+
+
Shares

‘राष्ट्रिय सभासँगको समन्वयमा धेरै दु:ख गर्नु पर्दैन’

जनताको लागि काम गर्दा विरोध नहुने विश्वासमा आफू रहेको अर्यालको भनाइ छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ चैत २२ गते २१:३६

 २० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख भएका छन् । आइतबार उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

सभामुख भएसँगै अर्यालले रास्वपाको सदस्यता त्यागेका छन् । तर उनी संस्थापक सदस्य रहेको पार्टी रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ नजिक छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ जना सांसद् छन् ।

३८ सिटसहित नेपाली कांग्रेस दोस्रो, २५ सिटसहित नेकपा एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रूपमा रहेको छ । बाँकी अन्य दलका सांसदहरू छन् । यसकारण रास्वपा नेतृत्वको सरकारलाई चाहेअनुसार नीति बनाउन प्रतिनिधिसभामा समस्या हुँदैन ।

तर, राष्ट्रिय सभामा फरक अंकगणित छ । ५९ सदस्यीय राष्ट्रिय सभामा २४ सिटसहित नेपाली कांग्रेस पहिलो दल, १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी दोस्रो र १० सिटसहित नेकपा एमाले तेस्रो दलको रूपमा रहेका छन् ।

यस्तो संसदीय अंकगणितमा प्रतिनिधिसभाबाट सहजै पास हुन सक्ने विधेयक राष्ट्रिय सभामा रोकिने अवस्था आउन सक्छ । यस्तोमा दुई वटा हाउसका बीचमा समन्वय गर्नुपर्ने हुन्छ । राजनीतिक दलहरूसँग समेत संवाद गर्नुपर्ने हुन्छ ।

रास्वपाले संविधान संशोधन गर्नेसम्मको वाचा गरेको छ । संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ मत आवश्यक पर्छ । कानुन निर्माणका लागि दुवै सभाबाट विधेयक पारित हुनुपर्छ । विधेयक पारित गर्न बहुमत भए पुग्छ ।

सभामुख अर्याल आफैं भने राष्ट्रिय सभासँग दु:ख गरेर समन्वय गर्नुपर्ने अवस्था नआउने विश्वासमा छन् ।

आइतबार सभामुख पदको पदभारपछि अर्यालले पत्रकारहरूसँग भेटघाट गरे । त्यस क्रममा ‘राष्ट्रिय सभासँग कसरी समन्वय गर्नुहुन्छ’ भनेर सोधिएको थियो ।

जवाफमा उनले देश र जनताको हितमा काम गर्नका लागि समन्वय हुने र यसमा समस्या नहुने आफ्नो विश्वास रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा र राष्ट्रिय सभाको बीचमा समन्वय गर्ने कुरामा राष्ट्र, राष्ट्रियता र जनताको हितमा हुने विषयमा हामीले बहस चलाउँदा धेरै दु:ख गरेर समन्वय गर्नुपर्छ जस्तो लाग्दैन ।’

जनताको लागि काम गर्दै गर्दा विरोध गर्नुपर्ने कारण नहुने र विरोध नहुने विश्वासमा आफू रहेको अर्यालको जवाफ छ । आफूबाट सबैपक्षसँग समन्वय हुने उनको प्रतिबद्धता छ । उनी भन्छन्, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचमा राम्रोसँग समन्वय गर्नुपर्छ । तीन तहको सरकार छ । तीन तहको सरकारसँग राम्रो समन्वय गर्नुपर्छ ।’

बाँकी कामका सन्दर्भमा भने कामबाटै जवाफ दिने उनको जवाफ छ ।

‘बलियो प्रतिपक्ष जनता’

प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू कमजोर छन् । यस्तो अवस्थामा सरकार स्वेच्छाचारी हुन सक्ने खतरा रहन्छ । तर सभामुख अर्याल नागरिकले समेत आफूहरूको काममाथि निगरानी गर्ने बताउँछन् । उनी भन्छन्, ‘यस पटकको बलियो प्रतिपक्ष भनेको जनता हुनुहुन्छ ।’

यस पटकको निर्वाचन विशेष निर्वाचन भएको र विगतमा भएका कैयौं निर्वाचन र भविष्यमा हुने निर्वाचनभन्दा फरक निर्वाचन भएको भन्दै उनी त्यसअनुसार व्यवहार हुने बताउँछन् ।

उनी दोहोर्‍याउँछन्, ‘सभामुखको पदमा बसिरहँदा मलाई राम्रोसँग थाहा छ– यस पटकको बलियो प्रतिपक्ष जनता नै हुन् । नागरिक नै हुन् ।

संसद् भित्र पनि प्रतिपक्षको आवाज जुन रूपमा सुन्नुपर्ने हो त्यही रूपमा सुनिने र एक जना भए पनि प्रतिपक्षको आवाज कमजोर हुन नदिने गरी काम गर्ने उनको प्रतिबद्धता छ । उनी भन्छन्, ‘प्रतिपक्षमा एक जना मात्रै किन नहोस्, प्रतिपक्ष नै हो । उहाँहरू पावरफुल हुनुहुन्छ ।’

अनुभवले पनि सदन प्रतिपक्षको हुनुपर्छ भन्ने महसुस भएको उनी बताउँछन् । अर्याल २०७९ सालको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य भएका थिए । यस पटक काठमाडौंं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष निर्वाचित भए ।

अघिल्लो कार्यकालमा उनले छोटो–छोटो समय दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए । यस पटक सुरुमै सभामुख भएका हुन् । सभामुख भएपछि अर्यालले भने, ‘सदन भनेको विशेषत: प्रतिपक्षकै हुनुपर्छ भन्ने मैले राम्रोसँग बुझ्न पाएको छु ।’

अनुभवका आधारमा व्यवहार प्रदर्शन गर्ने उनको वाचा छ । सकारात्मक भएर सोच्न र त्यसअनुसार व्यवहार गर्न समाजका सबै तह र तप्कालाई पनि उनको आग्रह छ ।

कुशल व्यवस्थापक

रास्वपाकै उपसभापति स्वर्णिम वाग्लेका नजरमा अर्याल कुशल व्यवस्थापक हुन् । ‘उहाँ कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ,’ आइतबार प्रतिनिधिसभाको बैठकमा अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थनमा बोल्दै वाग्लेले भने ।

आगामी संसद् अर्यालको नेतृत्वमा असहल हुने र तटस्थततामा खरो सावित हुने विश्वास वाग्लेको छ ।

सभामुख अर्याल आफैं पनि तटस्थतामा आफूबाट कुनै सम्झौता नहुने बताउँछन् । अर्यालले भनेका छन्, ‘प्रतिनिधिसभाको सभामुखको काम, कर्तव्य र अधिकार तटस्थ रहनुपर्ने, निष्पक्ष हुनुपर्ने कुरा मैले राम्रोसँग बुझेको छु । त्यसैअनुसार काम गर्नेछु ।’

राजनीतिमा भने सभामुख अर्याल वैकल्पिक राजनीतिमार्फत जोडिएका नेता हुन् ।

५१ वर्षीय अर्यालको जन्म धादिङ जिल्लाको साविक मैदी गाविस (हाल ज्वालामुखी गाउँपालिका) मा भएको हो । हाल उनी काठमाडौं महानगरपालिका बिनायक बस्तीमा बसोबास गर्दै आएका छन् ।

अर्यालको जीवन यात्रा सामान्य मजदुरको कामबाट सुरु भएको हो । २०४९ सालपछि रोजगारीका लागि काठमाडौं प्रवेश गरेका उनले रेस्टुरेन्टमा काम गर्दै संघर्षपूर्ण जीवन बिताए ।

२०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान गएका अर्यालले त्यहाँ करिब ८ वर्ष काम गरे । यही अनुभवले आफूलाई वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूको पीडा, समस्या र सम्भावनासँग नजिक बनाएको उनी बताउँछन् ।

जापानबाट फर्किएपछि अर्याल पर्यटन, शिक्षा, वैदेशिक अध्ययन कन्सल्टेन्सी, सहकारी र रेमिटेन्स क्षेत्रमा सक्रिय भए । उनले सुमिरे टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर वचत तथा ऋण सहकारी संस्था तथा इजिलिंक रेमिटेन्समा लगानी गर्दै निर्देशक तथा सीईओको भूमिकामा काम गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य अर्याल उपसभापतिसम्म भए । पार्टी रवि लामिछाने हिरासतमा रहँदा पार्टीको कार्यवाहक सभापतिका रूपमा उनले संगठन सञ्चालन गरे ।

अर्यालले कुशल व्यवस्थापकको रूपमा आफूलाई प्रस्तुत गरेकाले प्रतिनिधिसभामा सभामुखको जिम्मेवारी दिइएको रास्वपाकै नेताहरू बताउँछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?