+
+
Shares

अवैध चुनढुंगा उत्खनन प्रकरणमा पाँच जनालाई वन मुद्दा

चुनढुंगा उत्खननका लागि राष्ट्रिय वन क्षेत्र मासेर सडक खनिएको र सडक खन्दा निस्कएको माटोले बोटबिरुवा मासिएको स्थलगत जाँचबुझ अनुसन्धानबाट पुष्टि भएपछि पाँच जनालाई प्रतिवादी बनाएर वन मुद्दा चलाइएको हो ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ चैत १२ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको बकैया गाउँपालिकामा अवैध चुनढुंगा उत्खनन प्रकरणमा पाँच जनालाई दोषी किटान गरी वन मुद्दा लगाइएको छ।
  • डिभिजन वन कार्यालयले सुकुलाल नेसुर र अन्यलाई वन ऐन, २०७६ को दफा ४९ को खण्ड (ग) बमोजिम कसुर गरेको पुष्टि गर्दै मुद्दा दायर गरेको छ।
  • अवैध उत्खननमा गाउँपालिकाको मिलेमतो रहेको पाइएको र पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति शुल्क निर्धारण गरी मुद्दा दायर गरिएको छ।

१२ चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा अवैध चुनढुंगा उत्खनन प्रकरणमा डिभिजन वन कार्यालय मकवानपुरले पाँच जनालाई दोषी किटान गर्दै वन मुद्दा लगाएको छ ।

चुनढुंगा उत्खननका लागि राष्ट्रिय वन क्षेत्र मासेर सडक खनिएको र सडक खन्दा निस्कएको माटोले बोटबिरुवा मासिएको सब डिभिजन वन कार्यालय बकैयाको स्थलगत जाँचबुझ अनुसन्धानबाट पुष्टि भएपछि पाँच जनालाई प्रतिवादी बनाएर वन मुद्दा चलाइएको हो । जसमध्ये चार जना जग्गाधनी र एक जना व्यवसायी रहेका छन् ।

कित्ता नम्बर १३२ का जग्गाधनीहरू सुकुलाल नेसुर, धनबहादुर घलान र प्रेमबहादुर मुक्तानलाई पक्राउ गरी वन ऐन, २०७६ को दफा ४९ को खण्ड (ग) बमोजिम कसुर गरेको पुष्टि हुन आएको दाबीसहित डिभिजन वनले मुद्दा चलाएको हो ।

नेसुर एक लाख र धनबहादुर र प्रेमबहादुर ५०–५० हजार धरौटी बुझाएर रिहा भएको डिभिजन वनले जनाएको छ । अर्का जग्गाधनी वीरबहादुर घलान र व्यवसायी प्रकाश गौतम फरार रहेको र उनीहरूको खोजी भइरहेको डिभिजन वन प्रमुख राकेशप्रसाद चन्द्रवंशीले जानकारी दिए ।

अनुसन्धान प्रतिवेदनमा प्रतिवादी सुकुलाल नेसुरले कित्ता नम्बर १३१ र १३२ का अन्य जग्गाधनीहरूबाट मञ्जुरीनामा लिई चुनढुंगा उत्खनन गरेको र उक्त कार्यका लागि सडक निर्माण गरेको दाबी गरिएको छ । धनबहादुर र प्रेमबहादुरले नेसुरलाई मञ्जुरीनामा दिएर चुनढुंगा उत्खनन गर्न दिएका थिए ।

‘सुकुलाल नेसुर र श्रीॐ अटुट कन्स्ट्रक्सन प्रालि हेटौंडा–१६ ले आफूखुसी एस्काभेटर प्रयोग गरी उक्त सडक थप चौडा पारेको, प्रतिवादी वीरबहादुर घलानको कित्ता नम्बर १३१ र राष्ट्रिय वन क्षेत्र हुँदै ५/६ मिटर चौडाइ र १९१ मिटर लामो सडक खन्ने क्रममा राष्ट्रिय वन क्षेत्रमा पर्ने कालीकाठ डाँडा र कित्ता नम्बर १३१ को उत्तर क्षेत्रमा सर्भे लाइनभन्दा बाहिर खनिएको,’ प्रतिवेदनमा उल्लेख छ ।

बयान र प्रमाणबाट प्रतिवादीहरू जग्गाधनी नेसुर र ॐ अटुट कन्स्ट्रक्सन प्रालि हेटौंडा–१६ ले विना अनुमति राष्ट्रिय वन फडानी गर्ने र खानीजन्य पदार्थ उत्खनन गर्ने कार्य गरी वन ऐन, २०७६ को दफा ४९ को खण्ड (ग) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनीहरूलाई सोही ऐनको दफा ५० (३) बमोजिम सजाय माग गर्दै जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यबाट मकवानपुर जिल्ला अदालतमा मुद्दा दायर गर्ने निर्णय भएको थियो । र, अन्य प्रतिवादीहरू धनबहादुर, प्रेमबहादुर र वीरबहादुरले नेसुरसँगको मिलोमतोमा निजलाई उक्त कसुर गर्न दुरुत्साहन गरी कि.नं. १३१ र १३२ को जग्गाबाट ढुङ्गा उत्खनन गरी बिक्री गर्न मञ्जुरीनामा दिई सोही ऐनको दफा ५४ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको दाबीसहित उनीहरू पनि सोही ऐनको दफा ५४ बमोजिम सजाय माग गरिएको छ ।

साथै, पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क निर्धारण गरी पीडित राहत कोषमा जम्मा गराउन दाबीसहितको मुद्दा दायर गरिएको डिभिजन वन प्रमुख चन्द्रवंशीले जानकारी दिए ।

तास्वास कोलखोप पहुँच सडक २०७८ सालमै गाउँपालिकाले निर्माण गरेको थियो । बकैयाको १२ नम्बर वडा कार्यालयले पाँच लाख बजेटमा चौडाइ ३ मिटर र लम्बाइ २०११ मिटर सडक आर्थिक वर्ष २०७८/७९ मा निर्माण गरेको हो । उक्त सडक नेसुरलगायत निर्माण कम्पनीले आफ्नै पहलमा सडक स्तरोन्नति गरेको डिभिजन वनले जनाएको छ । नेसुरले २ वर्षसम्म पहल गर्दा पनि पालिकाबाट सडक स्तरोन्नति नभएकोले आफ्नै पहलमा हिँड्डुल गर्न र चुनढुंगा ओसारपसार गर्न बाटो बनाएको बयानमा भनेका छन् ।

के थियो अवैध चुनढुंगा उत्खननको घटना ?

मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने चपकी खानी क्षेत्रको पूर्वतर्फबाट महिनौंदेखि अवैध रूपमा चुनढुंगा उत्खनन भइरहेको थियो । बकैया गाउँपालिका कार्यालयकै मिलेमतोमा १२ नम्बर वडाको चपकी खानी क्षेत्रको पूर्वतर्फबाट निजी जग्गाको नाममा कानुनविपरीत निरन्तर चुनढुंगा उत्खनन र बिक्री भइरहेको हो ।

चुनढुंगा रहेको भूभाग सरकारको सम्पत्ति हुने र उत्खनन गर्न खानी तथा भूगर्भ विभागको स्वीकृति अनिवार्य रहेको कानुनी व्यवस्था रहेकोमा चुनढुंगाको अवैध उत्खनन भइरहँदा अनलाइनखबरले ‘पालिका अध्यक्षको मिलेमतोमा चुनढुंगाको अवैध उत्खनन’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि डिभिजन वन कार्यालयले गत १९ मंसिरमा सव डिभिजन बकैया प्रमुख वन अधिकृत शरु श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो ।

डिभिजन वन प्रमुख चन्द्रवंशीका अनुसार २० कात्तिक २०८० मा कानुनी प्रक्रिया पूरा गरेर खानी विभागको सहमतिमा मात्रै उत्खनन गर्न गाउँपालिकालाई लिखित पत्राचार गर्दा पनि पालिकाले अटेर गरेको पाइएको थियो । अवैध उत्खननमा गाउँपालिका नै दोषी देखिँदा पनि डिभिजन वनले उन्मुक्ति दिएको छ ।

गाउँपालिकाको २९ असोज २०८२ मा बसेको कार्यपालिका बैठकले वडा नम्बर १२ स्थित चपकी क्षेत्रको सुकलाल नेसुरको नाममा रहेको (कित्ता नम्बर १३२ को ११ रोपनी ६ आना २ पैसा ३ दाम) जग्गामा ढुंगामाटो भनेर चुनढुंगा उत्खनन तथा ढुवानी गर्न अनुमति दिएको हो । तर जग्गाधनी नेसुरले निर्माण कम्पनी लगाएर माटो भन्दै चुनढुंगा उत्खनन गरी बिक्री गरिरहेका थिए ।

खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा ३ मा ‘नेपाल भित्र निजी वा सरकारी स्वामित्वमा रहेको जुनसुकै जमिनको सतह वा भूगर्भ भित्र रहेको वा पाइएको सम्पूर्ण खनिज पदार्थ नेपाल सरकारको सम्पत्ति हुनेछ’ भनिएको छ । खनिज उत्खनन कसले गर्न दिने भन्ने खानी तथा खनिज पदार्थ नियमावली २०५६ को नियम १४ को उपनियम (१) र (२) तथा अनुसूची ७ ले प्रष्ट पारेको छ ।

गाउँपालिकाले चुनढुंगालाई सामान्य ढुंगामाटो भनेर परिभाषित गर्न खोजे पनि कानुनले त्यसलाई अस्वीकार गरेको छ । खानी तथा खनिज नियमावली २०५६ को नियम ३ को अनुसूची १ अनुसार चुनढुंगा ‘अधातु खनिज’ अन्तर्गत पर्छ र यसलाई महत्वको आधारमा बहुमूल्य खनिज मानिन्छ ।

महाभारत पर्वत शृङ्खलामा पर्ने जिल्लाका अधिकांश डाँडामा चुनढुंगा छन् । पश्चिमी क्षेत्र राक्सिराङदेखि भीमफेदी, मकवानपुरगढी, बागमती र बकैया गाउँपालिका पहाडमा चुनढुंगा प्रशस्तै पाइन्छ । यी क्षेत्रमा हेटौंडामा रहेका सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग र निजी क्षेत्रको शिवम् सिमेन्ट र रिद्धिशिद्धि सिमेन्टका खानी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?