+
+
Shares

‘विक्रम लामाहरू हराउँदैनन्, प्रणालीले देख्न छोड्छ’

विजय सापकोटाले बुधबार लेबर, लिबरल पार्टीसहितका अन्य सांसदहरूसँग भेट गरेर विक्रम लामाको घटनालाई एउटा व्यक्तिको ‘दुःखद अन्त्य’ नभई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको व्यापक समस्याको उदाहरणका रूपमा संसदमा बोल्न आग्रह गरे ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ वैशाख ९ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विजय सापकोटाले अस्ट्रेलियाका सांसदहरूसँग नेपाली विद्यार्थी विक्रम लामाको मृत्यु र विद्यार्थी समस्याबारे छलफल गर्नुभएको छ।
  • विक्रम लामाको मृत्युले अस्ट्रेलियाको घरविहीनता समस्या र नेपाली विद्यार्थीहरूको शोषण उजागर गरेको छ।
  • सापकोटाले अस्ट्रेलिया जानुअघि विद्यार्थीहरूलाई भिसा नियम, अधिकार र सहायता प्रणालीको व्यापक जानकारी दिनुपर्ने बताउनुभएको छ।

९ वैशाख, काठमाडौं । बुधबार बिहान (नेपाली समयअनुसार) विजय सापकोटा अस्ट्रेलियाका सांसदहरूसँग छलफलमा थिए । अस्ट्रेलियास्थित अन्तर्राष्ट्रिय विद्यार्थीहरूको छाता संगठनका पूर्व अध्यक्ष रहेका सापकोटा डेलिगेसनमै पुगे ।

विषय थियो– नेपाली विद्यार्थीको मृत्यु प्रकरण ।

यसै साता द गार्जियनले प्रकाशित गरेको एक विस्तृत अनुसन्धान रिपोर्टले सिड्नीको सेन्ट जेम्स सुरुङमा ३२ वर्षीय नेपाली युवा विक्रम लामाको हृदयविदारक मृत्युबारे बाहिर ल्याएपछि यस्ता विषय पुनः सतहमा आए ।

अस्ट्रेलियाकै सामाजिक सुरक्षा प्रणाली र नेपाल सरकारको गैरजिम्मेवारीमाथि उठिरहेको प्रश्न लिएर उनीहरू त्यहाँ पुगेका थिए । ‘अहिलेको त एउटा घटना भयो । यहाँको अवस्था यति बिजोग छ कि, हाम्रो सरकार छ कि छैन भन्ने पनि थाहा छैन । आमनेपाली विद्यार्थीको पहुँचमा छैनन् । अनि यहाँकै स्थानीय प्रतिनिधिको चासोमा पनि यस्ता विषय पर्नुपर्छ भनेर हामी आएको हौँ,’ उनले भेटघाटपछि अनलाइनखबरसँग कुरा गर्दै भने ।

*****

मकवानपुरको एउटा विकट पहाडी गाउँमा हुर्किएका विक्रम सन् २०१३ मा कम्प्युटर साइन्स पढ्ने सपना बोकेर अस्ट्रेलिया पुगेका थिए । परिवारले त्यसका लागि नौ कट्ठा जग्गा बेच्यो । एउटा सपना अनि भविष्यको लागि । ‘हामीसँग पैसा थिएन,’ भाउजू उषा लामाले द गार्जियनसँग भनेकी छन्, ‘त्यसैले हामीले जग्गा बेचेर उनलाई विदेश पठायौं ।’

तर त्यो सपनाले कुनै आकार लिनसकेन । भिसा सकियो, परिवारसँगको सम्पर्क टुट्यो र अन्तमा विक्रम सिड्नीको व्यस्त सुरुङमा घरविहीन भएर बस्न थाले । पाउरोटीका टुक्रा बोकेर बस्ने उनलाई वरपरका ‘अनजान’हरूले माया गरेर ‘बर्डम्यान’ भन्थे । कारण – उनी हरेक बिहान परेवाहरूलाई दाना खुवाउँथे ।

७ डिसेम्बरमा उनै बर्डम्यानको शव स्टेसनका कर्मचारीहरूले फेला पारे, जुन करिब एक हप्तादेखि त्यहीँ थियो । जबकि एक हप्ताभर एक लाखभन्दा बढी मानिसहरू त्यहीँ छेउबाट हिँडे । शव यति सडिसकेको थियो कि, प्रहरीलाई पनि सहजै मान्छे पहिचान गर्न गाह्रो पर्‍यो । न्यु साउथ वेल्स प्रहरीले शव पहिचान गर्न नसकेपछि अस्ट्रेलियास्थित नेपाली दूतावासमार्फत विक्रमकी वृद्ध आमा सेतीमाया लामाको डीएनए परीक्षण गर्न आग्रह गर्‍यो ।

यसरी लामो समय एक नेपाली विद्यार्थी त्यो अवस्थाबाट गुज्रनु अनि मृत्यु भएको पनि यत्रो समयपछि आएर बल्ल बहस हुनु दुखद रहेको सापकोटाको भनाइ छ । ‘अझ अस्ट्रेलियामा रहेका नेपाली मिडियाले के गर्छन् थाहा छैन । नत्र यस्ता घटनाहरू घटिरहँदा न सरकारी निकाय दूतावासलाई चासो छ, न अरू सरोकारवालाहरूलाई,’ उनले प्रश्न गरे ।

नेपाली डायस्पोरामा बहस

अहिले यो घटनाले नेपालसहित पूरै नेपाली डायस्पोरामा बहस छेडेको छ । अस्ट्रेलियाकै घरविहीनता प्रणालीमा रहेको खाडल, भिसा गुमाएका विदेशी नागरिकहरूले पाउने सहयोगको अभाव र नेपाली विद्यार्थीहरूले भोग्ने शोषण र एकाङ्कीपनका बहस सतहमा आएका छन् ।

विजय सापकोटा

‘द अस्ट्रेलियन होमलेसनेस मोनिटर २०२४’ का अनुसार २०२३/२४ सम्मको तीन वर्षको अवधिमा देशव्यापी रूपमा सडकमा सुत्ने मानिसहरूको संख्यामा २२ प्रतिशतले वृद्धि भएको छ । न्यु साउथ वेल्समा मात्र सन् २०२० यता सडकमा सुत्ने मानिसहरूको संख्या ५१ प्रतिशतले बढेको छ । अस्ट्रेलियामा करिब १,२२,००० मानिस घरविहीन छन्, जसमा आप्रवासी र शरणार्थीहरूको संख्या निकै उच्च देखिन्छ ।

विक्रम यही तथ्यांकको एउटा अनुहार थिए । बहसमा नआएका यस्ता अनुहारहरू अस्ट्रेलिया सापकोटाले अझै धेरै देखेका छन् । त्यसैले बुधबार लेबर, लिबरल पार्टीसहितका अन्य सांसदहरूसँग भेट गरे । विक्रम लामाको घटनालाई एउटा व्यक्तिको ‘दुःखद अन्त्य’ नभई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको व्यापक समस्याको उदाहरणका रूपमा संसदमा बोल्न आग्रह गरे ।

यसबारे अस्ट्रेलियाको संसद्मा कुरा उठ्छ या उठ्दैन समयले देखाउँछ । तर, सापकोटा आफैँ अस्ट्रेलियामा लामो समय आप्रवासी विद्यार्थीको समस्या उठाउँदै आएका विद्यार्थी नेता हुन् । उनी काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीआईएसए) का दुई कार्यकाल केन्द्रीय अध्यक्ष रहे, जसले अस्ट्रेलियामा पढ्ने सबै देशका विद्यार्थीहरूको प्रतिनिधित्व गर्छ ।

सापकोटाका अनुसार, वर्षौँदेखि उनले नेपाली दूतावासका राजदूत, नेपालका परराष्ट्र मन्त्रीहरू र एनआरएनएलाई एउटै कुरा भन्दै आएका छन्– अस्ट्रेलिया आउनुअघि नै विद्यार्थीहरूलाई सही जानकारी दिनुपर्छ । भिसा नियम, कार्यस्थलका अधिकार, मिनिमम वेज, र संकटमा सहयोग गर्ने निकायहरूको जानकारी विद्यार्थीले नेपालमै थाहा पाउनुपर्छ ।

विजय सापकोटाका अनुसार अस्ट्रेलिया जानुअघि नै विद्यार्थीहरूका लागि व्यापक प्रि–डिपार्चर सूचना कार्यक्रम राष्ट्रिय प्राथमिकताका रूपमा लागू गर्नुपर्छ ।

‘नेपाली विद्यार्थीले अस्ट्रेलियामा २५ डलर प्रतिघण्टा न्यूनतम पारिश्रमिक पाउनुपर्छ, तर कतिपय अझै पनि १५ डलरमै काम गर्छन्,’ उनले भने, ‘किनभने उनीहरू डराएका हुन्छन् । म इलिगल छु, भिसा गुम्छ, क्यासमा काम गरेको पत्ता लाग्छ भनेर । यसले गर्दा थप समस्या निम्तिएको छ ।’

सरकारले पर्याप्त काउन्सिलिङ नगरी पठाउँदा यसरी समस्या निम्तिएको उनको बुझाइ छ । विद्यार्थीहरू एजेन्टबाट सुनेको कुरा मात्र जान्दछन्, अस्ट्रेलियाको यथार्थ थाहा नै हुँदैन । धेरैलाई त पढ्न भन्दा पनि काम गर्न आएको जस्तो लाग्छ । र, हाम्रो समाजले पनि ‘कहाँ पढ्छस्’ भन्दा ‘कहाँ काम गर्छस्’ भनेर सोध्ने मानसिकता बनाएकोमा उनको गुनासो छ ।

विक्रम लामाको अवस्था पनि यस्तै थियो । सापकोटाका अनुसार, अस्ट्रेलियामा नेपाली दूतावासदेखि सरकारबाट तोकिएका सपोर्ट सिस्टम (सहायता प्रणाली) थियो, तर उनलाई यसबारे थाहै थिएन । ‘यहाँका सरकारी निकाय आममान्छेको पहुँचमा नै छैनन् । दूतावास छ, तर फोन उठ्दैनन् । हामीले सम्पर्क गर्न सहज होला, तर विक्रमजस्ता समस्यामा परेको सामान्य विद्यार्थीलाई त्यो पहुँच पाउन गाह्रो छ । यसमा सरकार गम्भीर हुनुपर्छ,’ उनले भने ।

दूतावासहरू र सरकारी निकायलाई पासपोर्ट बनाउने र औपचारिक कार्यक्रमका भूमिकामा सीमित नरहन उनको सुझाव छ । सबैभन्दा महत्वपूर्ण कुरा, अस्ट्रेलिया जानुअघि नै विद्यार्थीहरूका लागि व्यापक प्रि–डिपार्चर सूचना कार्यक्रम राष्ट्रिय प्राथमिकताका रूपमा लागू गर्नुपर्छ । नेपालका आम सञ्चार माध्यमहरूबाट यस्तो कार्यक्रम प्रसारण गर्ने, विद्यार्थी र उनीहरूका परिवारलाई अस्ट्रेलियाको यथार्थ बुझाउने काम पनि सरकारले गर्नुपर्नेमा उनले जोड दिए ।

‘अस्ट्रेलियामा नेपाली विद्यार्थीहरू तेस्रो ठूलो अन्तर्राष्ट्रिय विद्यार्थी समूहमा पर्छन् । तर निर्णय प्रक्रियामा उनीहरूको उपस्थिति न्यून छ । विश्वविद्यालय प्रशासनदेखि सरकारी नीति निर्माणसम्म नेपाली आवाज पुग्दैन,’ सापकोटाले अनलाइनखबरसँग भने, ‘यसको मूल कारण पनि जानकारीको अभाव नै हो । जो आउनुअघि नै यसबारे दीक्षित भएको छैन, उसले यहाँ आएपछि कहाँ र कसरी आवाज उठाउने भनेर जान्दैन । खासमा यहाँ आएपछि विक्रम लामाहरू हराउँदैनन्, विस्तारै प्रणालीले देख्न छोड्छ ।’

 

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?