News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले असन क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाएर 'भेहिकल फ्रि असन' कार्यक्रम सुरु गरेको छ।
- कार्यक्रम अन्तर्गत असनको विभिन्न गल्लीहरूमा सवारी साधन प्रवेश निषेध गरिनेछ र सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप सञ्चालन गरिनेछ।
- असन आउने आगन्तुकहरूले धरहराको भूमिगत पार्किङ, जमल बहाल, दरबार हाइस्कुलमा सवारी राखेर पैदलयात्राबाट प्रवेश गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।
५ वैशाख, काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन आज वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ । असनमा सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने उद्देश्यले आजदेखि हरेक शनिबार ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको हो ।
शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् ।
यसअघि यो कार्यक्रम स्थानीय संघसंस्था, क्लब तथा समुदायको सहभागितामा चैत २८ गतेबाट नै सञ्चालन गर्ने तयारी थियो । यसक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लव र समुदायका प्रतिनिधिसहितको बैठकले तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर वैशाख ५ गतेबाट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
असनका कुन–कुन गल्लीमा निषेध छ सवारी साधन ?
‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ ।
- कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कमलाछी सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन ।
- यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइने छैन ।
- वीर अस्पतालबाट महाबौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ ।
- बटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ प्रवेश पाइने छैन ।
- इन्द्रचोकबाट पनि सवारी प्रवेश रोकिनेछ ।
- मच्छिन्द्रबहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ ।
- गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ ।
- गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइने छैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ ।
कहाँ गर्ने पार्किङ ?
यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । शनिबारका दिन असन आउने आगन्तुकहरुले धरहराको भूमिगत पार्किङ, जमल बहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारीसाधन राखेर पैदलयात्राबाट असन प्रवेश गर्नुपर्ने छ ।
असनमा मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।
असन क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गरिने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने अपेक्षा गरिएको छ ।
मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । काठमाडौंको मौलिक पहिचानमा नकारात्मक प्रभाव पर्दै गएकाले काठमाडौं महानगरपालिकाले सवारी साधनलाई हरेक शनिबार प्रवेश रोकेर सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा प्रवर्द्धनमा जोड दिन थालेको छ ।
प्रतिक्रिया 4