News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटा एफ.एम.को आयोजनामा \'चियासँग कविता\' कन्सर्ट कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
- शुक्रबारको कार्यक्रममा कविहरु उत्तम तुम्सा र डिआर फुयलले करिब एक दर्जन कविता सुनाए भने गायक तेजेन्द्र गन्धर्वले गीत प्रस्तुत गरेका थिए।
- २०८१ माघ महिनामा केही साहित्यप्रेमीहरूको भेटघाटबाट जन्मिएको \'चियासँग कविता\'को अवधारणा २०८१ फागुन २ गतेदेखि नियमित रूपमा हरेक शुक्रबार सञ्चालन हुँदै आएको छ ।
५ वैशाख, धनकुटा । सारंंगीको मधुरो धुन बजिरहेको थियो, त्यही धुनसँगै मञ्चबाट उठेर दर्शकको मनसम्म शब्दहरु पुगिरहेका थिए । कविता भन्नेले घरिघरी अगाडि राखिएको दमाहा बजाउँथे भने घरिघरी पागल जस्तै भएर मञ्चमै लडिरहन्थे । मञ्च तलतिर रहेका दर्शक कुनैबेला निकै भावुक हुन्थे भने कुनैबेला एकै तरिकाले ताली बजाउँथे । झट्ट हेर्दा नाट्य कार्यक्रम भइरहेको जस्तो देखिए पनि कविता कन्सर्ट कार्यक्रमको दृश्य थियो यो ।
शुक्रबार अपराह्न धनकुटास्थित हाम्रो बहुमुखी पाठशालाको प्राङ्गणमा आयोजित ‘चियासँग कविता’ कन्सर्ट कार्यक्रममा देखिएको दृश्य हो यो । कन्सर्टले साहित्य र संगीतलाई एउटै धागोमा गाँस्दै धनकुटामा फरक स्वाद प्रस्तुत गर्यो । औपचारिकता भन्दा आत्मीयता बढी देखिएको कार्यक्रममा सहभागीहरू केवल दर्शक भएर बसेका थिएनन्, उनीहरू शब्द, धुन र अनुभूतिसँगै यात्रा गरिरहेका थिए ।
मञ्चमा कविहरू उभिँदा वातावरण गम्भीर बन्थ्यो । प्रेम, पीडा, समाज र जीवनका विविध पाटाहरू कवितामार्फत उजागर भइरहेका थिए । प्रत्येक रचनापछि गुञ्जिने तालीले ती शब्दहरू दर्शकको मनभित्र कत्तिको गहिरो गरी बसे भन्ने प्रमाण दिन्थ्यो । त्यसैबीच, गीतका सुरहरूले माहोललाई नयाँ मोड दिन्थ्यो ।
कार्यक्रममा कविहरु उत्तम तुम्सा र डिआर फुयलले करिब एक दर्जन कविता सुनाए । गायक तेजेन्द्र गन्धर्वले आधा दर्जन गीत प्रस्तुत गरे । संगीत अनि साहित्यको संगमले केवल मनोरञ्जन मात्रै थपेन, भावनात्मक सम्बन्धलाई पनि मजबुत बनाएको थियो ।
रेडियो धनकुटा एफ.एम. १०६.२ मेगाहर्जको आयोजनामा सम्पन्न चियासँग कन्सर्टमा चियासँग कविताको ५५ औँ श्रृंखला आयोजना गरिएको हो । कार्यक्रममा आक्रोश, रोदन र माया मिसिएका कविता सुन्न पाएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिए ।
उनले पछिल्लो समय धनकुटामा चियासँग कार्यक्रमले साहित्यिक माहोल सिर्जना गरेसँगै कविहरुको थलोको रुपमा धनकुटालाई विकास गर्दै लगेको बताए ।
धनकुटामा हरेक हप्ता चियाँसँग कविता नामक साहित्य कार्यक्रम हुँदै आएको छ । जसमा बालबालिका, युवादेखि पाका उमेरसम्मका मानिसहरूले सक्रिय सहभागिता जनाउँदै आएका छन् । उनीहरू हरेक अंकमा आफ्ना रचना सुनाउन र अरूका सिर्जना सुन्न उत्तिकै उत्साहित देखिन्छन् ।

२०८१ माघ महिनामा केही साहित्यप्रेमीहरूको भेटघाटबाट जन्मिएको यो अवधारणा २०८१ फागुन २ गतेदेखि नियमित रूपमा हरेक शुक्रबार सञ्चालन हुँदै आएको छ । फरक–फरक पेसा र व्यस्तताका बाबजुद पनि साहित्यकारहरूलाई एकै ठाउँमा जोड्ने पुलका रूपमा यसले काम गरिरहेको रेडियो धनकुटा एफ.एम.का अध्यक्ष गोपाल बराइली बताउँछन् ।
उनका अनुसार सहभागीहरूलाई कविता, गजल, मुक्तक वा गीत प्रस्तुत गर्ने अवसर दिइन्छ । हरेक शृङ्खलामा फरक–फरक व्यक्तिको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिन्छ ।
फागुन १ गते सम्पन्न ५० औँ शृङ्खलासँगै पहिलो वार्षिकोत्सव मनाउँदै विभिन्न साहित्यिक विधामा पुरस्कारसमेत वितरण गरिएको थियो । साथै, वर्षभरि प्रस्तुत भएका उत्कृष्ट कविताहरू समेटिएको ‘चियासँग कविता’ संग्रह पनि प्रकाशन गरिएको छ । चियासँग कविता कार्यक्रम सञ्चालन गर्न अक्षय कोष स्थापनाको सुरु गरिएको बराइलेले बताए ।
चियासँग कविता कन्सर्ट कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले साहित्यले समाज रुपान्तरण गर्ने बताउँदै यस कार्यक्रमले धनकुटा सहित देशमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । मन्त्री पराजुलीले चियासँग कविता अक्षयकोष १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4