पूँजीवाद घन्काइरहेको समाजको
नेपथ्यमा
दुई दशकपछि
कुनै आमा–छोरीको भेट भयो।
काठमाडौंको सुदूर सीमामा
छोरीको कोठा छ
र छ एउटा
पुरानो दराज,
थोत्रो–मोथ्रो कपडाको एक थान भीडमा
लुकेको छ
उसको पर्स।

पर्समा खचाखच छन्
एटिएम कार्ड, विद्यार्थी आईडी,
पत्रकार, अधिवक्तादेखि डेन्टल कार्ड।
र एक पोल्टामा छ
१०० रुपैयाँ,
जसमा
कालो रङको मसीले
कुँदिएको छ
“आमा”।
छुट्टिने बेलामा आमाले दिएकी थिइन्
१०० रुपैयाँ।
भिजेका आँखा,
चिसो मन र
कामेका हातले
छोरीले अङ्कमाल गरेकी थिइन्
आमाको आशीर्वाद।
पर्समा आमाले दिएको
१०० रुपैयाँ मात्रै हुँदा
कैयौं पटक हिंडेकी छे
मध्यरातसम्म,
किलोमिटरपछि किलोमिटर।
उसलाई
पानीको प्यास
नलागेको कहाँ हो र!
उसलाई
चियाको बास्नाले
नतानेको कहाँ हो र!
र यसरी नै
कैयौं पटक रित्तो हिंड्नेछे
र त बच्नेछ
“नेपाल सरकारको जमानत प्राप्त
यसको रुपैयाँ भुक्तानी माग्न आएमा
नेपाल राष्ट्र बैंकबाट
रुपैयाँ १०० तुरुन्त पाइने”
लेखिएको कागजको नोट।
पूँजीवादको चमकधमकको
नेपथ्यमा
फेरि
कुनै अबोध बुबा–छोराको भेट हुनेछ,
र छुट्टिने बेलामा बुवाले दिएको
१०० रुपैयाँ
आशीर्वाद छोराले लिनेछ,
र गुमनाम हुनेछन्
नेपथ्यमा—
यतै कतै हाम्रो माझ,
यतै कतै हाम्रो माझ।
प्रतिक्रिया 4