News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण गर्नेबारे दुई देशबीच सैद्धान्तिक सहमति भए पनि भ्रमण केही समयपछि मात्र हुने बताएका छन्।
- भारतीय विदेशमन्त्री एस जयशंकरसँगको वार्तामा दुई देशबीच उच्चस्तरीय भ्रमणबारे छलफल भएको र मिति तय नभएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए।
- भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण एक महिनाभित्र हुन सक्ने र त्यसपछि मात्रै प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ।
२८ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण गर्नेबारे दुई देशबीच सैद्धान्तिक सहमति भए पनि भ्रमण भने केही समयपछि मात्रै हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमा भारत भ्रमणको निम्तो पनि गरेका थिए । त्यसको जवाफ फर्काउँदा नै प्रधानमन्त्री शाहले आफू ‘उचित समयमा भारतको भ्रमण गर्ने’ उल्लेख गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले अनलाइनखबरलाई बताए ।
उनका अनुसार, भारतीय विदेशमन्त्री एस जयशंकरसँगको वार्तामा पनि प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति भएको थियो । यद्यपि मिति तय गर्नुअघि लामै तयारी बाँकी रहेको मन्त्री खनालले शनिबार साँझ अनलाइनखबरसँगको कुराकानीका क्रममा भने ।
‘अन्य दुईपक्षीय विषयसँगै दुई देशबीच उच्चस्तरीय भ्रमणका विषयमा पनि छलफल भएको हो । मिति नै तय भएको होइन’, परराष्ट्रमन्त्री खनालले बताए ।
मौरिससमा भइरहेको नवौँ हिन्द महासागर सम्मेलनमा भाग लिने क्रममा भएको साइडलाइन वार्ताका क्रममा खासगरी नेपालको निर्वाचन र त्यसपछि बनेको नयाँ सरकारका प्राथमिकताका बारेमा कुराकानी भएको थियो ।

त्यस क्रममा आफूले भारतीय विदेशमन्त्रीसँग नयाँ सरकारले नेपालको परराष्ट्र नीतिसँगै नेपाल–भारत सम्बन्धका विविध आयामबारे समीक्षा गरिरहेकोबारे जानकारी दिएको परराष्ट्रमन्त्री खनालले बताए ।
‘नेपाल भारतबीच अत्यन्तै गहिरो राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध छ । त्यसबारे हामीले अध्ययन गरिरहेका छौं । त्यस क्रममा नेपालले दुई देशको सम्बन्धका प्राथमिकताहरू निर्धारण गर्ने छ,’ मन्त्री खनालले भने, ‘त्यो सकेपछि दुई देशबीच विभिन्न संयन्त्रमार्फत वार्ता तथा छलफल गरौं । सँगसँगै उच्चस्तरीय भ्रमणको तयारी पनि गरौं भन्ने कुरा मैले राखेँ ।’
उक्त विषयलाई भारतीय विदेशमन्त्री जयशंकरले पनि सकारात्मक रुपमा लिएको उनले बताए । ‘त्यसलाई भारतीय विदेशमन्त्री जयशंकरले पनि सकारात्मक रुपमा लिनुभयो,’ मन्त्री खनालले भने ।
नेपाल र भारतबीच ४० वटाभन्दा धेरै विभिन्न दुईदेशीय संयन्त्रहरू छन् । ती संयन्त्रहरूलाई सक्रिय बनाएर दुई देशबीचको संवाद र सहकार्यलाई सघन बनाउने सहमति दुई मन्त्रीबीच बनेको पनि उनले बताए ।
भारतीय विदेश सचिवको नेपाल भ्रमण हुने
प्रधानमन्त्रीस्तरको भ्रमण हुनुअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हुने भएको छ ।
नेपाल सरकारले आफ्ना प्राथमिकताहरू निर्धारण गरिसकेपछि परिचयात्मक भ्रमणसँगसँगै उच्चस्तरीय भ्रमणको पनि तयारी हुने गरी आफूले विदेश सचिव मिश्रीलाई नेपाल भ्रमणमा पठाउने जानकारी जयशंकरले दिएको मन्त्री खनालले बताए ।
‘हामी नयाँ प्राथमिकताका साथ तयार भएपछि सबैभन्दा पहिला भारतीय विदेश सचिवको नेपाल भ्रमण हुने सम्भावना छ, त्यो भ्रमण सद्भावना भ्रमण हुनेछ, सँगसँगै उच्चस्तरीय भ्रमणको प्राविधिक तयारी समेत हुनेछ,’ मन्त्री खनालले भने, ‘त्यसपछि मात्रै दुई पक्षबीचको सहमतिमा प्रधानमन्त्रीको भ्रमणको मिति तय हुनेछ । तत्कालै भ्रमण हुने होइन ।’
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेश सचिवको नेपाल भ्रमण एक महिनाभित्रै हुन सक्नेछ । विदेश सचिवले नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो दिने र प्रधानमन्त्रीको भ्रमणअघि मन्त्री खनालको भारत भ्रमण हुनसक्ने सम्भावना पनि रहेको मन्त्रालय स्रोतले बतायो ।
‘प्रधानमन्त्रीको भ्रमणअघि त्यसको तयारीका लागि परराष्ट्र मन्त्रीले सम्बन्धित देशको भ्रमण गर्ने पुरानै प्रचलन हो । त्यसो हुँदा अहिले पनि त्यो हुने सम्भावना छ । तर, तय भइसकेको छैन,’ मन्त्रालय स्रोतले बतायो ।
सम्मेलनको साइडलाइनमा मन्त्री खनालको भुटान, बंगलादेश, मौरिसस, सिंगापुरलगायत मुलुकका विदेशमन्त्रीसँग पनि भेट भएको थियो ।
प्रतिक्रिया 4