११ चैत, काठमाडौं । लामो समयको जुहारीपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । एन्फाले स्वीकृतिबिना ‘अर्ली इलेक्सन’ गर्न खोजेपछि राखेपसँग विवाद सिर्जना भएको थियो । अन्ततः बुधबार बसेको राखेप कार्यकारी समितिको बैठकले एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
राखेपले खेलकुद विकास नियमावलीको दफा २९ को उपदफा २ बमोजिम कारबाही गरेको उल्लेख गरेको छ । उक्त उपदफामा ‘कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने’ उल्लेख छ । एन्फाले दिइएको ९ वटा बुँदा कार्यान्वयन गरेर जानकारी गराएमा फुकुवातर्फ जाने ऐनमा व्यवस्था छ ।
अब उपदफा ३ अनुसार निलम्बन फुकुवाका लागि एन्फाले निर्देशन पालन गरी राखेपमा निवेदन दिन सक्नेछ । त्यसलाई जाँचबुझ गरी निलम्बन फुकुवा गर्ने अधिकार राखेपलाई नै हुनेछ । निलम्बन फुकुवा नभएमा उपदफा ४ अनुसार राखेपले उक्त कार्यसमिति भंग गरी तीन महिनाभित्र अर्को कार्यसमिति निर्वाचन गर्ने गरी तदर्थ कार्यसमिति गठन गर्न सक्नेछ ।
राखेपको निलम्बनमा परे पनि एन्फा नेतृत्वले भने चैत १३ गते निर्वाचन गरिछाड्ने अठोटमा छ । त्यसो हुँदा एन्फा र राखेपबिचको विवाद झनै बढ्ने देखिन्छ । त्यस्तो अवस्थामा फिफा नेपाललाई प्रतिबन्ध लगाउने सम्भावना बढ्नेछ । जसले नेपाली फुटबल झनै संकटमा पुग्नेछ ।
पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल राखेपको निलम्बनले नेपाली फुटबललाई झनै समस्यामा पार्ने बताउँछन् । ‘नेपाली फुटबल अहिले आफै त समस्यामा छ । उपाधि रोकिएको अवस्था छ । त्यहाँमाथि निलम्बनले अझ समस्यामा पार्छ,’ उनी भन्छन् ।
खेलकुदको विकासभन्दा पनि इन्ट्रेस्टकाे कुराले बढी काम गर्ने गरेको पौडेलको बुझाइ छ । उनी भन्छन्, ‘खेलकुदको विकासभन्दा पनि इन्ट्रेस्टे कुराले बढी काम गरिराखेको छ । त्यसैले इन्ट्रेस्टका आधारमा खेलकुदलाई चलाउन हुँदैन । खेलकुद पवित्र संस्था हो । यो चाहिँ पोजेटिभ वेभबाट मात्रै चल्छ । नेपालमा चाहिँ खेलकुदलाई राजनीतिक वेभबाट हेर्छ । त्यो गलत हो ।’
राखेपका पूर्व सदस्य सचिव रमेशकुमार सिलवालले राखेपको निलम्बनले खेलाडीदेखि दर्शकसम्मलाई असर परेको बताए । ‘निलम्बनको असर त खेलाडीहरूलाई पनि पर्यो, क्लबहरूलाई पनि पर्यो । प्रशिक्षक, दर्शकलाई पनि पर्यो,’ उनले भने, ‘राखेपलाई निलम्बन गर्ने अधिकार होला निलम्बन गर्यो । निलम्बन गरेपछि कसले चलाउने त भन्ने अवस्था आयो नि त ।’
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियन फुटबल महासंघ एएफसीसँग विवाद सिर्जना भए नेपाल प्रतिबन्धमा पर्न सक्ने खतरा रहेको सिलवालको भनाइ छ । ‘राखेपले अर्को समिति बनाउँछ । राखेपले बनाएको समितिलाई फिफा तथा एएफसीले मान्यता दिन्छ कि दिँदैन फेरि । दिएन भने त फेरि विवाद सिर्जना भयो,’ उनी भन्छन्, ‘विवाद बढ्दै गएपछि हाम्रो फुटबललाई अन्तर्राष्ट्रिय फुटबलले प्रतिबन्ध लगाउने सम्भावना हुन्छ ।’
प्रतिक्रिया 4