News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहा गोलबजारका व्यापारी रामनारायण साह तीन दिनदेखि सम्पर्कविहीन भएका छन्।
- उनको मोबाइलको अन्तिम लोकेशन धनुषाको खजुरी क्षेत्रमा देखिएको छ।
- परिवारले व्यावसायिक विवाद र धम्कीका कारण उनको बेपत्ता भएको आशंका गरेको छ।
११ चैत, सिरहा । सिरहा गोलबजारका एक व्यापारी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । गोलबजार नगरपालिका–४ का व्यवसायी रामनारायण साह गत मंगलबार बिहान घरबाट ‘लहान जान्छु’ भनेर निस्किएपछि सम्पर्कमा आएका छैनन् ।
परिवारका अनुसार, घरबाट निस्किएपछि करिब दिउँसो १ बजे उनले छोरीलाई फोन गरेर मोबाइलमा एक सय रुपैयाँ रिचार्ज हाल्न भनेका थिए। त्यसको केहीबेरमै उनको फोन स्वीच अफ भएको र त्यसपछि हालसम्म सम्पर्कमा नआएको जनाइएको छ।
साह गोलबजारस्थित जेम्स स्कुलका संस्थापक तथा प्रिन्सिपल र नेहा मनी ट्रान्सफरका सञ्चालक समेत हुन् । सधैं मोटरसाइकलमा आवतजावत गर्ने उनी उक्त दिन भने बस चढेर लहानतर्फ गएका थिए ।
इलाका प्रहरी कार्यालय गोलबजारमा रामनारायणकी जेठी छोरी नेहाकुमारीले बुबाको खोजतलास गरी पाउँ भन्दै निवेदन दिएकी छन् ।
निवेदन प्राप्त भएसँगै रामनारायणको खोजतलासमा आफूहरू लागि परेको प्रहरी निरीक्षक सुदन केसीले जान्कारी दिए ।
उनका अनुसार बुधबार उनको मोबाइलको अन्तिम लोकेशन धनुषाको खजुरी क्षेत्रमा देखिएको छ।
परिवारका सदस्यहरूले व्यावसायिक लेनदेनका कारण केही विवाद भएको आशंका गरेका छन् । उनकी छोरी नेहा साहका अनुसार पछिल्लो समय बुबाले कसैसँग चर्को स्वरमा फोनमा कुरा गर्ने गरेको सुनेकी थिइन् ।
नेहाले भनिन्, ‘मनी ट्रान्सफरबाट पैसा लगेको विषयमा विवाद भइरहेको सुनेको थिएँ, तर कोसँग विवाद थियो भन्ने हामीलाई थाहा छैन । बुबा आफैं कुरा मिलाउनुहुन्थ्यो ।’
उनका अनुसार सोही दिन दुई जना हिन्दी शब्दमा बोल्ने युवकहरूले विद्यालयबाट बुबाको फोन नम्बर मागेर लगेका थिए । त्यसपछि फोनमार्फत धम्की दिने जस्ता गतिविधि भएको र केही समयमै बुबा सम्पर्कविहीन भएपछि परिवारका सदस्य चिन्तित बनेका छन् ।
परिवारले आफन्त तथा चिनेजानेका सबैसँग खोजी गरिसकेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको विभिन्न कोणबाट अनुसन्धान र खोजतलास जारी रहेको जनाएको छ।
प्रतिक्रिया 4