+
+
Shares

के कसुरमा पक्राउ परेका हुन् व्यवसायी भट्ट ?

हिमालयन रिइन्स्योरेन्स तथा अन्य पब्लिक कम्पनीका सहायक कम्पनीको रकम दुरुपयोग गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले केही समयदेखि अनुसन्धान गरिरहेको स्रोतले बतायो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते २२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा सीआईबीले व्यवसायी दीपक भट्टलाई बिहीबार पक्राउ गरी विभागलाई बुझाएको छ।
  • दीपक भट्टमाथि बीमा ऐन २०७९ को दफा १४० उल्लंघन गरी करिब ३ अर्ब ८१ करोड रुपैयाँको सेयर खरिदमा अनियमितता गरेको आरोप छ।
  • जिल्ला अदालतले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ र उनले आफू दोषी नभइ पीडित भएको दाबी गरेका छन्।

१९ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा रहेका व्यवसायी दीपक भट्ट बिहीबार पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीवार भट्टलाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा भट्टलाई पक्राउ गरी विभागलाई नै बुझाइदिएको सीआईबी स्रोतले जानकारी दिए ।

सम्पत्ति शद्धीकरण अनुसन्धान विभागले व्यवसायी भट्टमाथि लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । यसअघि सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा अध्यागमन विभागले मंगलबार भट्टको राहदानीलाई रोक्का राखेको थियो ।

स्रोतका अनुसार प्रहरीले बोलाएपछि भट्ट सीआईबीको कार्यालयमा गएको र प्रहरीले उनलाई त्यहीँ पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको थियो ।

भट्टलाई विभागले बिहीबार नै जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा १४ को उपदफा २ र ३ बमोजिम उनको पक्राउ पुर्जीको समर्थन गरेको छ ।

उनले बीमा ऐन, २०७९ को दफा १४० उल्लंघन गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार तथा अन्य क्षेत्रमा लगानी गरी कसुरबाट प्राप्त सम्पत्ति गैरकानुनी स्रोत लुकाउने, छल्ने र प्रकृति बदल्ने जस्ता सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्य गरेको अभियोग विभागले लगाएको छ ।

के हो अभियोग ?

दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीका ठूला शेयरधनीमध्ये एक हुन् ।

उनले अर्को रिइन्स्योरेन्स कम्पनी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्स तथा अन्य पब्लिक कम्पनीका सहायक कम्पनीको रकम दुरुपयोग गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले केही समयदेखि अनुसन्धान गरिरहेको स्रोतले बतायो ।

विभिन्न पब्लिक कम्पनीको रकम दुरुपयोग गरी नेपाल रिलगायत कम्पनीको करिब ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँको सेयर खरिद गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान जारी राखेको विभाग स्रोतले बताएको छ ।

त्यसरी सेयर खरिद गर्दा अनियमितता वा आर्थिक दुरुपयोग गरेनगरेको विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न विभागले नेपाल धितोपत्र बोर्ड तथा बीमा समितिलाई गत २८ फागुनमा पत्राचार गरेको थियो ।

भट्टले नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर खरिद गर्न हिमालयन रिइन्सुरेन्सको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैकरको २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ नेपाल लाइफ इन्सुरेन्सको सहायक कम्पनीको ३७ करोड रुपैयाँ, एचएलआईएफ लार्ज क्याप फन्डको २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ दुरुपयोग गरेको सो पत्रमा उल्लेख छ ।

भट्टले भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५) मार्फत सेयर खरिद गरेको र उल्लेखित कम्पनीहरुबाट विभिन्न मितिमा ३ अर्ब ८१ करोड ४६ लाख चार हजार रकम त्यसबापत भुक्तानीका लागि गएको विभागको भनाइ छ ।

यसरी भट्टले आफूले खरिद गरेको सेयरको भुक्तानी पब्लिक कम्पनीको पैसा दुरुपयोग गरी गरेको विषयमा बीमा व्यावसाय संचालनका क्रममा कुनै अनिमियता वा आर्थिक दुरुपयोग गरे नगरेको सम्बन्धमा छानबिन गरी प्रतिक्रिया सहितको प्रतिवेदन ७ दिनभित्र पठाइदिन बीमा प्राधिकरणलाई पत्राचार गरेको थियो ।

सोही विषयमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्न विभागले नेपाल धितोपत्र बोर्डलाई पनि पत्राचार गरेको स्रोतले जानकारी दियो । नेपाल धितोपत्र बोर्डले पनि त्यस विषयमा अध्ययन गरी विभागलाई प्रतिवेदन पेश गरेको थियो ।

‘दुई दिनअघि बोर्डले विभागलाई प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा विभागले भट्टको राहदानी रोक्का राख्ने तथा पक्राउ गरेको हुनसक्छ,’ बोर्ड स्रोतले भन्यो ।

अदालतमा के भने भट्टले ?

जिल्ला अदालतमा म्याद थप गर्नका लागि उपस्थित गराइएका भट्टसँग बिहीबार सामान्य बयान लिने काम पनि भएको थियो ।

सो क्रममा उनले यो प्रकरणमा आफू दोषी नभइ पीडित भएको दाबी गरेका थिए । यस्तो गैरकानुनी कार्य आफूले नगरेको बरु आफू नजिकका मान्छेले धोकाधडी गरेर आफ्नो टीएमएससमेत प्रयोग गरेर कारोबार गरेको दाबी उनले गरेका थिए । जुन ब्रोकरमार्फत सेयर किनबेच भएको हो, त्यसलाई आफूले नचिन्ने पनि उनको दाबी थियो ।

त्यसरी धोकाधडी गर्ने व्यक्तिलाई पक्राउ नगर्ने र आफूलाई मात्रै अनुसन्धानको दायरामा ल्याउने कार्यले अन्यायमा परेको उनको भनाइ थियो ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आफ्नो बयान सकिसकेकाले हिरासतमा राखिराख्नुनपर्ने उनको दाबी थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?