News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिन हिरासतपछि रिहा भए पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।
- कार्की आयोगले ओली र लेखकलाई दोषी देखाउँदै मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरेको र मन्त्रिपरिषद्ले कार्यान्वयन गरेको थियो।
४ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक हिरासत मुक्त भए पनि अनुसन्धान भने जारी रहेको प्रहरीले बताएको छ ।
१३ दिनको हिरासत बसाइपछि रिहा भएका ओली-लेखकको अनुसन्धान अहिले पनि जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
‘हिरासत मुक्त भएपछि अनुसन्धान के हुने भन्ने आम चासो देखियो । उहाँहरूको अनुसन्धान भने जारी छ’ एसपी भट्टराईले भने ।
उनका अनुसार तामेलीको फाइल जगाएर प्रहरीले अहिले काम गरिरहेको छ । भदौ २३ को जेनजी आन्दोलनको हत्याबारे ९ वटा निवेदन परिसर काठमाडौंमा परेका थिए ।
ती निवेदन सरकारी वकिल कार्यालयको निर्णयअनुसार २७ असोजमा तामेलीमा राखिएको थियो । तामेलीमा राखिएको ९ वटा निवेदनमध्ये अहिले एउटा निवेदन अर्थात तामेली जगाएर अनुसन्धान अघि बढाइएको उनले बताए ।
‘एउटा निवेदनको तामेली जगाइ अनुसन्धान गरेका छौं । तथ्य प्रमाणहरू जुटाउने काम भइरहेको छ’ एसपी भट्टराईले भने ।
अहिले लासजाँच मुचुल्का तथा शव परीक्षण लगायतका सम्बन्धित कागजात अध्ययन गर्ने सीसीटीभी फुटेज संकलन एंव विश्लेषण गर्ने र प्रत्यक्षदर्शी एंव घटना देख्ने थाहा पाउने व्यक्तिको कागज समेतका आधारमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घटनाको छानबिन गर्न भन्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको थियो । आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय १३ चैतमा सरकारले गरेको थियो ।
लगत्तै १४ चैतको बिहानै भक्तपुरस्थित आफ्नै निवासबाट ओली, लेखक पक्राउ परेका थिए । २३ चैतको सर्वोच्च अदालतको आदेश अनुसार ओली, लेखक २६ चैतमा हाजिरी जमानीमा छुटेका थिए ।
उनीहरुलाई छाडिएको प्रति गृहमन्त्री सुधन गुरुङ समेत अदालतप्रति असुन्तष्टी देखिएका छन् । बिहीबार सुरक्षा तथा गृह प्रशासनबारे रिर्पोटिङ गर्ने पत्रकारसँग कुराकानी गर्दै मन्त्री गुरुङले भने, ‘रातभर दु:ख गरेर समात्यो अहिले अदालतले छाड्यो । न्याय दिन मन्त्री होइन न्यायाधीश बन्नुपर्ने रहेछ ।’
के हो मुद्दा ?
गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए । २३ भदौमा मात्रै सुरक्षाकर्मीको गोली लागेर काठमाडौंमा १९ जना र बाहिरी जिल्लामा २ जना गरी २१ जनाको ज्यान गएको थियो ।
२४ भदौसमेत गरी ७६ जनाको ज्यान गयो । यो घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको थियो ।
कार्की आयोगले बुझाएको प्रतिवेदनमा ओली-लेखकलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरिएको थियो ।
ओली तथा लेखकलाई मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ ।
२३ भदौको जेनजी आन्दोलनमा बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको, हेलचेक्र्याइँ गरेको जस्ता आरोप उनीहरूमाथि थियो ।
कार्की आयोगको यो सिफारिस कार्यान्वयन गर्ने निर्णय बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो । त्यसपछि उनीहरू पक्राउ परेका थिए ।
प्रतिक्रिया 4