+
+
Shares

हजारौं शाक्यहरूको हत्या गरिएको स्थलमा २५७० वर्षपछि पितृपूजा

लडाइँमा अधिकांश शाक्यहरू तितरबितर भए । कोशल सेनाले नगरभित्र प्रवेश गरी शाक्यहरूलाई भेटेसम्म बाँकी राखेनन् ।

राजेश ढुंगाना राजेश ढुंगाना
२०८३ वैशाख ४ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तु जिल्लामा १३६ पुरातात्विक स्थल छन् जसमा गौतम बुद्धको जीवनसँग सम्बन्धित स्थलहरू प्रमुख छन्।
  • कोशल राज्यका राजा बिरुव्दकले शाक्यहरूको नरसंहार गरी सगरहवामा हजारौं शाक्यहरूको हत्या गरेको पाली इतिहासमा उल्लेख छ।
  • सगरहवामा २५७० वर्षपछि पहिलोपटक गतचैत १ गते शाक्य पितृस्मरण दिवस मनाइएको छ र अब हरेक वर्ष मनाइने भएको छ।

सम्पदा नै सम्पदाले भरिपूर्ण कपिलवस्तु जिल्लामा १३६ वटा पहिचान गरिएका पुरातात्विक स्थलहरू छन् । यी पुरातात्विक स्थलहरू मुख्यतया सिद्धार्थ गौतम बुद्धको जीवनमा केन्द्रित रहेका छन् ।

गौतम बुद्धले आफनो बाल्यकाल र युवा अवस्था कपिलवस्तुको तिलौराकोटमा बिताएका थिए । बुद्धका पिता राजा शुद्धोधनको दरबार यहीं हो ।

यही स्थलबाट करिब ३ किलोमिटरको दूरीमा उत्तर दिशामा छ ऐतिहासिक स्थल– सगरहवा । यसलाई स्थानीय भाषामा लम्बुसागर पनि भनिन्छ । बौद्ध इतिहासमा यो स्थलको निकै नै महत्व छ ।

कोशल नरेश प्रसेनजितका छोरा बिरुव्दकले क्रुरतापूर्वक हजारौं शाक्यहरूको हत्या गरी शाक्य वंशको विनाश गरे ।

किन बिरुव्दकले शाक्यहरूको यत्रो ठूलो नरसंहार गरे त ?

तत्कालीन समयमा शाक्य ग्रामका शाक्यहरूको प्रतिष्ठा ठूलो थियो । छिमेकका राजा, महाराजाहरू शाक्य परिवारसँग सम्बन्ध जोड्न चाहन्थे ।

यसैबीच कोशल राज्यका राजा प्रसेनजितले शाक्य पुत्रीसँग विवाह गर्ने इच्छा व्यक्त गरेपछि शााक्यहरू धर्म संकटमा परे । त्यति बेला राजा प्रसेनजित त्यस भेगमा निकै बलियो मानिन्थे । यिनको प्रस्ताव अस्वीकार गर्दा उनले कपिलवस्तु राज्यमा आक्रमण गर्न सक्थे । यही डरले शाक्यहरूले दासी पुत्री वासव खत्तियाको विवाह राजा प्रसेनजितसँग गरिदिए।

राजा प्रसेनजित र रानी वासिया खत्तियाबाट बिरुव्दकको जन्म भयो। बिरुव्दक युवा अवस्था हुँदा मामावली घर कपिलवस्तुमा आए ।

केही दिनको बसाइपछि घर फर्कने क्रममा बिरुव्दकको तरबार त्यहीं छुटेछ । अलि पर पुग्दा थाहा पाएपछि युवराज  बिरुव्दकले आफूसँग आएका सैनिकलाई तरबार लिन पठाए । त्यो बेला दासीहरूले बिरुव्दक बसेको ठाउँ दूध र गोबरले लिपिरहेको सैनिकले देखे । ती सैनिकले त्यसरी लिप्नुको कारण सोधे ।

दासीहरूले ती बिरुव्दकका सैनिक हुनु भनी चिनेनन् र वास्तविक कुरा बताइदिए । दासी पुत्र बिरुव्दक आएर बसेकोले यो ठाउँ अपवित्र भएकोले पवित्र बनाएको ती दासीहरूले बताए । ती सैनिकले यो कुरा बिरुव्दकलाई सुनाए ।

बिरुव्दक आफ्नो घोर अपमान भएको ठाने । त्यही बेला उनले प्रतिज्ञा गरे– आज दूधले धोएको ठाउँमा कुनै दिन शाक्यहरूको रगतले धुनेछु ।

पिता प्रसेनजितको मृत्यु पश्चात बिरुव्दक कोशल राज्यका राजा बने । त्यसपछि उनले कपिलवस्तुमा ३ पटक आक्रमण गर्ने प्रयास गरेकोमा गौतम बुद्धको मध्यस्थताले त्यो सफल भएन ।

 

चौथो पटकको प्रयासमा भीषण आक्रमण गर्न सफल भए । यो युद्धमा हजारौं शाक्यहरूको नरसंहार गरेको कुरा पाली इतिहासमा उल्लेख गरिएको छ ।

लडाइँमा अधिकांश शाक्यहरू तितरबितर भए । कोशल सेनाले नगरभित्र प्रवेश गरी शाक्यहरूलाई भेटेसम्म बाँकी राखेनन् । बिरुव्दकले प्रतिज्ञाअनुसार उतिबेला दूधले धोएको ठाउँलाई रगतले धोए ।

यही सगरहवामा शाक्यहरूको शव गाढिएको थियो । यही कारणले गर्दा यो प्राचीन स्थल सागरहवा बौध्द धर्ममा निकै नै महत्व रहेको छ।

यस ऐतिहासिक स्थल सगरहवाको खोज सन् १८९७ मा डा. फुहरर र खड् गशम्शेरले पहिचान गरेका थिए । उनका अनुसार यहाँ १७ वटा स्तुपाहरू पाइएको थियो । १०५९ फिट लम्बाई २२५ फिट चौडाइको प्राचीन सागर समेत फेला पारे ।

हाल उत्खनन कार्य नभएको हुँदा उक्त स्तुपाहरू कहाँ-कहाँ छन् यकीन गर्न कठिन रहेको छ । उक्त १७ वटा स्तुपाहरू हत्या गरिएका शाक्यहरूको स्मृतिमा बनाइएको थियो भन्ने विश्वास छ । यही कारणले शाक्यहरूले यसलाई पितृस्थलको रूपमा लिने गर्छन्।

चिनिया यात्री डा. ए.के. फुरर्हरले सगरहवामा पहिलो पटक उत्खनन कार्य गरेका थिए । उनले १८९७ डिसेम्बरबाट १८९८ मार्चसम्म समय लगाएर अध्ययन गरेको इतिहासमा उल्लेख छ ।

फुरर्हरपछि सगरहवाको उत्खनन् गर्ने अर्का पुरातत्वविद् भारतका पीसी मुखर्जी हुन् । उनले यस स्थलको थप अध्ययन गरेका थिए । मुखर्जीले १८९९ मा बनाएको चित्रकलामा त्यहाँ रहेको भवनसँग जोडिएको पक्की इँटाबाट बनेको स्तूपा उल्लेख गरिएको छ । उक्त क्षेत्रमा उत्खनन गर्दा विभिन्न किसिमकाअवशेष, सुन, चाँदीका टुक्रा, बहुमूल्य पत्थरका टुक्राहरू आदि समेत फेला पारेका छन् ।

यसैगरी सन् १९६२ मा भारतीय पुरातत्वविद् देवला मिश्रले सगरहवाको थप अध्ययन गरेकी थिइन् । उनले डा. ए.के. फुरर्हर र पीसी मुखर्जीको अध्ययनमा टिप्पणी गर्दै यस स्थलको पूर्ण अध्ययन गर्न सकेका थिएनन् भनेकी छिन् ।

ती स्तुपाबाहेक यस सगरहवा तालको उत्तर पश्चिम क्षेत्रमा सयौं संख्यामा साना स्तुपाहरू रहेको अनुमान समेत गरिन् । यी स्तुपाहरू त्यहाँ मारिएका शाक्यहरूको सम्झनामा पछि निर्माण गरिएको हुनसक्ने अनुमान उनले गरेकी थिइन् ।

फुहररले यस ठाउँलाई ‘आम हत्या गरिएको ठाउँ, जसको चिनियाँ यात्री यूवानचाडगले सातौं शताव्दीमा भ्रमण गरेको मानेका थिए । सन् २०१६ मा उक्त क्षेत्रको सतहमा गरिएको भौगोलिक सर्वेक्षणबाट जमिनमुनि ठूलो ढिस्कोको वरिपरि इँटाका थप संरचनाहरू पहिचान गरिएको थियो।

यस सर्वेले यस ठाउँमा थुप्रै भवन, मञ्च र स्तुपाहरू भएको संकेत गरेको थियो । साथै विगतमा यो महत्वपूर्ण धार्मिक स्थल भएको जानकारी पनि प्राप्त भएको छ ।

यसका साथै २०१८ मा गरिएको एक सर्वेक्षणले पोखरी वरिपरि धेरै ऐतिहासिक संरचनाहरू रहेको देखाएको छ । सन् १८९९ पछि यस सगरहवामा कुनै थप उत्खनन् गरिएको छैन ।

यस महत्वपूर्ण ऐतिहासिक स्थलको विकास गर्न आवश्यक छ किनभने यो शाक्यहरूसँग जोडिएको क्षेत्र हो । जुन कुलमा गौतम बुद्धको जन्म भएको थियो ।

उतिबेला हत्या गरिएका शाक्यहरूको सम्झनामा यही स्थानमा गतचैत १ गते पितृ पूजा गरियो ।

समाजसेवी एवं जगदीशपुर व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष श्री ललिल गुरुडले अध्यक्षतामा १० शाक्य स्मरण पितृ व्यवस्थापन समिति गठन गरिएको थियो । यही समितिको व्यवस्थापनमा पाटन स्वर्ण बिहारका पुजारीहरू बोलाई करिब ४ घण्टा लगाएर पितृ पूजा गरियो ।

उक्त पूजामा काठमाण्डौ, पोखरा, पाल्पा, बुटवल, भैरहवा, नेपालगन्ज र तौलिहवा लगायतका स्थानमा बसोबास गर्दै आएका शाक्यहरूको उपस्थिति थियो ।

शाक्य वंशहरूको संहार गरिएको यस स्थानमा २५७० वर्षपछि पहिलो पटक पितृ पूजा गरिएको हो । अब प्रत्येक वर्षको चैत्र १ गते सगरहवामा शाक्य पितृस्मरण दिवस मनाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?