+
+
Shares

पाकिस्तानी सेना साउदी अरबमा के गर्दैछ ?

पाकिस्तान इरानका लागि एक स्वीकार्य विकल्पका रूपमा उदय भएको छ । उनका अनुसार, पाकिस्तानको पक्षमा धेरै सकारात्मक कुराहरू रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते २३:०३

केही दिनअघि पाकिस्तानका लडाकु विमान र सैन्य बल साउदी अरब पुगेका छन् । यो तैनाथी दुई देशबीच गत वर्ष भएको रक्षा सम्झौताको हिस्सा मानिएको छ । यस सम्झौता अन्तर्गत, दुईमध्ये कुनै एक देशमाथि भएको हमला अर्को देशमाथि पनि भएको मानिनेछ र सैन्य रूपमा दोस्रो देशले हमला भएको देशलाई सहयोग गर्नेछ ।

यो घटनाक्रम यस्तो समयमा भएको छ, जब पाकिस्तान इरान-अमेरिका वार्ताको मध्यस्थता गरिरहेको छ । यस वार्ताको उद्देश्य इरान युद्ध अन्त्य गर्ने बाटो पहिल्याउनु हो ।

तर, वार्ताको पहिलो चरणमा कुनै निकास निस्किएको छैन । आगामी दिनहरूमा दोस्रो चरणको वार्ता हुने खबरहरू भने सार्वजनिक भएका छन् ।

साउदी रक्षा मन्त्रालयले पाकिस्तानी सेनाको तैनाथी संयुक्त रक्षा सहयोगलाई मजबुत बनाउनुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाअन्तर्गत गरिएको स्पष्ट पारेको छ ।

अर्कोतर्फ, रोयटर्ससँग कुरा गर्दै पाकिस्तानका एक अधिकारीले साउदी अरब पुगेका पाकिस्तानी सैनिकहरू ‘कसैमाथि आक्रमण गर्नका लागि’ नभएको बताएका छन् ।

यो कदमले आफ्नो समय र यसको रणनीतिक प्रभावहरूलाई लिएर धेरै प्रश्नहरू खडा गरेको छ । साथै, खाडी क्षेत्रमा अमेरिकी सुरक्षा ग्यारेन्टीको भविष्यमा यसले कस्तो असर पार्छ भन्ने कुरा पनि चर्चाको विषय बनेको छ ।

इरानले जसरी खाडी क्षेत्रहरूमा हमला गरेको छ, त्यसपछि यी देशहरूले पाएको अमेरिकी सुरक्षा ग्यारेन्टीमाथि प्रश्न चिन्ह खडा भएका छन् ।

यसबाहेक, चीनको सहयोगमा टिकेको पाकिस्तानको सैन्य प्रविधि र अमेरिकी रक्षा प्रणालीहरूबीचको तालमेल पनि एक ठूलो चुनौती हो । पाकिस्तानले आफूलाई अमेरिका र इरान दुवैको मित्र बताउँदै आएको छ ।

यस्तो अवस्थामा, इरानी हमलापछि साउदी अरबमा आफ्नो सेना पठाउनुले पाकिस्तानको त्यो मध्यस्थकर्ताको भूमिकामाथि पनि प्रश्न खडा गर्दछ ।

पर्यवेक्षकहरूको विश्वास छ कि करिब एक वर्षअघि पाकिस्तानसँग रक्षा सम्झौता गरेर साउदी अरबले आफ्नो लागि एउटा अतिरिक्त सुरक्षा घेरा तयार गरेको छ, ताकि अमेरिकामाथिको उसको निर्भरता कम होस् ।

अमेरिकाप्रति विश्वास कम भएको हो ?

खाडी देशहरूमा यो असन्तुष्टि व्याप्त छ कि इरानसँग युद्ध सुरु गर्ने अमेरिकाको निर्णयमा उनीहरूको हित र हुन सक्ने सम्भावित क्षतिबारे विचार गरिएन ।

इरानी रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले खाडी देशका महत्त्वपूर्ण तेल खानी र नागरिक सुविधाहरूमा ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यसकारण, अमेरिकाले थोपेको यस युद्धको मूल्य आफूहरूले चुकाउनुपरेको भन्दै ती देशहरूमा आक्रोश बढेको छ ।

साउदी सुरक्षा तथा रणनीतिक विशेषज्ञ हसन अल–शहरीका अनुसार दुई देशबीच भएको रक्षा सम्झौताअन्तर्गत साउदी भूमिमा पाकिस्तानी वायुसेनाको तैनाथीले साउदी अरब आफ्नो सुरक्षा ग्यारेन्टीमा विविधता ल्याउन चाहन्छ भन्ने देखाउँछ ।

उनले यसलाई एउटा स्मार्ट कदमका रूपमा व्याख्या गरेका छन्, जसको अर्थ एकातर्फ अमेरिकासँगको साझेदारीलाई कायम राख्नु र अर्कोतर्फ पाकिस्तानसँग मिलेर एउटा छुट्टै समानान्तर सुरक्षा कवच तयार गर्नु हो ।

सेप्टेम्बर २०२५ मा साउदी अरब र पाकिस्तानबीच भएको रणनीतिक पारस्परिक रक्षा सम्झौता (एसएमडीए) मा एक पक्षमाथि भएको हमलालाई दुवैमाथि भएको हमला मानिने प्रावधान छ ।

हालका दिनहरूमा खाडी देशहरूमा अमेरिकी सुरक्षालाई लिएर विश्वास घटेको छ । पछिल्लो घटनाक्रमलाई पनि सोही नजरले हेरिएको छ ।

अल–सहरीले पाकिस्तानसँगको यो रणनीतिक रक्षा सम्झौताले साउदी अरबलाई कसरी थप मजबुती दिनेछ भन्ने कुरा बताएका छन् । उनका अनुसार साउदी अरबमा पाकिस्तानी सेनाको उपस्थितिका कारण इरान र उसका सहयोगीहरूले साउदी अरब वा खाडी देशहरूलाई निशाना बनाउनुअघि पुन: विचार गर्नेछन् ।

पाकिस्तानले के सन्देश दिन खोज्दैछ ?

यो रक्षा सम्झौता अमेरिका-इजरायल र इरानबीच युद्ध सुरु हुनुभन्दा केही महिनाअघि नै भएको थियो । त्यसैले, पाकिस्तानी अधिकारीहरूका अनुसार यसको उद्देश्य कसैमाथि ‘आक्रमण गर्नु नभए’ तापनि, पाकिस्तानी सेनाको यो आगमनले यस सम्झौताको गम्भीरतालाई दर्शाउँछ ।

सन् २०१५ मा यमन युद्धका बेला साउदी अरबले पाकिस्तानसँग सैन्य सहयोग मागेको थियो, तर त्यस समयमा पाकिस्तानी संसद्ले उक्त अनुरोधलाई अस्वीकार गरिदिएको थियो ।

अल–सहरीका अनुसार आज परिस्थिति फरक छ किनभने अहिले दुई देशबीच औपचारिक रक्षा सम्झौता छ ।

रक्षा मामिलाका लेखक तथा अमेरिकी पत्रकार सेबेस्टियन रोबलिनले भने, ‘यो कुरा स्मरण गर्नुपर्छ कि यमन युद्धमा साउदी अरबको स्थलगत हस्तक्षेप आक्रामक प्रकृतिको थियो, जबकि वर्तमान द्वन्द्वमा साउदी अरबको अडान अहिलेसम्म रक्षात्मक नै रहेको छ ।’

अरब–युरेसियन स्टडिज सेन्टरको दक्षिण एसिया अध्ययन एकाइका निर्देशक डा. मुस्तफा शलाश भन्छन्, ‘साउदी अरबमा पाकिस्तानी सेनाको तैनाथी बढी प्रतीकात्मक छ । यो पाकिस्तानको रक्षा प्रतिबद्धता र आफ्ना सहयोगीहरूप्रति वफादारीको सन्देश हो ।’ उनका अनुसार युद्ध सुरु भएको एक महिनापछि साउदी अरबमा पाकिस्तानको भूमिकालाई लिएर जुन प्रश्नहरू उठेका थिए, यो तैनाथी तिनै प्रश्नहरूको जवाफ पनि हो ।

यो कुरा उल्लेखनीय छ कि साउदी अरबसाग सम्झौता भए तापनि पाकिस्तानले इरानी हमलाबाट बच्न साउदी अरबलाई किन सहयोग गरिरहेको छैन भन्ने प्रश्नहरू उठिरहेका थिए ।

के साउदीले अमेरिकालाई कुनै सन्देश दिइरहेको छ ?

डा. शलाशले बीबीसी अरबीसँग कुरा गर्दै पाकिस्तान एक ठूलो सैन्य र आणविक शक्ति भए तापनि आर्थिक रूपमा कमजोर रहेको बताएका छन् ।

उनले यस विषयलाई हालै सञ्चारमाध्यममा आएका ती खबरहरूसँग पनि जोडेका छन्, जसमा पाकिस्तानका लागि ५ अर्ब डलरको सम्भावित साउदी–कतरी आर्थिक प्याकेजको चर्चा गरिएको थियो, यद्यपि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

यसैबीच, बिहीबार स्टेट बैंक अफ पाकिस्तानले एक्समा एक पोस्ट गर्दै अप्रिल १५ मा साउदी अरबको वित्त मन्त्रालयबाट दुई अर्ब अमेरिकी डलर बराबरको कोष प्राप्त भएको जानकारी दिएको छ ।

अर्कातर्फ, सेबेस्टियन रोबलिन साउदी अरबले अमेरिकासँगको आफ्नो ‘अस्थिर’ सम्बन्धका बीच अन्य साझेदारी विकास गरिरहेको विश्वास गर्छन् । उनका अनुसार यसको उद्देश्य एक प्रकारले अमेरिकालाई सन्देश दिनु पनि हुन सक्छ, ताकि अमेरिका आफ्नो साझेदारी कायम राख्न थप सतर्क रहोस् ।

यसरी पाकिस्तानको सैन्य उपस्थितिले साउदी अरबले अन्य सहयोगीहरूलाई पनि आफूसँग ल्याउनसक्छ भन्ने क्षमतालाई देखाउँछ ।

यद्यपि रोबलिनको विश्लेषण अनुसार पाकिस्तानी उपस्थिति इरानी दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ । उनले भने, ‘यदि कुनै इरानी ड्रोन आक्रमणमा कोही पाकिस्तानी सैनिक मारिएमा यसले इरान र पाकिस्तानबीच तनाव बढ्ने खतरा निम्त्याउन सक्छ । यसकारण कि पाकिस्तानको इरानसँग प्रत्यक्ष सीमा जोडिएको छ ।’

दुवैसामु रहेका चुनौती

साउदी अरबको रक्षा व्यवस्था मुख्य रूपमा अमेरिकी थ्याड र प्याट्रियट प्रणालीहरूमा निर्भर गर्दछ । यद्यपि उसले दक्षिण कोरिया, रुस, चीन, टर्की र युक्रेनका केही अन्य प्रणालीहरूको पनि प्रयोग गर्ने गर्दछ ।

त्यस्तै, पाकिस्तान विमान, ट्याङ्क र मिसाइल जस्ता आफ्ना करिब ८० प्रतिशत सैन्य क्षमताका लागि चीनमा निर्भर छ । बाँकी २० प्रतिशतमा अमेरिका र फ्रान्सको प्रविधि समावेश छ ।

हसन अल–शहरीको बुझाइमा पाकिस्तानको चिनियाँ प्रविधि र साउदी अरबमा रहेको अमेरिकी प्रविधिबीच टकरावको आशङ्का छ, तर यसबाट दुवै पक्ष (पाकिस्तान र साउदी अरब) ले उत्कृष्ट समन्वयमार्फत फाइदा लिन सक्छन् ।

डा. शलाशका अनुसार यो कुनै ठूलो समस्या हुने छैन । किनभने, पाकिस्तानसँग अमेरिकी प्रविधिहरूसँग काम गरेको अनुभव पनि छ ।

अर्कोतर्फ रोबलिनका अनुसार साउदी अरबले पहिलेदेखि नै केही चिनियाँ हतियारहरू प्रयोग गर्दै आएको छ, जसमा विङ लुङ ड्रोन र ब्यालिस्टिक मिसाइलहरू समावेश छन् ।

तैपनि, पाकिस्तानको जेएफ–१७ लडाकु विमानहरूका लागि साउदी वायु रक्षा प्रणालीसँग तालमेल मिलाउनु चुनौतीपूर्ण रहने उनको विश्वास छ । उनका अनुसार, ‘फ्रेन्डली फायर’को जोखिम र समन्वयको आवश्यकता अमेरिकी हतियार प्रणालीभित्र पनि रहिरहन्छ । त्यसैले साउदी अरबले आफ्ना हतियार, राडर र पाकिस्तानी लडाकु विमानहरूबीच अत्यन्तै सावधानीपूर्वक समन्वय गर्नुपर्नेछ ।

केही विश्लेषकहरूले साउदी अरबमा सैन्य उपस्थिति र अमेरिका–इरान युद्धविराम वार्तामा मध्यस्थकर्ताको भूमिकाबीच पाकिस्तानले कसरी सन्तुलन कायम गर्ला भन्ने प्रश्न उठाएका छन् ।

डा. शलाशका अनुसार, कतार र ओमान जस्ता परम्परागत मध्यस्थकर्ता देशहरूलाई यस युद्धमा इरानले निशाना बनाएपछि उनीहरूका लागि मध्यस्थता जारी राख्नु तर्कसङ्गत रहेन ।

यस्तो अवस्थामा पाकिस्तान इरानका लागि एक स्वीकार्य विकल्पका रूपमा उदय भएको छ । उनका अनुसार, पाकिस्तानको पक्षमा धेरै सकारात्मक कुराहरू रहेका छन् ।

यसमा इरानसँगको साझा रणनीतिक चासो, इजरायलसँग कुनै पनि सम्बन्ध नहुनु, चीनसँग दुवै देशको घनिष्ठ सम्बन्ध र पाकिस्तानभित्र ठूलो संख्यामा शिया समुदायको उपस्थिति हुनु जस्ता पक्ष समावेश छन् ।

यसै आधारमा शलाशले पाकिस्तानको भूमिकालाई ‘सक्रिय तटस्थता’ (एक्टिभ न्यूट्रालिटी) भनेका छन् । उनका अनुसार जबसम्म साउदी अरबले इरानमाथि हमला गर्ने वा प्रत्यक्ष जवाफी कारबाहीको निर्णय गर्दैन, तबसम्म साउदी अरबमा पाकिस्तानी सेनाको भूमिका रक्षात्मक नै मानिनेछ, आक्रामक होइन । (बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको अनुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?