News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले २०८३ मा जापानको आइची नागोयामा हुने २०औं एसियाली खेलकुदमा सहभागिता जनाउने तयारी गरिरहेको छ ।
- नेपालको फुटबल राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा छ र फिफाको निलम्बन नजिक पुगेको छ ।
- खेलकुद मन्त्रालयलाई शिक्षा, प्रविधि तथा विज्ञान मन्त्री सस्मित पोखरेलले सम्हालेका छन् र खेलकुद मन्त्रालय शिक्षामा गाभिने चर्चा छ ।
१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८३ को आगमनसँगै सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, जोश, ऊर्जा र आशा जागेको छ । हरेक वर्ष नेपाली खेलकुदमा पनि नयाँ वर्षमा नयाँ आशा, उत्साह र अपेक्षाका साथ खेलकुदलाई अझ उत्कृष्ट बनाउने लक्ष्य हुनेछ ।
वर्ष २०८३ मा नेपालले विश्वकप जस्तो ठूलो प्रतियोगिता त खेल्ने छैन तर एसियाको ओलम्पिक मानिने २०औं एसियाली खेलकुद यसै वर्ष जापानको आइची नागोयामा हुनेछ ।
यस वर्ष नेपालले खेल्ने यो सबैभन्दा ठूलो खेलकुद मेला हुनेछ । तर यस पटक एसियन गेम्समा सहभागी भई प्रतिस्पर्धा गर्नका लागि क्वालिफायर्स खेल्नुपर्ने देखि र्याङ्किङमा समावेश हुनुपर्ने प्रावधान रहेकोले नेपालबाट विगतमा भन्दा स्वभाविक रुपमा कम खेल र खेलाडी सहभागि हुने पक्का छ । तर त्यसका लागि पनि सरकारले बजेटको व्यवस्था गर्नुपर्नेछ ।
अहिले सम्म ३२ खेलका ४०० भन्दा बढी खेलाडीको नाम २०औं एसियाली खेलकुदको लागि दर्ता भएपनि कति खेलका खेलाडीले प्रतिस्पर्धा गर्छन् भन्ने अन्तिम टुङ्गो लागेको छैन ।
राष्ट्रिय खेलकुद परिषदले यसअघि नै स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने गरी मिसन २६ को सुरुवात गरेको थियो । तर मिसन २६ पनि निरन्तर सञ्चालन हुन सकेको छैन । यसको बारे विस्तृतको अर्को कथा नै बन्छ ।
यद्यपी नेपालले यस वर्ष खेल्ने ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको बारेमा पनि केही चर्चा गर्न आवश्यक छ । एसियाली खेलकुद सँगै विभिन्न व्यक्तिगत खेलमा विश्व च्याम्पियनसिपदेखि एसियन च्याम्पियनसम्म नेपालका विभिन्न खेलाडीहरूले खेल्नेछन् ।
यस्तै नेपालको चर्चित खेलहरू क्रिकेट, फुटबल र भलिबलमा पनि यस वर्ष क्षेत्रिय रुपमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुनेछन् । जसमा नेपालले सहभागिता जनाउने निश्चित छ । क्रिकेटमा लिग टु को सिरिज देखि विभिन्न बाइलाटरल सिरिजहरू हुनेछन् । भलिबलमा पनि काभा रिजनको प्रतियवगितामा नेपालले सहभागिता जनाउने देखि आयोजना पनि गर्नेछ ।
तर ठीक यसैबेला नेपालको चर्चित खेल फुटबल राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा छ र फिफाको निलम्बन नजिक पुगेको छ ।
यदि फिफाले निलम्बन गरेमा नेपालले आउँदै गरेको महिला साफ च्याम्पियनसिप देखि पुरुषको साफ च्याम्पियनसिपम्म गुमाउनेछ । त्यसैले अहिले नेपाली फुटबल संकटमा छ । फुटबललाई जोगाउने हो भने अहिले सरोकारवाला सबै निकायले आफ्टो हडलाई छाडेर स्वार्थ त्यागेर अगाडि बढ्नुपर्छ ।
***
२०८२ सालमै जेनजी आन्दोलन र आमनिर्वाचन पनि अहिले नेपालमा युवा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ । तर युवाको आन्दोलनको जगमा बनेको सरकारले नै युवा र देशको नाम अन्तर्राष्ट्रिय स्तर फैलाउने खेलकुदलाई वेवास्ता गर्दै छुट्टै मन्त्री बनाएको छैन ।
शिक्षा, प्रविधि तथा विज्ञान मन्त्री सस्मित पोखरेललाई युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ र खेलकुद मन्त्रालय शिक्षामा गाभ्ने चर्चा समेत छ । अझ पोखरेल नेपाल सरकारको प्रवक्ता समेत बनेपछि अहिले उनको प्राथमिकतामा खेलकुद खासै पर्न सकेको छैन ।
गत वर्ष नै राखेप सदस्य सचिव टंकलाल घिसिङको कार्यकाल सकिएपछि नयाँ सदस्य सचिव नियुक्ति प्रक्रिया नै सुरु भएको छैन । तर खेलकुद मन्त्रालयबाट राम चरित्र मेहता आएर राखेप सदस्य सचिवको बागडोर सम्हालिरहेका छन् । उनी अझ कति समयसम्म त्यो पदमा रहन्छन् टुङ्गो छैन ।
त्यसैले अहिले नेपाली खेलकुद हाँक्ने मुख्य व्यक्ति नै छैन भन्दा हुन्छ । अर्कोतर्फ गत वर्ष नेपाल ओलम्पिक कमिटीमा चर्किएको विवाद अहिले केही साम्य भएको छ तर ओलम्पिक, एसियन गेम्स जस्ता मल्टी स्पोर्ट्स इभेन्टमा ओलम्पिक कमिटीकै समन्वयमा सहभागिता निश्चित हुने हुनाले सरकार र ओलम्पिक कमिटीबीच समन्वय हुनु जरुरी छ ।
अर्कोतर्फ नेपालको प्रतिभावान् खेलाडीहरूको पहिचान गर्दै भविष्यमा स्टार जन्माउने वृहत राष्ट्रिय खेलकुद पछिल्लो दुई वर्षमा आयोजना हुन सकेन । १०औं राष्ट्रिय सकिएर २०८३ सालमा ११औं को तयारी हुनुपर्ने बेला भइसक्दा पनि १०औं कहिले हुने टुङ्गो छैन । यस वर्ष १०औं राष्ट्रिय खेलकुद पनि आयोजना गर्नुपर्ने बाध्यता छ ।

***
फेरि कुरा नयाँ वर्ष र नयाँ आशाकै । नयाँ वर्ष २०८३ नेपाली खेलकुदका लागि केवल एउटा क्यालेन्डर परिवर्तन मात्र नभई खेलकुदमा रहेको सोच, नीति र व्यवहार, व्यवस्थापन लगायत क्षेत्रमा परिवर्तन ल्याउने एउटा अवसर बन्नुपर्छ ।
यदि सही तरिकाले योजना बनाउने देखि नेतृत्व र व्यवस्थापन गर्ने अनि बजेटदेखि लगानीसम्मका कुराहरूको सही व्यवस्थापन हुने हो भने नेपाली खेलकुदका लागि यो वर्ष महत्वपूर्ण बन्न सक्छ ।
नेपाली खेलकुदमा अथाह सम्भावना छ । ट्यालेन्टको कुनै कमी छैन । कमी छ त सोच, नीति, बजेट, व्यवस्थापन, पूर्वाधार, ग्रासरुट अनि लङ टर्म प्लानको । जसले गर्दा नेपाली खेलकुदले अपेक्षा अनुसारको प्रगति गर्न सकेको छैन ।
सम्भावनासँगै यहाँ विभिन्न चुनौतीहरू पनि छन् । खेलकुदमा राजनीति हुने र राजनीतिक कार्यकर्ताहरू हावी हुने अर्को समस्या छ । यी सबै विषयमा ध्यान दिएर काम गर्ने हो भने नेपाली खेलकुदले ठूलो सफलता हात पार्न सक्छ ।
अन्तर्राष्ट्रिय स्तरमा केही उल्लेखनीय उपलब्धिहरू हासिल भए पनि समग्र संरचना, व्यवस्थापन, पूर्वाधार र दीर्घकालीन योजना अभावका कारण अपेक्षित प्रगति हुन सकेको छैन । त्यसका लागि माथि भनेका विषयहरूमै ध्यान दिनुपर्छ ।
नेपाली खेलकुदमा साँच्चै विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रगती गर्ने नै हो भने केही कुराहरूमा सुधार गर्नुपर्नेछ । नेपालको खेलकुद विकास गर्ने हो भने खेलकुदमा बलियो प्रशासनिक संरचना हुनुपर्छ, जुन राजनीतिबाट टाढा हुनुपर्छ ।
यस बाहेक देशभर भएका खेल पूर्वाधारको अपग्रेड गर्दै सबै खेलका लागि खेल्न लायक पूर्वाधार विकास हुनुपर्छ । धेरै खेलको अझै पनि गुणस्तरिय मैदान, प्रशिक्षण केन्द्र र आधुनिक उपकरणहरूको अभाव छ ।

प्रशिक्षण र प्रविधिको प्रयोगमा सुधार ल्याउनुपर्छ । आधुनिक खेलकुदमा प्रविधि, डाटा विश्लेषण, खेल विज्ञान र मानसिक तयारी अत्यन्त महत्वपूर्ण छन् । नेपालले पनि अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रणाली अपनाउनुपर्छ ।
खेलाडीहरूको सम्मान र सुरक्षा सुनिश्चित गर्न आवश्यक छ । नेपालमा धेरै खेलाडीहरूले आफ्नो जीवन खेलकुदमा समर्पित गर्दा पनि आर्थिक असुरक्षा, स्वास्थ्य बीमा अभाव र भविष्यको अन्योलको सामना गर्नुपर्छ ।
युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नु पनि अत्यन्त आवश्यक छ । आजको डिजिटल युगमा धेरै युवाहरू शारीरिक गतिविधिभन्दा प्रविधिमा बढी निर्भर हुँदै गएका छन् ।
नेपालमा खेलकुदलाई व्यावसायिक बनाउने अवसर पनि बढ्दै गएको छ । क्रिकेट, फुटबल, भलिबल, कबड्डी जस्ता खेलहरूमा सुरु भइसकेको व्यावसायिक लिगलाई अझ बढाउनुपर्छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र सहभागिता पनि खेलकुद विकासको महत्वपूर्ण हिस्सा हो । नेपाली खेलाडीहरूले बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाए उनीहरूको अनुभव र आत्मविश्वास बढ्छ ।
पछिल्लो समयमा नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै उपलब्धी हासिल गरेका महिला खेलकुदको विकास पनि अर्को महत्वपूर्ण क्षेत्र हो । तर अझै पनि उनीहरूले पर्याप्त अवसर, सुविधा र समर्थन पाउन सकेका छैनन् ।
निजी क्षेत्रको लगानी बिना खेलकुदको दिगो विकास सम्भव छैन । कर्पोरेट हाउसहरूले खेलकुदमा लगानी गर्न प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ ।
खेलकुद केवल नतिजा (जित र हार)को मात्र नभई राष्ट्रको पहिचान, गौरव र एकताको माध्यम हो । जब नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्छन् त्यसबेला त्यो व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण देशको गौरव हुन्छ र सारा नेपालले गर्व गर्नेछ । त्यसैले खेलकुदलाई राष्ट्रिय प्राथमिकतामा राख्नु अत्यन्त आवश्यक छ ।
नयाँ वर्ष २०८३ हामी सबैका लागि नयाँ संकल्प गर्ने समय हो । नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउन सरकार, खेल संस्था, खेलाडी, प्रशिक्षक, निजी क्षेत्र देखि सम्पूर्ण नेपालीजनले संयुक्त पहल गर्नुपर्छ ।
आउने वर्ष नेपाली खेलकुदले नयाँ उचाइ हासिल गरोस । नयाँ इतिहास लेखियोस् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुद अझ धेरै चम्कियोस् । नयाँ वर्ष २०८३ को शुभकामना !!!
प्रतिक्रिया 4