हप्ताहरूमा सामाजिक सञ्जाल हानबोक शैली र त्यससँग सम्बन्धित सजावट समेटिएका पहिरन प्रेरणाले भरिने देखिन्छ ।

भुइँसम्म झर्ने ज्याकेट र ड्रेससँगै परम्परागत कोरियाली कपालका क्लिप र अन्य सजावट लगाएकी भिभियन फेरियरले आफू कन्सर्टका लागि अमेरिका बाट आएको सीएनएनलाई बताइन् ।
उनले भनिन्, ‘मैले रातो र सेतो रङ रोजेँ, किनकि एल्बम पनि यिनै रङमा छ । उनीहरूले हामीलाई देखाएको कुरा उत्सवका रूपमा मनाउन चाहन्थेँ । यो कोरियाली परम्परागत हानबोक हो, र म त्यसलाई सम्मान गर्न चाहन्थेँ ।’
अरू धेरै फ्यानले पनि बीटीएस र उनीहरूको फ्यान समूहको प्रतीकात्मक रङ बैजनीलाई आफ्नो पहिरनमा समेटेका थिए ।
बीटीएसले पनि कोरियाली संस्कृतिलाई प्रवद्र्धन गर्ने प्रयास गर्दै आएको छ । उनीहरूले राष्ट्रिय संग्रहालय कोरियाको आधिकारिक मर्चेन्डाइज ब्रान्ड एमयूडीएससँग सहकार्य गर्दै कपालका क्लिप, पाउचलगायत विभिन्न सामग्री बिक्री गर्दै आएका छन् ।
कन्सर्टको सुरुआत बीटीएसका सदस्यहरू ऐतिहासिक ‘किङ्स रोड’ हुँदै मञ्चतर्फ हिँड्दै गरेपछि भयो । यो बाटो ग्योङबोकगुङ दरबारभित्रको विशेष समारोहिक मार्ग हो, जसलाई जोसोन वंशका राजाहरूका लागि मात्र प्रयोग गरिन्थ्यो ।
प्रत्येक सदस्यले कालो र सेतो रङको एकरङ्गी पहिरन रोजेका थिए । उनीहरूको पहिरनमा फुर्तिला टप, संरचित बाहिरी कोट र खुकुलो फिट भएका पाइन्ट समावेश थिए । यी सबै दक्षिण कोरियाका पुराना स्वतन्त्र डिजाइनर ब्रान्डमध्ये एक सोंगजियोले डिजाइन गरेको हो ।
कार्यक्रमको सुरुआत समूहको नयाँ एल्बमको पहिलो गीत ‘बडी टु बडी’ को प्रस्तुतिबाट भयो, जहाँ बीटीएससँगै परम्परागत कोरियाली पोशाक लगाएका नर्तक पनि मञ्चमा देखिएका थिए ।
समूहले ‘बटर’ र ‘डाइनामाइट’ जस्ता पुराना हिट गीतहरू पनि उत्साहका साथ प्रस्तुत गर्यो । यस क्रममा आरएमले भने शोअघि खुट्टामा चोट लागेका कारण केही समय बसेर प्रस्तुति दिएका थिए ।
विशेष कुरा के भने, यो कन्सर्टको निर्देशन बेलायती निर्देशक हामिश ह्यामिल्टनले गरेका थिए, जो सुपर बाउल हाफटाइम शो र अस्कर्सजस्ता ठूला अन्तर्राष्ट्रिय कार्यक्रम निर्देशन गरेको अनुभवका लागि परिचित छन् । यसले बीटीएसको पुनरागमन कति ठूलो स्तरको छ भन्ने स्पष्ट संकेत दिन्छ ।
सीएनएनसँग इमेलमार्फत कुरा गर्दै ह्यामिल्टनले यस प्रोडक्सनलाई ‘व्यवस्थापनको जटिलता हिसाबले अत्यन्त चुनौतीपूर्णमध्ये एक’ रहेको बताएका छन् ।
मञ्चको डिजाइन प्रख्यात इभेन्ट र प्रोडक्सन विशेषज्ञ गाय कारिङ्टन र फ्लोरियन विडरले तयार गरेका हुन् । उनीहरूका अनुसार यसको अवधारणा ‘तस्बिरको फ्रेम’ बाट प्रेरित थियो ।
उनले भने, ‘यो संरचनाले एकातिर बीटीएसको आधुनिक ऊर्जा झल्काउँछ भने अर्कोतिर उक्त स्थानको ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सम्मान गर्छ ।’
उनले थपे, ‘हामीले त्यस्तो संरचना बनाउन चाहेनौं जुन स्थानसँग मेल नखाने होस् वा सिओलका सबैभन्दा पवित्र स्थानमध्ये एकको बीचमा केवल कन्सर्ट राखेजस्तो देखियोस् ।’
यद्यपि व्यापक तयारी गरिएको थियो (प्रोडक्सनका लागि करिब ५.९० माइल लामो केबल प्रयोग गरिएको थियो), तर उत्कृष्ट प्रस्तुति दिनुपर्ने ठूलो जिम्मेवारी भने बीटीएसमै थियो । ह्यामिल्टनले भने, “यो सार्वजनिक स्थान भएकाले कार्यक्रमअघि वास्तविक मञ्चमा ब्यान्डसँग रिहर्सल गर्न पाइएको थिएन, जुन मेरो करियरमा पहिले कहिल्यै अनुभव गरेको थिएन ।”
स्टुडियोभित्र बसेर आफ्नो ठूलो कमब्याकका लागि अभ्यास गरिरहेका बीटीएससँग काम गर्ने अनुभव सम्झिँदै ह्यामिल्टन उनीहरूको आपसी समझदारी र कामप्रतिको गम्भीरताबाट सबैभन्दा बढी प्रभावित भएको बताए ।
उनले भने, ‘उनीहरू ध्यान दिएर सुन्छन्, प्रश्न गर्छन्, आफ्ना विचार राख्छन् । एकअर्कालाई जिस्काउँछन् र सँगै हाँस्छन् । स्पष्ट छ, उनीहरू सात जना साथी हुन्, जो संयोगले संसारकै सबैभन्दा चर्चित व्यक्तिहरूमध्ये पर्छन् ।’

भब्य सहभागिता
विश्वकै सबैभन्दा ठूलो ब्वाइ ब्यान्डमध्ये एक मानिने बीटीएस सन् २०२२ यता विश्राममा थियो । दक्षिण कोरियामा लगभग सबै सक्षम पुरुषले १८ महिनासम्म अनिवार्य सैनिक सेवा गर्नुपर्ने भएकाले सदस्यहरूले आफ्नो सैन्य सेवा पूरा गरिरहेका थिए ।
बीटीएसका फ्यानहरू, जसलाई “आर्मी” भनेर चिनिन्छ, बिहानैदेखि लाइन बस्न थालेका थिए । उनीहरू सिओलको केन्द्रमा रहेको खुला सार्वजनिक स्थल ग्वाङह्वामुन स्क्वायरभित्रको घेरिएको क्षेत्रमा प्रवेश पाउन प्रतीक्षा गरिरहेका थिए । यही स्थान प्रसिद्ध ग्योङबोकगुङ दरबारको आसपास पर्छ, जहाँ शनिबारको कार्यक्रम आयोजना गरिएको थियो । टिकट नपाएका फ्यानहरू पनि आफ्नो प्रिय कलाकारको एक झलक पाउन स्थल वरिपरि जम्मा भएका थिए ।
लस एन्जलसस्थित यूएससी एनेनबर्ग स्कूल अफ कम्युनिकेशन एन्ड जर्नलिज्मकी क्लिनिकल एसोसिएट प्रोफेसर हे जिन लीले भनिन्, ‘यो शताब्दीकै कमब्याक हो । लामो समयपछि हामीले बीटीएसलाई समूहका रूपमा प्रस्तुत भएको देखिरहेका छौं । केही सदस्यहरू आफ्ना एकल करियरमा केन्द्रित थिए, त्यसैले अब बीटीएसको फ्यान समुदाय कति परिवर्तन भएको छ भन्ने हेर्न रोचक हुनेछ । सबैजना यो कमब्याक कस्तो देखिन्छ भनेर पर्खिरहेका छन् ।’
यस सप्ताहन्तको कन्सर्टबाट दर्शकले “शुद्ध खुसी” अनुभव गरून् भन्ने ह्यामिल्टनको अपेक्षा थियो । उनले भने, “सयौँ हजार मानिस सिओलमै उपस्थित भएर संगीतको सकारात्मक ऊर्जामा डुब्नेछन्, र विश्वभरका लाखौँ मानिसले यसलाई हेर्नेछन् । घरमै बसेर हेर्ने दर्शकले पनि ग्वाङह्वामुन स्क्वायरमा उभिएका जत्तिकै उपस्थित भएको महसुस गर्नुपर्छ । उनीहरूले ब्यान्डको पुनरागमनको भावना, विश्वमञ्चमा कोरियाको गर्व र चार वर्षको प्रतिक्षापछि पनि जीवित रहेको बीटीएस र आर्मीबीचको प्रेम महसुस गर्न सक्नुपर्छ ।’
प्रवेश निःशुल्क भए पनि सहभागी हुन अग्रिम बुकिङ अनिवार्य थियो, र टिकटहरू तुरुन्तै सकिएका थिए । ठूलो भीड व्यवस्थापन गर्न विशेष प्रहरी टोली र अतिरिक्त सुरक्षा व्यवस्था परिचालन गरिएको थियो । टिकट नभएका फ्यानका लागि छुट्टै क्षेत्र निर्धारण गरिएको थियो भने आसपासका सांस्कृतिक स्थलहरू, जस्तै द नेशनल प्यालेस म्युजियम अफ कोरिया, द नेशनल म्युजियम अफ कोरियन कन्टेम्पोररी हिस्ट्री र सेजोङ सेन्टर फर द परफर्मिङ आट्र्स पनि बन्द गरिएको थियो । कार्यक्रमकै दिन क्षेत्रमा सुरक्षाका लागि स्निफर कुकुरसमेत परिचालन गरिएको थियो ।
भीड व्यवस्थापन र सुरक्षालाई सुनिश्चित गर्न प्रहरीले गत डिसेम्बरदेखि नै बैठकहरू गर्दै आएको थियो । प्रहरीका अनुसार करिब ६ हजार प्रहरी र हाइब कम्पनीका ४ हजारभन्दा बढी सुरक्षा कर्मी कार्यक्रमका लागि परिचालन गरिएको थियो ।
यसै साता सुरुआतमा भएको मन्त्रिपरिषद् बैठकमा बोल्दै दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले यस कन्सर्टलाई “के–कल्चरको उत्कृष्टता र दक्षिण कोरियाको उच्च स्थानलाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसर” का रूपमा वर्णन गरे ।

साथै उनले सुरक्षालाई सबैभन्दा प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले सम्बन्धित सबै निकायलाई “उच्च सतर्कता अपनाउन र सम्भावित सबै परिस्थितिका लागि तयारी गर्न” निर्देशन दिँदै, “जोखिम कम भए पनि सम्भावित आतङ्ककारी खतरा” लगायतका विषयमा पनि सजग रहनुपर्ने बताएका छन् ।
उच्च अन्तरक्रियात्मक सम्बन्ध
बीटीएसका लागि निःशुल्क सार्वजनिक कन्सर्ट आयोजना गर्नु नयाँ कुरा होइन । सन् २०२२ मा दक्षिण कोरियाको दोस्रो ठूलो शहर बुसानस्थित एसियाड स्टेडियममा करिब ५० हजार दर्शक “येट टु कम इन बुसान” कन्सर्टका लागि भेला भएका थिए ।
दक्षिण कोरियाले सन् २०३० वल्र्ड एक्स्पो आयोजना गर्न गरेको प्रयासलाई समर्थन गर्ने उद्देश्यले गरिएको उक्त ऐतिहासिक कार्यक्रममा बीटीएसले पहिलो पटक “रन बीटीएस” लाई लाइभ प्रस्तुत गरेका थिए । यसलाई अनलाइनमार्फत लाखौँ दर्शकले पनि हेरेका थिए ।
यस्ता पहलहरू प्रायः उनीहरूको एजेन्सी हाइबले आयोजना तथा वित्तीय व्यवस्थापन गर्ने गर्छ, जसमा विभिन्न कर्पोरेट प्रायोजकहरूको पनि सहयोग रहने गर्दछ ।
यस सप्ताहन्तको विशाल कार्यक्रमले बीटीएसको धेरै वर्षपछि पहिलो पूर्ण समूह उपस्थितिलाई चिनाउँछ र उनीहरू र विशाल फ्यान समूहबीचको गहिरो सम्बन्धलाई थप बलियो बनायो । बीटीएसको सफलताको मुख्य आधार भनेकै उनीहरूले “आर्मी”सँग राख्ने निरन्तर र अन्तरक्रियात्मक संवाद हो ।
केही हप्ता अघि मात्रै, भ्यालेन्टाइन्स डे अवसरमा बीटीएसले सिओल, लस एन्जलस र लन्डनमा गुलाबले सजाइएको भित्ताहरू (रोज वाल) स्थापना गरेका थिए । ती स्थानमा पुग्ने फ्यानहरूले क्यूआर कोड भएको निःशुल्क गुलाब पाए, जसबाट सदस्यहरूले तयार पारेको संगीत प्लेलिस्ट समेटिएको अन्तरक्रियात्मक पेजमा पुग्न सकिन्थ्यो । साथै “तिम्रो प्रेम गीत के हो ?” भन्ने रहस्यमय प्रश्न पनि विश्वभरका बिलबोर्डमा देखाइएको थियो ।
कोलोराडो विश्वविद्यालय बोल्डरकी एथ्नोम्युजिकोलोजीकी सहप्राध्यापक स्टेफानी चोईका अनुसार, “पश्चिमी पप कलाकार र फ्यानबीच प्रायः परम्परागत श्रेणीगत सम्बन्ध हुन्छ, जहाँ सेलिब्रेटीलाई आदर्श र फ्यानलाई अनुयायीका रूपमा हेर्ने गरिन्छ । तर के–पपमा भने कलाकार र फ्यानबीचको सम्बन्ध धेरै हदसम्म व्यवसायिक साझेदारजस्तै हुन्छ ।’

उनका अनुसार यो रणनीति निकै बुद्धिमानीपूर्ण छ । “फ्यानहरू सबैभन्दा प्रभावकारी प्रचारक हुन्छन्, किनकि उनीहरूले आफ्ना कलाकारलाई सबैभन्दा राम्रोसँग चिन्छन्,” उनले भनिन् । यस्ता निःशुल्क कन्सर्टजस्ता कार्यक्रमहरूले नयाँ कथा र साझा अनुभव सिर्जना गर्दै कलाकार र फ्यानबीचको सम्बन्ध अझ बलियो बनाउने उनी बताउँछिन् ।
बीटीएसको नयाँ एल्बमका विषयवस्तुसँग जोडिँदा यसले अन्तर्राष्ट्रिय फ्यानहरूबीच पर्यटन प्रवद्र्धन गर्न पनि सहयोग गर्ने स्टेफानी चोईले बताइन् ।
सिओलस्थित लगानी बैंक आईबीके इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका विश्लेषक किम यु-ह्युकका अनुसार बीटीएसको कमब्याकले कम्तीमा २.९ ट्रिलियन कोरियन वन (झण्डै १.९३ अर्ब अमेरिकी डलर) आम्दानी गर्ने अनुमान गरिएको छ । ब्लूमबर्गका अनुसार यो आँकडा टेलर स्विफ्टको करिब २ अर्ब डलर कमाएको ‘एरास टुर’सँग प्रतिस्पर्धा गर्न सक्ने स्तरको हुन सक्छ ।
पहिल्यै ‘अरिराङ’ एल्बमका लागि ४० लाखभन्दा बढी प्रि-अर्डर भइसकेका छन् भने कुल बिक्री करिब ६० लाख प्रतिलिपिसम्म पुग्ने अपेक्षा गरिएको छ । उनले ब्यान्डको गति “बलियो” रहेको उल्लेख गर्दै भनेका छन्, “यो कमब्याकले केवल बीटीएसको प्रदर्शन मात्र होइन, समग्र के-पप उद्योगको वृद्धि विस्तार गर्ने अवसर पनि प्रदान गर्नेछ ।’
बीटीएसको नयाँ एल्बम “अरिराङ” नामको अर्थबारे पनि व्यापक चर्चा भइरहेको छ । यस नामको स्रोत कोरियाली परम्परागत गीत “अरिराङ” हो, जसको उत्पत्ति कम्तीमा जोसोन वंशकाल (१३९२–१९१०) देखि भएको मानिन्छ र यसका सयौँ संस्करण छन् । सांस्कृतिक पहिचान, सहनशीलता र एकताको प्रतीक मानिने यो धुन जापानी उपनिवेशकाल (१९१०–१९४५) मा कोरियाली प्रतिरोधको संकेतका रूपमा पनि प्रयोग भएको थियो र आज यो युनेस्कोद्वारा मान्यता प्राप्त सम्पदामा सूचीकृत छ ।
दरबारको पृष्ठभूमिमा दिन र रात दुवै दृश्य समेटिएको सार्वजनिक कन्सर्टको नेटफ्लिक्स ट्रेलरले सदस्यहरूका लागि एक प्रकारको सांस्कृतिक घरफिर्तीको संकेत दिएको छ । अहिलेका युवापुस्ता कोरियाली आफ्नो पहिचान पुनः खोज्दै र आफ्नै स्वादअनुसार संस्कृतिलाई नयाँ ढंगले परिभाषित गर्दै आएका छन् ।

उदाहरणका लागि, हानबोक पहिले विशेष अवसरमा मात्र लगाइने परम्परागत पोशाक थियो । तर अहिले यो स्थानीय स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि ट्रेन्ड बनेको छ । बीटीएस र ब्ल्याकपिंकजस्ता के–पप कलाकारले आफ्ना म्युजिक भिडियोमा आधुनिक शैलीमा हानबोक प्रस्तुत गरेपछि यसको लोकप्रियता अझ बढेको हो ।
सिओलका पुराना दरबार र पर्यटकीय स्थल घुम्न आउने धेरै युवा हानबोक भाडामा लिएर लगाएको देखिन्छ । साथै केही फेसन ब्रान्डहरूले पनि यसलाई आधुनिक जीवनशैलीअनुसार नयाँ रूपमा प्रस्तुत गर्न थालेका छन् ।
के-पपका लागि अगाडिको बाटो
बीटीएसको कमब्याकलाई निकै ध्यानपूर्वक हेरिने अपेक्षा गरिएको छ । धेरैले आशा गरेका छन् कि यसले के-पप उद्योगमा नयाँ ऊर्जा ल्याउनेछ, जहाँ अहिले गैर–कोरियाली कलाकारको संख्या पनि बढ्दो छ । धेरै कलाकारले कोरियनसँगै अंग्रेजी र जापानी भाषामा पनि गीत गाउने गरेका छन् । (फेब्रुअरीमा ब्ल्याकपिंकले सार्वजनिक गरेको नयाँ मिनी एल्बम “डेडलाइन” उनका अघिल्ला कामभन्दा फरक थियो, किनकि त्यसका अधिकांश गीत अंग्रेजीमै थिए ।)
अहिले परम्परागत के-पप संरचनामा आधारित तर अन्य भाषामा गीत गाउने नयाँ समूह पनि बन्न थालेका छन् । अमेरिकामा ‘क्याटसआई’, ल्याटिन अमेरिकाबाट ‘सान्तोस ब्राभोस’ र बेलायतबाट ‘डियरएलिस’ जस्ता समूह यसको उदाहरण हुन् ।
यूएससी एनेनबर्ग स्कूलकी लीले भनिन्, ‘मलाई रोचक लागेको कुरा के हो भने बीटीएसको एल्बमको नाम कोरियाको आत्मासँग जोडिएको छ ।’ उनले थपिन्, ‘नाम सार्वजनिक हुँदा धेरै उत्साहित भए । सबैले सोचे- अब बीटीएसले के-पप कस्तो हुन सक्छ भनेर देखाउनेछ । तर नयाँ एल्बमका सबै १४ वटा गीतका शीर्षक अंग्रेजीमा छन्, र ती गीतमा रायन टेडर र डिप्लोजस्ता अमेरिकी संगीतकर्मीहरूको नाम जोडिएको छ । त्यसैले यो एल्बम पश्चिमी शैलीतिर बढी झुकेको हो कि भन्ने केही अन्योल पनि देखिएको छ ।’
शुक्रबार बीटीएसले आफ्नो नयाँ एल्बमको एउटा गीत ‘स्विम’ को पहिलो म्युजिक भिडियो सार्वजनिक गर्यो । केही दर्शकहले यसलाई पश्चिमी पप बजारतर्फको रणनीतिक कदमका रूपमा व्याख्या गरेका छन् । समुद्रमा अघि बढिरहेको जहाजमा बीटीएस देखिएको यो गीत पूर्ण रूपमा अंग्रेजीमा गाइएको छ ।

यस भिडियोमा अमेरिकी अभिनेत्री लिली राइनहार्टले अभिनय गरेकी छन्, जो टेलिभिजन श्रृंखला ‘रिभरडेल’का लागि परिचित छन् । भिडियोको निर्देशन तानु मुइनोले गरेकी हुन्, जसले लिल नास एक्स र ह्यारी स्टाइल्सका ग्रामी–नामांकन प्राप्त म्युजिक भिडियोहरूमा पनि काम गरिसकेकी छन् ।
बीटीएस यस दिशातर्फ अघि बढ्दै जाँदा के उनीहरूले आफ्ना फ्यानको समर्थन गुमाउने जोखिम छ ? यो प्रश्न अहिले उठ्न थालेको छ । किनकि उनीहरूको विश्राम अवधिमा नयाँ प्रतिभाहरू तीव्र रूपमा उदाएका छन् र प्रतिस्पर्धा बढ्दै गएको छ ।
उदाहरणका लागि, स्ट्रे किड्सले बिलबोर्ड २०० चार्टमा कीर्तिमान तोड्दै सन् २०२५ सेप्टेम्बरसम्म के-पप कलाकारमध्ये सबैभन्दा धेरै लगातार नम्बर १ एल्बम राख्ने समूह बनेको छ, जसले बीटीएसलाई पनि उछिनेको देखिन्छ ।
लीका अनुसार, यो मात्र पर्याप्त छैन । “यदि हामी केवल संख्यामा हेर्ने हो भने, यी समूहहरू बीटीएससँग नजिकिँदै गएको जस्तो देखिन्छ । तर ब्रान्ड शक्तिको कुरा गर्दा, अवस्था त्यति समान छैन,” उनले भनिन् ।
उनका अनुसार स्ट्रे किड्स सफल त छन्, तर उनीहरूसँग कोरियाभित्र बीटीएसजस्तो व्यापक चिनिनेजस्तो पहिचान छैन, विशेष गरी विभिन्न पुस्ताका फ्यानहरूबीच । उनले थपिन्, “बीटीएसको सफलतासँग राष्ट्रिय गर्व पनि जोडिएको छ ।’
लीका अनुसार बीटीएसको प्रभाव यति बलियो छ कि स्थानीय राजनीतिज्ञहरू पनि त्यसबाट फाइदा उठाउने प्रयासमा देखिएका छन् । उनले भनिन्, ‘कोरियामा मध्यावधि चुनाव नजिकिँदै गर्दा केही राजनीतिले यो कन्सर्टलाई राम्रो प्रचार अवसरका रूपमा देखेका छन् र आफूले केही नगरे पनि यसलाई आफ्ना उपलब्धिसँग जोडेर प्रस्तुत गरिरहेका छन् ।’
उनले थपिन्, ‘के-पप सधैंदेखि सरकारको ‘सफ्ट पावर’ बढाउने प्रयासको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । बीटीएसले दरबार परिसरमै प्रस्तुति दिन पाउनु पनि सिओल सहरको अनुमतिका कारण सम्भव भएको हो… किनकि उनीहरूले यसलाई कोरियाको हितमा र संस्कृति तथा सम्पदालाई विश्वसामु प्रस्तुत गर्ने अवसरका रूपमा हेरेका छन् ।’
उनका अनुसार, ‘यस्तो सम्भव गराउने क्षमता बीटीएसजस्तो स्तरको समूहसँग मात्र हुन्छ ।’


प्रतिक्रिया 4