१० चैत, बाजुरा । बाजुरामा पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । मंगलबार विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा एक, २०७८/७९ मा तीन, २०७९/८० मा दुई, २०८०/८१ मा छ, २०८१/८२ मा चार जना र ०८२/८३ को फागुन मसान्तसम्म दुई जनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार गत आव २०८१/८२ मा जिल्लामा १४१ जनामा क्षयरोग देखिएको छ । हालसम्म क्षयरोगबाट सङ्क्रमित ८१ जनाले नियमित औषधि खाइरहेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये बडीमालिका नगरपालिका उच्च क्षयरोगी दर भएको पालिकामा रहेको तथ्याङ्कले देखाएको छ । जहाँ प्रतिलाख २१९ जनामा क्षयरोग देखिएको जनाएको छ ।
जिल्ला अस्पतालका प्रमुखसमेत रहेका डाक्टर चन्द्रशेखर यादवले क्षयरोगलाई दिवसका रूपमा मात्रै नलिई नियमित रूपमा गम्भीर भएर प्रभावकारी रूपमा कार्यक्रम गरेर यसको उन्मूलनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । –रासस
प्रतिक्रिया 4