News Summary
Generated by OK AI. Editorially reviewed.- माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि सुरु भई पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ।
- ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् र १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको छ।
- उत्तरपुस्तिका परीक्षण तीन दिनभित्र सम्पन्न गरी नतिजा एक महिना भित्र प्रदेशगत रूपमा प्रकाशित गरिने तयारी छ।
१९ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको भएको छ । पहिलो दिनको परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षणको कामसमेत थालिसकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन बिहान ८ बजेदेखि ११ बजेसम्म अंग्रेजी विषयको परीक्षा भएको थियो । ‘परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘धेरै ठाउँमा परीक्षण सुरु भएको जानकारी आएको छ ।’
परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका छन् । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् ।
परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । जापानको एक केन्द्रबाट परीक्षा दिने २३ जना छन् । एसईई सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ ।

कसरी हुन्छ परीक्षण ?
बोर्डका अनुसार केन्द्राध्यक्षको नेतृत्वमा परीक्षणको काम भइरहेको छ । ‘केही ठाउँमा सुरक्षा थ्रेट छ । सुरक्षित वातावरणमा परीक्षण हुन्छ,’ नियन्त्रक अधिकारीले भने, ‘परीक्षा भएको विषयको तीन दिनमा परीक्षण सकिन्छ ।’
परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशित गर्नेसम्मको निर्देशिका पनि जारी भएको छ । उक्त निर्देशिकाअनुसार परीक्षा र परीक्षणको काम भइरहेको बोर्डले जनाएको छ ।
‘योग्यता पुगेका शिक्षकबाट परीक्षण हुन्छ । आफ्नो स्कुलका विद्यार्थीको आफैंले परीक्षण गर्न पाइँदैन । एउटा विद्यालयको शिक्षकले अर्को स्कुलको विद्यार्थीको परीक्षण गर्ने हो,’ अधिकारीले भने ।
शिक्षा विकास समन्वय एकाइ र स्थानीय पालिकाको समन्वयमा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकको रोस्टर बनाइएको छ । परीक्षा सञ्चालन भएकै दिन परीक्षा समाप्ति भएपछि परीक्षार्थीका उत्तरपुस्तिका सिम्बोल नम्बरको क्रम मिलाई परीक्षक-सम्परीक्षकलाई परीक्षण-सम्परीक्षणका लागि बुझाउनु पर्नेछ ।
परीक्षण-सम्परीक्षण गर्दा प्रत्येक उत्तरपुस्तिकामा सबै प्रश्नका उत्तर जाँचिएका छन्/छैनन्, जाँचिएका उत्तरमा अङ्क दिइएको छ/छैन, भित्र दिइएको अङ्क बाहिर चढाइएको छ/छैन, बाहिर चढाइएको अङ्कको जोड ठिक छ/छैन रुजु गर्नुपर्छ ।
कुल प्राप्ताङ्कसँग भित्र दिइएको अङ्कसमेत भिडाई अङ्क र अक्षर दुवैमा लेखी प्रत्येक उत्तर पुस्तिकामा परीक्षक-सम्परीक्षकले हस्ताक्षर गर्नु पर्नेछ ।
उत्तरपुस्तिका परीक्षणमा लापरबाही गरेको पाइएमा लापरबाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट नाम हटाइने निर्देशिकामा उल्लेख छ । अन्य अमर्यादित कार्य गरेमा त्यस्ता परीक्षकमाथि प्रचलित कानुनबमोजिम विभागीय कारबाहीसमेत हुने छ ।
प्रत्येक विषयको उत्तरपुस्तिका बढीमा तीन दिनमा परीक्षण सम्पन्न गरी मार्कस्लिप शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउने गरी विद्यार्थी सङ्ख्याको आधारमा आवश्यकतानुसार परीक्षक-सम्परीक्षकको व्यवस्था गर्नु पर्नेछ ।

परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षकहरू परीक्षण केन्द्रमा पुगिसक्नु पर्नेछ । परीक्षण गर्न विज्ञ शिक्षकको अभाव भएमा परीक्षण केन्द्रको प्रमुखले शिक्षा विकास तथा समन्वय एकाइ- स्थानीय तहका शिक्षा शाखासँग समन्वय गरी परीक्षण व्यवस्थापन गर्नु पर्नेछ ।
विषयगत शिक्षकको उपलब्धता र सुरक्षाका हिसाबले संवेदनशील देखिएका स्थानका उत्तरपुस्तिका परीक्षणका लागि एकाइले वैकल्पिक व्यवस्था गरी समयमै परीक्षण गराउनु पर्नेछ ।
उत्तरपुस्तिका परीक्षणपश्चात् परीक्षार्थीको प्राप्ताङ्क सम्बन्धित एकाइ प्रमुख-केन्द्राध्यक्षको इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएको मार्कस्लिप शिलबन्दी गरी गोप्य र सुरक्षित ढङ्गबाट सम्बन्धित एकाइमा उक्त विषयको परीक्षा सकिएको बढीमा तीन दिन भित्र अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।
सम्परीक्षकका हकमा परीक्षकका रूपमा सम्बन्धित विषयको उत्तरपुस्तिका परीक्षण गरेका माध्यमिक तहका शिक्षक हुनु पर्नेछ । शिक्षा विकास तथा समन्वय एकाइले परीक्षण केन्द्रबाट परीक्षण भएर आएका मार्कस्लिपका शिलबन्दी खाममा केन्द्र र विषयकोड उल्लेख गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउनु पर्नेछ ।

शिक्षा विकास तथा समन्वय एकाइले परीक्षण केन्द्रबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाका प्याकेटको केन्द्र र विषयकोड उल्लेख गरी नियन्त्रण कार्यालयमा पठाउनु पर्नेछ ।
यसरी एकाइबाट मार्कस्लिप आउनासाथ परीक्षा नियन्त्रण कार्यालयले इन्ट्रीको काम गर्नेछ । ‘मार्कस्लिप आउनासाथ इन्ट्री गर्छौं,’ नियन्त्रक अधिकारीले भने । एसईई चैत २९ सम्म चल्नेछ । ‘वैशाख ५ सम्म उत्तरपुस्तिकासहित सबै परीक्षा नियन्त्रण कार्यालयमा ल्याएर इन्ट्री र रुजुको काम गर्छौं,’ अधिकारीले भने ।

अनि नतिजा
परीक्षा सकिएको १ महिना भित्रै नतिजा प्रकाशित गर्ने तयारी छ । सकेसम्म एकै पटक नभए प्रदेशगत रूपमा नतिजा प्रकाशित गरिने छ । निर्देशिकामा पनि प्रदेशगत रूपमा नतिजा प्रकाशित गर्न सकिने भनिएको छ ।
‘सबै प्रदेशको विवरण एकै पटक आयो भने एकै पटक नतिजा प्रकाशित हुन्छ । नभए जसको पहिला आउँछ त्यसैको आधारमा प्रदेशगत रूपमा पनि नतिजा सार्वजनिक गर्न सकिन्छ,’ नियन्त्रक अधिकारीले भने ।
यसअघि नतिजा सार्वजनिक हुन २–३ महिना लाग्ने गरेको थियो । गोप्य रूपमा एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्दा नतिजा प्रकाशितमा ढिला हुने गरेको थियो ।
विद्यार्थीलाई अनावश्यक तनाव हुन नदिन १ महिनामै नतिजा प्रकाशित गर्न लागिएको हो । तर नतिजा सार्वजनिक भएपछि तत्काल ११ कक्षाको पठनपाठन हुने वा नहुने भन्नेमा कुनै निर्णय भएको छैन ।
‘शैक्षिक सत्रको क्यालेन्डरअनुसार एसईईको परीक्षा सकिएको दुई-तीन महिना बिदा हुने गरेको थियो । तत्कालै कक्षा सञ्चालन गर्ने हो भने शैक्षिक सत्र पनि सार्नुपर्ने हुन्छ । यसबारेमा अहिले कुनै निर्णय भएको छैन । सम्भवतः नतिजा सार्वजनिक भएपछि शैक्षिक सत्र सुरु नभएसम्म कक्षा हुँदैन होला,’ राष्ट्रिय परीक्षा बोर्डमा सदस्यसचिव जंगबहादुर अर्यालले भने ।
प्रतिक्रिया 4