+

‘बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ १९ वैशाखमा काठमाडौंमा हुने

२०८३ वैशाख  ३ गते २२:२४ २०८३ वैशाख ३ गते २२:२४
‘बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ १९ वैशाखमा काठमाडौंमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिता र इकोनोमिक सिम्पोजियमको नवौँ संस्करण वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा आयोजना हुने भएको छ।
  • भारतका नीति आयोगका पूर्वसीईओ अमिताभ कान्त कि नोट स्पिकरका रूपमा कार्यक्रममा सहभागी हुनेछन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष सम्बोधन गर्नेछन्।
  • प्रतियोगितामा एकसय बढी खेलाडी सहभागी हुनेछन् र मुख्य विजेताले सुनको बल प्राप्त गर्नेछन् भने होल इन वान खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार दिइनेछ।

३ वैशाख, काठमाडौं । ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौं संस्करण र ‘इकोनोमिक सिम्पोजियम’ यसवर्ष काठमाडौंमा गरिने भएको छ ।

बाह्रखरी मिडियाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता र आर्थिक परिसंवाद यही वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जानकारी गराएको हो ।

यस संस्करणमा भारतका प्रखर प्रशासक अमिताभ कान्त ‘कि नोट स्पिकर’का रूपमा आउने भएका छन् । उनी एमआईआईटी युनिभर्सिटीका चान्सलर र भारतको नीति आयोगका पूर्वसीईओ हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘इकोनोमिक सिम्पोजियम’मा  विशेष सम्बोधन गर्ने र निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले जानकारी दिए ।

‘यो कार्यक्रमको मुख्य उद्देश्य गल्फ खेलसँगै देशको आर्थिक अवस्थाबारे विचार मन्थन गर्नु हो । कर्पोरेट क्षेत्रका व्यक्तिहरूलाई गल्फमार्फत आकर्षित गर्दै नेपालको अर्थतन्त्रका विषयमा चिन्ता र चासो राख्ने व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याउनु यसको लक्ष्य रहेको छ,’ प्रधान सम्पादक प्रधानले भने ।

गल्फसँगसँगै आर्थिक परिसंवाद गरेर खेलकुद र अर्थतन्त्रलाई सँगै लैजान खोजिएको उनले बताए ।

पत्रकार सम्मेलनमा  एनसेलका बिजनेस सेल्स हेड इन्टरप्राइजका सुलभ विष्टले ‘बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ को यसअघिका संस्करण निकै सफल भएको भन्दै यसले नयाँ आयाम थप्ने बताएका छन् । ‘एनसेलले बाह्रखरीसँग लामो समय पार्टनरसीप गरेको छ । यो स्पोन्सरसीप मात्रै होइन, रणनीतिक पनि हो,’ उनले भने, ‘यो गल्फ इभेन्ट हो, तर सबै निजी क्षेत्र त्यहाँ हुन्छ ।’

एनसेल बिजनेसले डेटा सेन्टर क्लाउड, साइबर सेक्युरिटीजस्ता नयाँ सेवा थपिरहेको पनि उनले जानकारी दिए ।

नेपालका निम्ति बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बाह्रखरी मिडियाले आयोजना गर्ने गरेको गल्फ प्रतियोगिता र आर्थिक परिसंवादले खेल र अर्थतन्त्रलाई सहज तरिकाले जोडेको बताइन् । उनले व्यापारमा ‘स्ट्रेस’ भइरहेकालाई यस्ता कार्यक्रमले ‘रिफ्रेसमेन्ट’ पनि हुने बताइन् । बाह्रखरीले गल्फ र अर्थतन्त्रलाई जोड्ने काम गरेको उनले उल्लेख गरिन् ।

बीवाईडीले यसपटकसहित प्रतियोगितामा लगातार तीन वर्ष सहकार्य गरेको उनले बताइन् । अबका दिनमा पनि सहकार्य जारी रहने उनले विश्वास व्यक्त गरिन् ।

यस्तै  गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले सरकारले खेलकुद क्षेत्रलाई उद्योगका रूपमा विकास गरे पर्यटनलाई समेत ठूलो आधार हुने बताए । उनले यसअघिका सरकारले खेल क्षेत्रलाई चिन्न नसकेको जनाए । खेलको विकास हुँदा त्यसले पर्यटनमा समेत ठूलो टेवा पुग्ने उनको भनाइ छ ।

‘विश्वमा खेलकुद आज निकै ठूलो उद्योग भएको छ । अर्बौं डलरको उद्योग भइसकेको छ । यो विकासको माध्यम हो भन्ने कुरामा यसअघिका सरकारले चासो दिएको थिएन,’ घिमिरेले भने, ‘नयाँ सरकारसँग ठूलो आशा छ । खेल उद्योगलाई अहिलेका युवा सरकारले बुझेको हुँदा नेपालजस्तो रमणीय ठाउँमा खेलकुद थपिँदा पर्यटनलाई ठूलो राहत हुन्छ ।’

नवौँ संस्करणमा भारतका प्रख्यात अर्थशास्त्री ‘कि नोट स्पिकर’ रहने हुनाले दीर्घकालसम्म यसको ठूलो प्रभाव पर्ने उनले उल्लेख गरे ।

‘यसअघिका आठ संस्करण निकै सफल भएको थियो र यसले ठूलो आयाम थपेको थियो,’ उनले भने, ‘इकोनोमिक सिम्पोजियममार्फत विदेशी आर्थिक क्षेत्रका हस्ती समेत ल्याएर गरिएको कार्यक्रमले दीर्घकालीन रूपमा ठूलो असर पार्छ ।’

नेपाल डिस्ट्रिलरीअन्तर्गत खुकुरी रमको ब्रान्ड म्यानेजर सुदीक्षा अधिकारीले बाह्रखरी गल्फ तथा ‘इकोनोमिक सिम्पोजियम’मार्फत सरकारलाई घचघच्याउन सहज हुने बताइन् । बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा जलविद्युत्, कृषि, पर्यटनजस्ता विषयमा हुने छलफलले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनले उल्लेख गरिन् । यस्ता कार्यक्रममार्फत सरकारसम्म आफ्ना कुरा पुर्‍याउन सहज हुने उनले बताइन् ।

गोकर्ण गल्फ क्लबका निर्देशक एवं नेपाल गल्फ संघका सचिव दीपक आचार्यले बाह्रखरी मिडियाले यस प्रतियोगितालाई निरन्तरता दिएर एउटा उदाहरणीय कार्य गरेको बताए । उनका अनुसार यस पटकको प्रतियोगितामा एकसय जना बढी आमन्त्रित खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्, जसमा महिला, पुरुष र ६० वर्ष माथिका सिनियर खेलाडीहरूको सहभागिता रहनेछ ।

यस प्रतियोगिताको मुख्य विजेताले सुनको बल प्राप्त गर्नेछन् । विशेष आकर्षणको रूपमा ‘होल इन वान’ गर्ने खेलाडीका लागि बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ ।

आचार्यले विगतका वर्षहरूमा यो पुरस्कार कसैले जित्न नसकेको उल्लेख गर्दै यस वर्ष कसैले गाडी चढ्ने सौभाग्य पाओस् भन्ने कामना समेत व्यक्त गरे ।

आचार्यले नेपालमा गल्फ पर्यटकको महत्वबारे प्रकाश पार्दै यसलाई राज्यले नै अपनत्व लिनुपर्नेमा जोड दिएका थिए । उनले विश्व बजारको उदाहरण दिँदै भने, ‘भियतनामले गत वर्ष गल्फ टुरिजमबाट मात्रै १.५ बिलियन डलर आर्जन गरेको छ । नेपालमा औसत पर्यटकले दैनिक २० देखि ३० डलर खर्च गर्दा, एक लक्जरी गल्फ पर्यटकले दैनिक ५०० देखि १००० डलरसम्म खर्च गर्ने क्षमता राख्छन् ।’

नेपालको अनुकूल मौसम र यहाँको सुन्दरताका कारण गल्फ पर्यटनमार्फत देशले ठूलो आर्थिक फड्को मार्न सक्ने उनको दाबी छ ।

यस प्रतियोगिताले देशका विशिष्ट उद्यमी र व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई नेटवर्किङको अवसर प्रदान गर्ने र नेपाललाई विश्वकै उत्कृष्ट गल्फ गन्तव्यका रूपमा चिनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका थिए ।

बाह्रखरी गल्फ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय