News Summary
Generated by OK AI. Editorially reviewed.- जाँघको भित्री भागमा चिलाउने समस्या प्रायः ढुसीजन्य संक्रमण, छालाको घर्षण, पसिनाले हुने जलन वा एलर्जीका कारण हुन्छ।
जाँघको भित्री भागमा चिलाउने समस्या धेरै मानिसले अनुभव गर्ने सामान्य तर निकै असहज अवस्था हो । विशेषगरी गर्मी मौसम, धेरै पसिना आउने बानी, लामो समय बसिरहनु, व्यायाम गर्नु, तौल बढी हुनु वा कस्सिलो कपडा लगाउनेहरूमा यो समस्या बढी देखिन्छ ।
धेरैजसोले यसलाई सामान्य पसिना वा सरसफाइको कमी ठान्छन्, तर वास्तविक कारण प्रायः त्योभन्दा फरक हुन सक्छ । यस्तो चिलाइको मुख्य कारण प्रायः ढुसीजन्य संक्रमण, छालाको घर्षण, पसिनाले हुने जलन, छालाको एलर्जी वा एक्जिमा हुन्छ ।
जाँघको बीच भाग तातो र भिजेको हुने भएकाले ढुसी बढ्नका लागि यो सबैभन्दा अनुकूल ठाउँ मानिन्छ । यही कारणले त्यहाँ चिलाउने, रातो दाग आउने, पोल्ने वा छाला फुस्रो हुने समस्या देखिन्छ ।
ढुसीजन्य संक्रमण
जाँघमा धेरै चिलाउने सबैभन्दा सामान्य कारण ढुसी संक्रमण (टिनिया क्रुरिस) हो । यो छालामा बस्ने विशेष प्रकारको ढुसीका कारण हुन्छ । सुरुमा सामान्य चिलाउने जस्तो लागे पनि पछि रातो घेरा, किनारामा बढी रातोपन, छाला सुक्खा भएर फुस्रो हुने, पसिना आएपछि झन् बढी चिलाउने लक्षण देखिन्छ ।
कहिलेकाहीँ यो दाग जाँघबाट नितम्ब वा पेटको तल्लो भागसम्म फैलिन सक्छ । यदि खुट्टामा पनि ढुसीको संक्रमण छ भने त्यही संक्रमण हात, तौलिया वा कपडामार्फत जाँघसम्म सर्न सक्छ। त्यसैले, बारम्बार चिलाउने समस्या दोहोरिने भएमा खुट्टाको छालासमेत जाँच गर्नुपर्छ ।
पसिना र घर्षणको भूमिका
सबै चिलाइ ढुसीकै कारण हुँदैन । धेरै मानिसमा जाँघ आपसमा घस्सिने कारण पनि चिलाउने हुन्छ । तौल बढी हुनु, लामो हिँडाइ, दौड, साइकल चलाउनु वा कृत्रिम कपडाको भित्री लुगा लगाउँदा जाँघको भित्री भाग बारम्बार घिस्सिन्छ ।
त्यहाँ पसिना मिसिएपछि छाला झन् संवेदनशील भएर रातो, पोल्ने र चिलाउने हुन्छ । यस्तो अवस्थालाई छालाका तहबीच हुने जलनजन्य समस्या मानिन्छ । यदि यही भागमा ढुसी थपियो भने समस्या झन् बढ्न सक्छ ।
भिटामिनको कमीले पनि हुन्छ ?
धेरैले ‘भिटामिन बी’ को कमीले जाँघ चिलाउँछ’ भन्ने सुन्नुभएको होला । तर चिकित्सकीय रूपमा हेर्दा जाँघको भित्री भागमा हुने चिलाइको मुख्य कारण केवल भिटामिन कमी होइन ।
भिटामिन बी–१२, बी–६, जिंक वा आइरनको कमी हुँदा छाला सुख्खा हुने, पोल्ने वा शरीरका अन्य भागमा पनि चिलाउने समस्या हुन सक्छ । तर जाँघको विशेष चिलाइको मुख्य कारण भने ढुसी, पसिना र घर्षण नै हो ।
त्यसैले, केवल भिटामिनको चक्की खाएर बस्दा मूल समस्या समाधान नहुन सक्छ । यदि शरीरभरि सुख्खा छाला, कमजोरी, मुखको कुनामा घाउ, कपाल झर्ने वा झमझमाउने समस्या पनि छ भने मात्र भिटामिनको कमीबारे सोच्नुपर्छ ।
चिलाउन कम गर्न के गर्ने ?
जाँघ चिलाउने समस्या कम गर्न सबैभन्दा पहिले त्यो भागलाई सधैं सुक्खा राख्नु आवश्यक हुन्छ । नुहाएपछि सफा कपडाले राम्ररी पुछेर सुकाउनुहोस् ।
सुती कपडाको भित्री लुगा लगाउने र दिनमा धेरै पसिना आए कपडा बदल्नु उचित हुन्छ । कसिलो जिन्स, व्यायाम गर्दा लगाइने टाइट कपडा वा कृत्रिम कपडा सकेसम्म कम लगाउनु राम्रो हुन्छ । व्यायामपछि तुरुन्त भिजेको कपडा फेर्नुपर्छ।
यदि ढुसी संक्रमणजस्तो रातो घेरा वा दाग छ भने ढुसीविरुद्ध लगाइने मल्हम २ देखि ४ हप्तासम्म नियमित लगाउँदा निको हुन्छ । धेरैले आफैं स्टेरोइड मिसिएको मल्हम प्रयोग गर्ने गल्ती गर्छन्, जसले सुरुमा आराम दिएजस्तो लागे पनि ढुसीलाई झन् गहिरो बनाउँछ । त्यसैले, चिकित्सकको सल्लाहबिना त्यस्तो मल्हम प्रयोग गर्नु हुँदैन ।
घरेलु उपायले कत्तिको काम गर्छ ?
निमको पात उमालेर नुहाउने, घ्यूकुमारीको जेल, नरिवलको तेल जस्ता उपायले केही राहत दिन सक्छ । नरिवलको तेलले जाँघबीचको घर्षण घटाउँछ भने घ्यूकुमारीले पोल्ने कम गर्छ ।
तर यदि ढुसी संक्रमण छ भने यी केवल सहायक उपाय मात्र हुन् । मुख्य उपचार भने ढुसीविरुद्धको सही मल्हम र सरसफाइ नै हो । घरेलु उपायले मात्र संक्रमण पूर्ण रूपमा निको नहुन सक्छ ।
कहिले चिकित्सक देखाउने ?
यदि २ हप्तासम्म मल्हम लगाए पनि निको भएन, रातो दाग फैलिँदै गयो, पानी आउने वा घाउ हुन थाल्यो, धेरै पोल्यो, बारम्बार दोहोरियो, मधुमेह छ, वा गोप्य अङ्ग वरिपरि फैलियो भने छाला रोग विशेषज्ञ वा चिकित्सकलाई देखाउनुपर्छ ।
कहिलेकाहीँ सोरायसिस, एक्जिमा, ब्याक्टेरियाजन्य संक्रमण, स्केबीज वा यौन सम्पर्कबाट सर्ने संक्रमणमा पनि यस्तै देखिन सक्छ । त्यसैले, बारम्बार हुने समस्या बेवास्ता गर्नु हुँदैन ।
सही कारण समयमै पहिचान गरेर सरसफाइ, सुक्खा राख्ने बानी, सही मल्हम र कपडामा ध्यान दिए धेरैजसो जाँघ चिलाउने समस्या सजिलै निको हुन्छ।
प्रतिक्रिया 4