+
+
Shares

मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति : सुनदेखि सामाजिक सञ्जालसम्म

१७ औं दिनमा सम्झिए चुनावी वाचा

आइतबार सार्वजनिक भएका मन्त्रीहरूका सम्पत्ति विवरण हेर्दा अधिकांश मन्त्रीहरूको आर्थिक अवस्था उच्च र केहीको मध्यम देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते २२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा बनेको नयाँ सरकारले १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
  • प्रधानमन्त्री शाहले आफ्नो मुख्य आय स्रोत सामाजिक सञ्जाल रहेको र बैंक ब्यालेन्स १ करोड ४६ लाख रहेको खुलाएका छन्।
  • गृहमन्त्री सुधन गुरुङको ८९ तोला सुन र ४ करोड ३१ लाख बराबरको शेयर रहेको विवरण सार्वजनिक भएको छ।

२९ चैत, काठमाडौं । वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक पदधारण गर्ने व्यक्तिको सम्पत्ति पारदर्शी हुनुपर्ने माग हुँदै आएपनि विगत बनेका केही सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सरकारलाई बुझाएका मात्र थिए सार्वजनिक गरेका थिएनन् ।

रास्वपाले चुनावी वाचापत्रमै सार्वजनिक पद धारण गर्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता गरेको थियो ।

सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीमा २०४७ सालपछिको सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने निर्णय समेत गरेको छ । पहिले पदमा बसेकाहरूको सम्पत्ति समेत सार्वजनिक गर्ने सरकारको निर्णय रहेकाले उनीहरुले विवरण बुझाएर सार्वजनिक गरेका हुन् ।

भ्रष्टाचार निवारण ऐजमा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । तर यसरी बुझाएको विवरण सार्वजनिक गर्नैपर्ने कानुनी बाध्यता छैन । त्यसैले विवगतका धेरै वटा मन्त्रिपरिषद्ले विवरण बुझ्ने तर सार्वजनिक गर्न हिच्किचाउँथे ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूको पनि विवरण सार्वजनिक भएको थिएन ।

आइतबार सार्वजनिक भएका मन्त्रीहरूका सम्पत्ति विवरण हेर्दा अधिकांश मन्त्रीहरूको आर्थिक अवस्था उच्च र केहीको मध्यम देखिएको छ । घरजग्गा, शेयर, सुनचाँदी गरगहनादेखि पशुधनसमेतको विवरण उनीहरूले सार्वजनिक गरेका छन् । यी विवरण हेर्दा मन्त्रिपरिषद्का सदस्यहरूको व्यक्ति र पारिवारिक आर्थिक अवस्था उन्नत देखिन्छ ।

प्रधानमन्त्रीको मुख्य सम्पत्ति : सामाजिक सञ्जाल

सम्पत्तिको परिभाषाभित्र अब घरजग्गा, बैंक ब्यालेन्स, सुनचाँदी गरगहना मात्र रहेनन् । सामाजिक सञ्जालका फलोअर्स पनि अब सम्पत्तिको रुपमा दर्ज भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले नै आफ्नै सम्पत्ति विवरणमा आफ्नो मुख्य कमाईकोस्थल समाजिक सञ्जाललाई देखाएका छन् । प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । यसको स्रोत समाजिक सञ्जाल हो ।

उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । उनको व्यक्तिगत नाममा घर जग्गा छैन । उनको आमा र बुवाको नाममा भने पर्याप्त जग्गाजमिन छ ।

उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ ।

सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । आमाको नाममा काठमाडौंमा ५ आना जग्गा घर,धनुषामा डेढ बिगाहामा घर र महोत्तरीमा बाबुको नाममा ९ बिगाहा जग्गा रहेको छ । प्रधानमन्त्री शाहले शेयरको विवरण राखेका छैनन् ।

गृहमन्त्री सुधन गुरुङ : ८९ तोला सुन, लाखौंको शेयर

गृहमन्त्री सुधन गुरुङको ८९ तोला सुन छ । उनको नामा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ ।

गृहमन्त्री गुरुङका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ । गृहमन्त्री गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ । उक्त शेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।

त्यस्तै, सबैभन्दा बढी लगानी ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ मा भएको उनले एकमुष्ट उल्लेख गरेका छन् ।

व्यवसायीक र पैत्रिक सम्पत्ति स्रोत देखाउँदै उनले उल्लेख गरेको विवरण अनुसार, ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ मा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।

एड्भेन्चर भिल्ला प्रालिमा पनि उनले आफ्नो शेयर रहेको उल्लेख गरेका छन् । जहाँ ७० हजार थान शेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

अर्थमन्त्री वाग्ले : चार घर, कुस्त बैंक ब्यालेन्स

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् । लामो समय विदेशमा बसेर जागिर गरेका वाग्ले आफ्नो सम्पत्तिको मुख्य स्रोत नै त्यही देखाएका छन् । उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको खुलाएका छन् ।

आज सार्वजनिक सम्पत्ति विवरणमा अर्थमन्त्री वाग्लेले पारिवारिक र रोजगारीबाट कमाएको रकमबाट जोडेको ४५ तोला सुन रहेको खुलाएका हुन् ।

त्यस्तै उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् ।

उनले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् । उनले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको पनि बताएका छन् ।

त्यस्तै उनले ऋण पनि छ । ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ र स्ट्याण्डर्ड चार्टड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर पनि तिरिसकेको उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनाल : बाबुको नाममा घरजग्गा, आफ्नो नाममा शेयर

परराष्ट्रमन्त्री शिशिर खनालको घरजग्गा बुवा सूर्यभक्त खनालको नाममा रहेको छ । उनको बुवाको नाममा काठमाडौंमा ६ आनाको घर रहेको छ । त्यस्तै बुवाकै नाममा तनहुँ नवलपुर र नेपालगञ्जग गरी २८ रोपनी र २ कठ्ठा जग्गा छ । उनको बैंक ब्यालेन्स- १३ लाख रुपैया छ भने सुन मात्र २२ तोला छ । श्रीमति र आफ्नो नाममा विभिन्न कम्पनीमा शेयर उनको शेयर छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ : सुन १५ तोला ६४ लाख बैंक ब्यालेन्स

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् ।

सार्वजनिक सम्पत्ति विवरणमा उनले सुन र चाँदी पैतृक र विवाहबाट प्राप्त भनेका छन् । उनले विभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।

त्यस्तै सेयरमा १ ४५ लाख ४८ हजार ४२० रुपैयाँ रहेको विवरण छ । उनीसँग गाडी, स्कुटर र इभी गाडी रहेको पनि उल्लेख छ ।

कानुनमन्त्री सोबिता गौतम : १० लाख बैंक ब्यालेन्स

कानुनमन्त्री सोविता गौतमले आफ्नो सम्पत्ति विवरणमा काठमाडौं र चितवनमा दुई वटा घर रहेको उल्लेख गरेकी छिन् । श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौंमा र सासु आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको उनले उल्लेख गरेकी छिन् ।

सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बैंक ब्यालेन्स स्वरुप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन् ।

त्यस्तै, उनले दुईवटा बैंकबाट ऋण पनि लिएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । जस अनुसार, गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको उल्लेख गरेकी छिन् ।

एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख ऋण लिएको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।

उनले १५ तोला सुन, ९ तोला चादी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।

उनले आफ्नो सम्पत्ति विवरणमा सवारी साधन खरिद गरेको विषय पनि उल्लेख गरेकी छिन् । राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख ऋण लिएर बा ०१–०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको उल्लेख गरेकी छिन् । उक्त सम्पत्ति प्राप्तिको स्रोत ऋण र तलब भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

श्रीमान् गृहेन्द्र घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ । उक्त गाडी ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरेर खरिद गरिएको विवरणमा उल्लेख छ ।

महिला मन्त्री सीता बादी : १८ तोला सुन, २० कुखुरा

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले घर सुनदेखि पशुधनसम्मको विवरण खुलाएकी छन् ।

उनका २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ । मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

उनका श्रीमान्‌सँग पल्सर मोटरसाइकल रहेको छ । नगद ५० हजार रुपैयाँ र बैंकमा उनी र श्रीमान्‍को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ । उक्त सुन-चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।

भौतिकमन्त्री सुनील लम्साल : ९० लाख बैंक ब्यालेन्स

भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स छ ।सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ ।

उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको उल्लेख गरेका छन् ।

संघीय मामिलामन्त्री प्रतिभा रावल : काठमाडौंमा जग्गा, श्रीमान्‌को मुख्यस्रोत

२९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको काठमाडौंमा जग्गा छ । यसको स्रोत श्रीमानको आय भनिएको छ ।

काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेका उल्लेख छ । आफूसँग २५ तोला सुन रहेको र स्रोत स्वआर्जन तथा परिवारको उपहार भनेकी छन् ।

उनले विभिन्न बैंकमा २४ लाख रुपैयाँ बढी रकम बचत रहेको र उक्त रकम श्रीमानको आयबाट भएको उल्लेख गरेकी छन् । उनले २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको पनि उल्लेख गरेकी छन् । त्यस्तै ४४ लाखको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

शिक्षामन्त्री सस्मित पोखरेल : व्यक्तिगत र परिवारका नाममा २० करोड बढीको अचल सम्पत्ति

सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारीमा रहेका सस्मित पोखरेलले व्यक्तिगत र परिवारको नाममा रहेको संयुक्त अचल सम्पत्तिबारे उल्लेख गरेका छन् ।

उनले बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् ।

उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ । उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् ।

बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रुपमा राखेका छन् ।

आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् ।

उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन् । हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ ।

बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् ।उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ ।

कृषिमन्त्री गीता चौधरी : ५ तोला सुन १ लाख बढी बैंक ब्यालेन्स

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजारको घडी लाउने गरेको पाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ । उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ । ५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

मन्त्री चौधरीले ऋण काढेर एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुटर खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ । स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?