News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जेरी : द लास्ट क्लाइम्ब'को निर्देशकमा सुयोग गुरुङले निरन्तरता पाएका छन् र बुधबार निर्माता सरोज न्यौपानेसँग सम्झौता भएका छन्।
- 'जेरी : अन टप'को दोस्रो श्रृंखला यो फिल्म हो र शीर्ष भूमिकामा अनमोल केसीलाई निरन्तरता दिइने निर्णय गरिएको छ।
- निर्देशक गुरुङले पारिश्रमिकस्वरुप ७२ लाख मूल्य पर्ने 'लिप मोटर्स'को 'सी टेन' मोडलको कार लिएका छन् र पटकथा लेखन कार्य अझै २/३ महिना चल्नेछ।
काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका हुने फिल्म ‘जेरी : द लास्ट क्लाइम्ब’को निर्देशकमा सुयोग गुरुङले निरन्तरता पाएका छन् । बुधबार निर्माता सरोज न्यौपाने र निर्देशक गुरुङबीच सम्झौता भएको छ ।
यो फिल्म २०८२ सालमा प्रदर्शनमा आएको हिट फिल्म ‘जेरी : अन टप’को दोस्रो श्रृंखला हो । गतसाता निर्माताले शीर्ष भूमिकामा अभिनेता केसीलाई नै निरन्तरता दिने निर्णय गरेका थिए ।
दोस्रो श्रृंखलाको निर्देशकमा अनुबन्धित भएपछि गुरुङले पारिश्रमिकस्वरुप ७२ लाख रुपैयाँ बजार मूल्य पर्ने ‘लिप मोटर्स’को ‘सी टेन’ मोडलको कार लिएका छन् । आयोजित संक्षिप्त समारोहमा गुरुङले गाडी लिएका हुन् ।
यसबारे निर्माता न्यौपानेले भने, ‘कार हामीले दिएका हैनौं । फिल्म निर्देशनको पारिश्रमिकस्वरुप उहाँले उक्त गाडी लिनुभएको हो । सुयोगजी यो भन्दा माथिको पारिश्रमिकलाई योग्य हुनुहुन्छ ।’
अनन्या फिल्म्सले गतसाता दोस्रो श्रृंखला बनाउने घोषणा गरेको थियो । उक्त फिल्म अनन्या फिल्म्स्को इतिहासमा सर्वाधिक कमाउने फिल्म समेत हो । निर्माता न्यौपानेका अनुसार अन्य कलाकार क्रमशः तय हुनेछन् ।
यो फिल्मको पटकथा अहिले ब्रजेश खनालले लेखिरहेका छन् । अझै २/३ महिना पटकथा लेखन कार्य चल्ने र त्यसपछि छायांकनमा अघि बढ्ने तयारी छ । ‘जेरी : अन टप’ पर्वतीय पृष्ठभूमिमा भनिएको रोमान्टिक कथाको फिल्म थियो ।
प्रतिक्रिया 4