News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले स्पानिस पाँचौ डिभिजन क्लब कोर्नेला खरिद गरी नयाँ मालिक बनेका छन् ।
- कोर्नेलाले मेस्सीको आगमनले खेलकुद र संस्थागत विकासलाई अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ ।
- कोर्नेलाको स्टेडियम क्षमता १,५०० दर्शक रहेको छ भने यसले स्थानीय प्रतिभा विकासमा जोड दिने बताइएको छ ।
४ वैशाख, काठमाडौं । अर्जेन्टिनी लेजेन्ड फुटबलर लियोनल मेस्सी स्पानिस क्लब कोर्नेलाको नयाँ मालिक बनेका छन् । ३८ वर्षीय मेस्सीले स्पेनको पाँचौ डिभिजनको क्लब कोर्नेला खरिद गरेका हुन् ।
मेसी हाल अमेरिकामा मेजर लिग सकरमा इन्टर मायमीबाट खेल्दै आएका छन् । स्पानिस क्लब बार्सिलोनामा रहँदा उनले चार पटक च्याम्पियन्स लिग र १० ला लिगा उपाधि जितेका थिए ।
आठ पटकको बालोन डे’ओर अवार्ड विजेता मेसीले क्लब खरिद गर्ने प्रक्रिया पूरा गरेको कोर्नेलाले जनाएको छ । ‘यो कदमले मेस्सीको बार्सिलोनासँगको घनिष्ठ सम्बन्ध र क्याटालोनियामा खेलकुद तथा स्थानीय प्रतिभा विकासप्रतिको उनको प्रतिबद्धतालाई अझ मजबुत बनाउँछ’ क्लबले भनेको छ ।
१३ वर्षको उमेरमै अर्जेन्टिनाबाट स्पेन गएका मेस्सीले सन् २००४ अक्टोबरमा १७ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गरेका थिए ।
त्यसपछि उनले क्लबका लागि ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेपछि सन् २०२१ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लागे भने सन् २०२३ देखि इन्टर मायमीमा आबद्ध छन् ।
यस्तै कुनै बेला ला लिगामा मेसीको प्रतिद्वन्दीको रुपमा रहेका रियल मड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोले फेब्रुअरीमा स्पेनकै युडी अल्मेरियाको २५ प्रतिशत सेयर किनेका थिए । रोनाल्डो हाल साउदी अरेबियाको अल नासरबाट खेल्छन् ।
कोर्नेलाको स्टेडियम क्षमता १,५०० दर्शक रहेको छ । हाल आर्सनलका गोलकिपर डेभिड राया र बार्सिलोनाको पूर्व खेलाडी तथा इन्टर मायमीका हालका डिफेण्डर जोर्डी अल्बा पनि कोर्नेलाको युथ सिस्टमबाट आएका हुन् ।
‘लियो मेस्सीको आगमनले क्लबको इतिहासमा नयाँ अध्यायको सुरुवात गरेको छ । जसले खेलकुद र संस्थागत दुवै पक्षमा विकासलाई अगाडि बढाउने, आधारहरूलाई मजबुत बनाउने, र ट्यालेन्टमा लगानी जारी राख्ने लक्ष्य राखेको छ’ कोर्नेलाले जनाएको छ ।
यस्तै यो परियोजना दीर्घकालीन दृष्टिकोण र रणनीतिक योजनाद्वारा निर्देशित रहेको र यसले क्लबको महत्वाकांक्षा, दिगोपन, र लोकल रुट्ससँगको बलियो सम्बन्धलाई संयोजन गर्ने क्लबले जनाएको छ ।
प्रतिक्रिया 4