News Summary
Generated by OK AI. Editorially reviewed.- विजय सापकोटाले अस्ट्रेलियाका सांसदहरूसँग नेपाली विद्यार्थी विक्रम लामाको मृत्यु र विद्यार्थी समस्याबारे छलफल गर्नुभएको छ।
- विक्रम लामाको मृत्युले अस्ट्रेलियाको घरविहीनता समस्या र नेपाली विद्यार्थीहरूको शोषण उजागर गरेको छ।
- सापकोटाले अस्ट्रेलिया जानुअघि विद्यार्थीहरूलाई भिसा नियम, अधिकार र सहायता प्रणालीको व्यापक जानकारी दिनुपर्ने बताउनुभएको छ।
९ वैशाख, काठमाडौं । बुधबार बिहान (नेपाली समयअनुसार) विजय सापकोटा अस्ट्रेलियाका सांसदहरूसँग छलफलमा थिए । अस्ट्रेलियास्थित अन्तर्राष्ट्रिय विद्यार्थीहरूको छाता संगठनका पूर्व अध्यक्ष रहेका सापकोटा डेलिगेसनमै पुगे ।
विषय थियो– नेपाली विद्यार्थीको मृत्यु प्रकरण ।
यसै साता द गार्जियनले प्रकाशित गरेको एक विस्तृत अनुसन्धान रिपोर्टले सिड्नीको सेन्ट जेम्स सुरुङमा ३२ वर्षीय नेपाली युवा विक्रम लामाको हृदयविदारक मृत्युबारे बाहिर ल्याएपछि यस्ता विषय पुनः सतहमा आए ।
अस्ट्रेलियाकै सामाजिक सुरक्षा प्रणाली र नेपाल सरकारको गैरजिम्मेवारीमाथि उठिरहेको प्रश्न लिएर उनीहरू त्यहाँ पुगेका थिए । ‘अहिलेको त एउटा घटना भयो । यहाँको अवस्था यति बिजोग छ कि, हाम्रो सरकार छ कि छैन भन्ने पनि थाहा छैन । आमनेपाली विद्यार्थीको पहुँचमा छैनन् । अनि यहाँकै स्थानीय प्रतिनिधिको चासोमा पनि यस्ता विषय पर्नुपर्छ भनेर हामी आएको हौँ,’ उनले भेटघाटपछि अनलाइनखबरसँग कुरा गर्दै भने ।
*****
मकवानपुरको एउटा विकट पहाडी गाउँमा हुर्किएका विक्रम सन् २०१३ मा कम्प्युटर साइन्स पढ्ने सपना बोकेर अस्ट्रेलिया पुगेका थिए । परिवारले त्यसका लागि नौ कट्ठा जग्गा बेच्यो । एउटा सपना अनि भविष्यको लागि । ‘हामीसँग पैसा थिएन,’ भाउजू उषा लामाले द गार्जियनसँग भनेकी छन्, ‘त्यसैले हामीले जग्गा बेचेर उनलाई विदेश पठायौं ।’
तर त्यो सपनाले कुनै आकार लिनसकेन । भिसा सकियो, परिवारसँगको सम्पर्क टुट्यो र अन्तमा विक्रम सिड्नीको व्यस्त सुरुङमा घरविहीन भएर बस्न थाले । पाउरोटीका टुक्रा बोकेर बस्ने उनलाई वरपरका ‘अनजान’हरूले माया गरेर ‘बर्डम्यान’ भन्थे । कारण – उनी हरेक बिहान परेवाहरूलाई दाना खुवाउँथे ।
७ डिसेम्बरमा उनै बर्डम्यानको शव स्टेसनका कर्मचारीहरूले फेला पारे, जुन करिब एक हप्तादेखि त्यहीँ थियो । जबकि एक हप्ताभर एक लाखभन्दा बढी मानिसहरू त्यहीँ छेउबाट हिँडे । शव यति सडिसकेको थियो कि, प्रहरीलाई पनि सहजै मान्छे पहिचान गर्न गाह्रो पर्यो । न्यु साउथ वेल्स प्रहरीले शव पहिचान गर्न नसकेपछि अस्ट्रेलियास्थित नेपाली दूतावासमार्फत विक्रमकी वृद्ध आमा सेतीमाया लामाको डीएनए परीक्षण गर्न आग्रह गर्यो ।
यसरी लामो समय एक नेपाली विद्यार्थी त्यो अवस्थाबाट गुज्रनु अनि मृत्यु भएको पनि यत्रो समयपछि आएर बल्ल बहस हुनु दुखद रहेको सापकोटाको भनाइ छ । ‘अझ अस्ट्रेलियामा रहेका नेपाली मिडियाले के गर्छन् थाहा छैन । नत्र यस्ता घटनाहरू घटिरहँदा न सरकारी निकाय दूतावासलाई चासो छ, न अरू सरोकारवालाहरूलाई,’ उनले प्रश्न गरे ।
नेपाली डायस्पोरामा बहस
अहिले यो घटनाले नेपालसहित पूरै नेपाली डायस्पोरामा बहस छेडेको छ । अस्ट्रेलियाकै घरविहीनता प्रणालीमा रहेको खाडल, भिसा गुमाएका विदेशी नागरिकहरूले पाउने सहयोगको अभाव र नेपाली विद्यार्थीहरूले भोग्ने शोषण र एकाङ्कीपनका बहस सतहमा आएका छन् ।

‘द अस्ट्रेलियन होमलेसनेस मोनिटर २०२४’ का अनुसार २०२३/२४ सम्मको तीन वर्षको अवधिमा देशव्यापी रूपमा सडकमा सुत्ने मानिसहरूको संख्यामा २२ प्रतिशतले वृद्धि भएको छ । न्यु साउथ वेल्समा मात्र सन् २०२० यता सडकमा सुत्ने मानिसहरूको संख्या ५१ प्रतिशतले बढेको छ । अस्ट्रेलियामा करिब १,२२,००० मानिस घरविहीन छन्, जसमा आप्रवासी र शरणार्थीहरूको संख्या निकै उच्च देखिन्छ ।
विक्रम यही तथ्यांकको एउटा अनुहार थिए । बहसमा नआएका यस्ता अनुहारहरू अस्ट्रेलिया सापकोटाले अझै धेरै देखेका छन् । त्यसैले बुधबार लेबर, लिबरल पार्टीसहितका अन्य सांसदहरूसँग भेट गरे । विक्रम लामाको घटनालाई एउटा व्यक्तिको ‘दुःखद अन्त्य’ नभई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको व्यापक समस्याको उदाहरणका रूपमा संसदमा बोल्न आग्रह गरे ।
यसबारे अस्ट्रेलियाको संसद्मा कुरा उठ्छ या उठ्दैन समयले देखाउँछ । तर, सापकोटा आफैँ अस्ट्रेलियामा लामो समय आप्रवासी विद्यार्थीको समस्या उठाउँदै आएका विद्यार्थी नेता हुन् । उनी काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीआईएसए) का दुई कार्यकाल केन्द्रीय अध्यक्ष रहे, जसले अस्ट्रेलियामा पढ्ने सबै देशका विद्यार्थीहरूको प्रतिनिधित्व गर्छ ।
सापकोटाका अनुसार, वर्षौँदेखि उनले नेपाली दूतावासका राजदूत, नेपालका परराष्ट्र मन्त्रीहरू र एनआरएनएलाई एउटै कुरा भन्दै आएका छन्– अस्ट्रेलिया आउनुअघि नै विद्यार्थीहरूलाई सही जानकारी दिनुपर्छ । भिसा नियम, कार्यस्थलका अधिकार, मिनिमम वेज, र संकटमा सहयोग गर्ने निकायहरूको जानकारी विद्यार्थीले नेपालमै थाहा पाउनुपर्छ ।
‘नेपाली विद्यार्थीले अस्ट्रेलियामा २५ डलर प्रतिघण्टा न्यूनतम पारिश्रमिक पाउनुपर्छ, तर कतिपय अझै पनि १५ डलरमै काम गर्छन्,’ उनले भने, ‘किनभने उनीहरू डराएका हुन्छन् । म इलिगल छु, भिसा गुम्छ, क्यासमा काम गरेको पत्ता लाग्छ भनेर । यसले गर्दा थप समस्या निम्तिएको छ ।’
सरकारले पर्याप्त काउन्सिलिङ नगरी पठाउँदा यसरी समस्या निम्तिएको उनको बुझाइ छ । विद्यार्थीहरू एजेन्टबाट सुनेको कुरा मात्र जान्दछन्, अस्ट्रेलियाको यथार्थ थाहा नै हुँदैन । धेरैलाई त पढ्न भन्दा पनि काम गर्न आएको जस्तो लाग्छ । र, हाम्रो समाजले पनि ‘कहाँ पढ्छस्’ भन्दा ‘कहाँ काम गर्छस्’ भनेर सोध्ने मानसिकता बनाएकोमा उनको गुनासो छ ।
विक्रम लामाको अवस्था पनि यस्तै थियो । सापकोटाका अनुसार, अस्ट्रेलियामा नेपाली दूतावासदेखि सरकारबाट तोकिएका सपोर्ट सिस्टम (सहायता प्रणाली) थियो, तर उनलाई यसबारे थाहै थिएन । ‘यहाँका सरकारी निकाय आममान्छेको पहुँचमा नै छैनन् । दूतावास छ, तर फोन उठ्दैनन् । हामीले सम्पर्क गर्न सहज होला, तर विक्रमजस्ता समस्यामा परेको सामान्य विद्यार्थीलाई त्यो पहुँच पाउन गाह्रो छ । यसमा सरकार गम्भीर हुनुपर्छ,’ उनले भने ।
दूतावासहरू र सरकारी निकायलाई पासपोर्ट बनाउने र औपचारिक कार्यक्रमका भूमिकामा सीमित नरहन उनको सुझाव छ । सबैभन्दा महत्वपूर्ण कुरा, अस्ट्रेलिया जानुअघि नै विद्यार्थीहरूका लागि व्यापक प्रि–डिपार्चर सूचना कार्यक्रम राष्ट्रिय प्राथमिकताका रूपमा लागू गर्नुपर्छ । नेपालका आम सञ्चार माध्यमहरूबाट यस्तो कार्यक्रम प्रसारण गर्ने, विद्यार्थी र उनीहरूका परिवारलाई अस्ट्रेलियाको यथार्थ बुझाउने काम पनि सरकारले गर्नुपर्नेमा उनले जोड दिए ।
‘अस्ट्रेलियामा नेपाली विद्यार्थीहरू तेस्रो ठूलो अन्तर्राष्ट्रिय विद्यार्थी समूहमा पर्छन् । तर निर्णय प्रक्रियामा उनीहरूको उपस्थिति न्यून छ । विश्वविद्यालय प्रशासनदेखि सरकारी नीति निर्माणसम्म नेपाली आवाज पुग्दैन,’ सापकोटाले अनलाइनखबरसँग भने, ‘यसको मूल कारण पनि जानकारीको अभाव नै हो । जो आउनुअघि नै यसबारे दीक्षित भएको छैन, उसले यहाँ आएपछि कहाँ र कसरी आवाज उठाउने भनेर जान्दैन । खासमा यहाँ आएपछि विक्रम लामाहरू हराउँदैनन्, विस्तारै प्रणालीले देख्न छोड्छ ।’
प्रतिक्रिया 4