४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सर्वोच्च अदालतको फैसलालाई एकको जित र अर्काको हारको रूपमा व्याख्या गरेर पार्टी एकता खलबलिन नदिन सबै सचेत हुनुपर्ने बताएका छन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई नै वैधानिकता दिएपछि सोही कार्यसमितिका महामन्त्री पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला स्वीकार गर्दछौं,’ फेसबुकमा उनले भनेका छन्, ‘यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनु हुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खलबलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।’
अब सबैलाई सुरक्षित आभास हुने गरी सबै पुन: चारतारे झन्डामुनि गोलबद्ध बनेर १५ औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन उनले अपिल गरेका छन् ।
प्रतिक्रिया 4