+
+
Shares

वीरगञ्जमा मेनरोड विस्तार सुरु भएसँगै व्यावसायिक सटरको अभाव

सडक डिभिजन कार्यालय हेटाैंडाले गत आइतबारदेखि मुख्य सडकको दायाँबायाँ २५/२५ मिटरभित्रका संरचना हटाउन थालेपछि धेरै व्यवसायी विस्थापित हुन पुगेका छन् ।

सफल खतिवडा सफल खतिवडा
२०८३ वैशाख १० गते १६:२१

१० वैशाख, वीरगञ्ज । वीरगञ्जमा मेन रोड विस्तारसँगै व्यापारिक क्षेत्र प्रभावित हुँदा सहायक रोडमा सटर अभाव भएको छ । सडक डिभिजन कार्यालय हेटाैंडाले गत आइतबारदेखि मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटरभित्रका संरचना हटाउन थालेपछि धेरै व्यवसायी विस्थापित हुन पुगेका छन् ।

जसका कारण नयाँ व्यवसाय सुरु गर्न चाहने मात्रै होइन, पुराना व्यापारीहरू समेत सटर नपाउने समस्यामा परेका छन् । सटर पाइए पनि अत्यधिक भाडा तिर्नुपर्ने बाध्यता बढेको छ ।

घरधनीहरूले अवसरको फाइदा उठाउँदै भाडा मनलाग्दी बढाएको गुनासो व्यापारीहरूको छ । यसले साना तथा मध्यम व्यवसायीहरूलाई झनै आर्थिक दबाबमा पारेको देखिन्छ ।

यहीँ अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले कडाइका साथ हस्तक्षेप गर्ने संकेत दिएको छ । महानगरका मेयर राजेशमान सिंहले बजारमा भइरहेको अनियमितता नियन्त्रण गर्न आवश्यक कदम चालिने जानकारी दिए ।

‘विकासको नाममा भइरहेको संरचना हटाउने कामका कारण व्यवसायीहरूलाई असहज अवस्था सिर्जना भएको हामीले बुझेका छौं,’ उनले भने, ‘तर, यस्तो संवेदनशील समयमा केही घरधनीहरूले अनुचित रूपमा भाडा बढाउने, पुराना व्यवसायीलाई हटाएर बढी भाडा दिने नयाँ व्यक्तिलाई सटर दिने जस्ता गतिविधि स्वीकार्य हुन्न ।’

महानगरपालिकाले स्पष्ट रूपमा अनुगमन सुरु गर्ने मेयर सिंहले बताए । ‘यदि कुनै घरधनीले पुराना व्यवसायीलाई जबरजस्ती विस्थापित गरेको वा अस्वाभाविक रूपमा भाडा वृद्धि गरेको पाइयो भने, कानुनी कारबाही गरिनेछ,’ उनले भने । आवश्यक परे त्यस्ता घरधनीमाथि जरिवाना, अनुमति रद्दजस्ता कडा कदम पनि चाल्न पनि सकिने उनले बताए ।

व्यवसायीहरूको हितलाई प्राथमिकतामा राख्दै साना तथा मझौला व्यवसायीहरूको संरक्षणमा महानगर प्रतिबद्ध रहेको सिंहको दाबी छ । उनले अगाडि भने, ‘बजारलाई सन्तुलित राख्न, भाडा दरलाई व्यवस्थित गर्न र विस्थापित व्यवसायीलाई सहजीकरण गर्न महानगरले छिट्टै विशेष कार्य योजना ल्याउने तयारी गरेका छौं ।’

घरधनीहरूलाई पनि सामाजिक जिम्मेवारी बुझ्न आग्रह गर्दै उनले यो समय नाफा कमाउने नभई सहकार्य र सहअस्तित्वको रहेको उनले बताए ।

वीरगञ्जमा सडक विस्तारपछि उत्पन्न सटर अभावले व्यापारिक वातावरण थप जटिल बनेको छ । मुख्य बजार क्षेत्रका संरचना हटाइएपछि विस्थापित व्यवसायीहरू वैकल्पिक सटर खोज्दै भौँतारिन बाध्य भएका छन्, जसका कारण भाडा दर अस्वाभाविक रूपमा बढेको छ ।

वीरगञ्ज–९, घण्टाघर चोक नजिकै विगत १२ वर्षदेखि मोबाइल पसल सञ्चालन गर्दै आएका एक युवा व्यवसायीले अहिलेको अवस्था निकै कठिन भएको बताए । ‘पहिले यही सटरको भाडा १० हजार रुपैयाँ मात्र तिर्थेँ । बिस्तारै १५ हजार २० हजार हुँदै अहिले ३० हजारभन्दा बढी पुगेको छ । बिजुली, इन्टरनेट र अन्य खर्च जोड्दा महिनामा झन्डै ३५ हजार रुपैयाँ त खर्च नै हुन्छ,’ उनले भने ।

अहिले घरबेटीले अझै भाडा बढाउने संकेत गरिरहेको उनको गुनासो छ । ‘यस्तो अवस्थामा सानो व्यवसाय धान्न निकै गाह्रो भइरहेको छ,’ उनले भने ।

मुख्य बजार क्षेत्रमा सटर नपाएपछि व्यवसायीहरू सहायक सडकतर्फ सर्न बाध्य भएका छन् ।

यस्तै नयाँ डेरावालहरूको संख्या बढेसँगै वीरगञ्जमा घर भाडा पनि आकासिएको छ । भाडा निर्धारणको कुनै स्पष्ट मापदण्ड नहुँदा घरधनीहरूले मनपरी रूपमा भाडा बढाइरहेका छन् ।

पहिले ८–१० हजारमा पाइने कोठा अहिले १५–२० हजार पुगेको छ । कसैले नियन्त्रण गर्ने निकाय छैन, जसले गर्दा घरधनीहरू मनलाग्दी गरिरहेका छन् ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?