+

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

२०८२ चैत  १२ गते ११:२८ २०८२ चैत १२ गते ११:२८
क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

१२ चैत, काठमाडौं । क्यान्सर उपचारमा रोबोटिक सर्जरी प्रभावकारी र आधुनिक विकल्पका रूपमा उदाउँदै गएको चिकित्सकहरूले बताएका छन् ।

‘रोबोटिक इन सर्जिकल अन्कोलोजी’ विषयक सिएमई कार्यक्रममा नयाँ दिल्लीस्थिति मणिपाल अस्पतालका अन्कोलोजी विभागका प्रमुख डा. सुरेन्द्र कुमार दबासले रोबोटिक सर्जरीको बढ्दो प्रयोग र यसको फाइदाबारे जानकारी गराएका हुन् ।

डा. दबासले रोबोटिक क्यान्सर सर्जरीले उपचारको परिणाम सुधार्नुका साथै बिरामीको निको हुने समय छोट्याउने बताए । उनका अनुसार रोबोटिक सर्जरीले क्यान्सर पूर्णरूपमा हटाउने सम्भावना बढाउँछ र बिरामी छिटो निको हुने भएकाले सर्जरीपछि दिइने किमोथेरापी वा रेडिएसन जस्ता उपचार समयमै सुरु गर्न सकिन्छ ।

क्यान्सर उपचारमा सम्पूर्ण उपचार समयमै पूरा हुनु अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सर्जरीपछि करिब १०० दिनभित्र किमो वा रेडिएसनसहित उपचार सम्पन्न भए रोग निको हुने सम्भावना उच्च रहने डा. दबास बताए ।

ढिलो भएमा क्यान्सर पुनः देखिने जोखिम बढ्ने उनको भनाइ छ ।

डा. दबासका अनुसार चिरफार (ओपन सर्जरी) वा ल्याप्रोस्कोपिक विधिबाट कठिन हुने घाँटी, थाइराइड तथा पेटको पछाडिको भाग (रेट्रोपेरिटोनियल क्षेत्र) का सर्जरीमा रोबोटिक प्रविधि प्रभावकारी देखिएको छ ।

विशेषगरी थाइराइड क्यान्सरको शल्यक्रियामा रोबोटिक सर्जरी प्रयोग गर्दा घाँटीमा दाग नबस्ने भएकाले बिरामीलाई सौन्दर्य र मानसिक दुवै पक्षमा फाइदा पुग्ने उनले बताए ।

रोबोटिक सर्जरीपछि बिरामीको खाना खाने, बोल्ने तथा दैनिक जीवनमा फर्किने क्षमता पनि छिटो सुधार हुने उनको भनाइ थियो ।

विश्वभर रोबोटिक सर्जरीको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै उनले अमेरिकामा करिब ८० प्रतिशत सर्जरी रोबोटिक प्रविधिबाट हुने गरेको र भारतमा १० देखि १५ प्रतिशत सर्जरी यसै विधिबाट भइरहेको जानकारी दिए ।

नेपालमा भने यसको प्रयोग अझै सीमित रहेको उनले सुनाए ।

कार्यक्रममा उनले रोबोटिक सर्जरीको लागत पछिल्ला वर्षमा उल्लेखनीय रूपमा घटेको पनि जानकारी गराए । प्रतिस्पर्धा बढेसँगै यसको लागत करिब ५० प्रतिशतसम्म घटेको उनको भनाइ छ ।

त्यसैगरी हेड एण्ड नेक रोबोटिक सर्जन डा. विकास गुरुङले रोबोटिक सर्जरी आधुनिक चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले उपचारको नतिजा सुधार गरेको बताए ।

उनका अनुसार रोबोटिक प्रविधिमा सर्जनको नियन्त्रण अत्यन्त सटीक हुने भएकाले रक्तस्राव कम हुने, संक्रमणको जोखिम घट्ने र बिरामी छिटो निको हुने गर्छ ।

रोबोटिक सर्जरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय