News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलको कार्काभेलोसमा मृत सन्तोषकुमार मोक्तानको शव नेपाल पठाउन ४ हजारदेखि ४ हजार ५ सय युरो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अपिल गरिएको छ।
- पोर्चुगलमा मासिक पाँचभन्दा बढी नेपालीको मृत्यु हुने गरेको र शव व्यवस्थापनका लागि विभिन्न जातीय तथा क्षेत्रीय सङ्गठनहरूले आर्थिक सहयोग र कानुनी सहजीकरण गर्दै आएका छन्।
- पोर्चुगल सरकारको सामाजिक सुरक्षा कोषबाट शव व्यवस्थापनका लागि १ हजार ६ सय युरो उपलब्ध हुन्छ, तर मृतक परिवारलाई जानकारी नहुँदा रकम नपुगेको एनआरएनए अध्यक्ष सुजन मोक्तानले बताएका छन्।
१० वैशाख, पोर्चुगल । महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमाराका सन्तोषकुमार मोक्तानको ८ अप्रिल २०२६ मा पोर्चुगलको कार्काभेलोस सहरमा मृत्यु भयो । तीन वर्षदेखि पोर्चुगलमा रहेका ३५ वर्षीय मोक्तानको मृत्युले नेपालमा रहेको परिवारमा सन्नाटा छायो ।
यो पीडामा थप पीडा तब थपियो, जब छोराको पार्थिव शरीर घर झिकाउन सकिएन । आर्थिक बोझ र झन्झटिलो प्रक्रियामा परिवार पर्यो । नेपालसम्म शव पुर्याउन आवश्यक रकम अभावका कारण दुई सातादेखि उनको शव पोर्चुगलमै छ ।
नेपालमा रहेका उनका परिवारजनले काजकिरिया गर्न र ‘अन्तिम मुख’ हेर्नका लागि शव पठाइदिन विभिन्न सङ्घ-संस्थालाई आग्रह गरेपछि अहिले तामाङ समाज पोर्चुगलले यसको अग्रसरता लिएको छ । मोक्तानको शव नेपाल पठाउन आवश्यक रकम सङ्कलनका लागि समाजले सार्वजनिक रूपमा आर्थिक सहयोगको अपिल गरेको छ ।
‘मृतकको परिवारको आग्रहअनुसार शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ, तर ४ हजारदेखि ४ हजार ५ सय युरो खर्च हुने भएकाले सहयोग गर्न पोर्चुगलमा रहेका नेपालीहरूलाई आग्रह गर्दछौँ,’ समाजका अध्यक्ष कुमारसिंह बलले सूचनामार्फत भनेका छन् ।
यहाँ शव सुरक्षित राख्न महँगो पर्ने र अहिले हवाई भाडा महँगो भएका कारण दिनानुदिन खर्च बढ्दै गएकाले यथाशीघ्र मोक्तानको शव नेपाल पठाउन आफूहरू अग्रसर रहेको बलले बताए ।
तामाङ समाज पोर्चुगलका महासचिव मीनकुमार योञ्जनका अनुसार मृतक मोक्तानको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण उनको शव नेपाल पठाउनका लागि यहाँ आर्थिक सहयोग सङ्कलन गर्नुपरेको हो । त्यसका लागि परिवारको सहमतिमा तामाङ समाजको बैङ्क खातामा रकम जम्मा गर्न आह्वान गरिएको छ ।
००० ०००
सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लाका प्रकाश गुरुङले ६ अप्रिल २०२६ मा पोर्चुगलस्थित आफ्नै निवासमा आत्महत्या गरे । ओदिमिरा बस्दै आएका गुरुङ आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए । गुरुङको शव १५ दिनपछि (२१ अप्रिल २०२६) पोर्चुगलकै कामारातेस्थित सिमेट्रीमा अन्त्येष्टि भयो ।
उनको शव नेपाल पठाउनका लागि पोर्चुगलमा रहेका सङ्खुवासभाका नेपालीहरूले आर्थिक सहयोग सङ्कलन गरे । शव नेपाल फिर्ती गर्ने कानुनी प्रक्रियाहरूमा पनि यहाँ रहेका नेपालीहरूले निकै दौडधुप गरे ।
‘तर परिवारका सदस्यले अब यतै दाहसंस्कार गरे हुने बताएपछि उनको अन्त्येष्टि पोर्चुगलमै भयो,’ गुरुङको शव फिर्ती अभियानमा लागेका चक्र गुरुङले भने । उनका अनुसार सङ्खुवासभा समाज र सुजन मोक्तान नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका पदाधिकारीहरूले धार्मिक विधिअनुसार गुरुङको दाहसंस्कार गरे ।
दाहसंस्कार गर्न २ हजार युरो खर्च लागेको छ । यसका लागि यहाँको सामाजिक सुरक्षाबाट पछि प्राप्त हुने १ हजार ६ सय युरो प्राप्त भएपछि दाहसंस्कार गर्ने केन्द्रलाई बुझाउने गरी सुजन मोक्तान जमानी बसेका छन् । बाँकी रहेको ४ सय युरो मोक्तान अध्यक्ष रहेको एनआएएनएले बेहोरेको छ ।
प्रकाश गुरुङको शव नेपाल नै पठाउनका लागि यहाँ रहेको सङ्खुवासभा समाजले आर्थिक सङ्कलन अभियान चलाएको थियो । तर मृत्यु भएको दुई साता बितिसकेकाले आफन्तले यतै अन्त्येष्टिका लागि आग्रह गरेका हुन् ।
चक्र गुरुङका अनुसार दुई साताको बीचमा ९ हजार युरो रकम सङ्कलन भएको छ । उनका अनुसार अब उक्त रकम मृतकको परिवारलाई नेपाल पठाइने भएको छ । ‘सुजन मोक्तान र उहाँ अध्यक्ष रहेको एनआरएनएको सहयोगमा दाहसंस्कार सकिएको छ, प्रकाशको शव नेपाल पठाउनका लागि हामीले सङ्खुवासभाबाट आएर पोर्चुगलमा बसोवास गर्नेहरूसँग मात्रै आर्थिक सहयोग जम्मा गरेका छौँ,’ चक्र गुरुङले भने ।
मृतकको परिवारको आर्थिक अवस्था दयनीय रहेको र दुई बालबालिकाको पालनपोषण र पढाइका लागि उक्त रकम नेपाल पठाउने सहमति भएको उनले बताए ।
महिनामै ५ जनाको मृत्यु
पोर्चुगलमा रहेका नेपालीहरूको विभिन्न घटना तथा कालगतिले मृत्यु हुनेको सङ्ख्या मासिक ५ भन्दा बढी रहेको बताइएको छ । सन् २०२५ मा मात्रै ६२ जनाभन्दा बढीको मृत्यु भएको छ । सवारी दुर्घटना, आत्महत्या, समुद्रमा डुबेर मर्नेहरूको सङ्ख्या धेरै देखिएको छ । यसरी मृत्यु हुने नेपालीहरूको परिवार र आफन्त यतै भएका र आर्थिक अवस्था राम्रो भएकाहरूको बाहेक सबैको शव नेपाल नै लगिँदै आएको छ ।
लिस्बनस्थित नेपाली राजदूतावासले एक वर्षको अवधिमा २६ वटा लास नेपाल फिर्तीका लागि सहजीकरण गरेको थियो । १४ अप्रिल २०२५ देखि १३ अप्रिल २०२६ को अवधिमा पोर्चुगलमा निधन भएका नेपालीहरूमध्ये २६ वटा शवको अन्तिम संस्कारका लागि नेपाल पठाउन सहजीकरण गरेको राजदूतावासका प्रवक्ता तथा नियोग उपप्रमुख शत्रुध्वन पोखरेलले जानकारी दिए ।
उनका अनुसार आर्थिक सहयोगबाहेक अन्य कानुनी र कागजातसम्बन्धी सहयोग मृतकका परिवारलाई राजदूतावासले प्रदान गर्दै आएको छ ।
श्रम स्वीकृति लिएर विदेश रहेका नेपालीको मृत्यु भएको हकमा मात्रै शव फिर्ताका लागि सरकारले आर्थिक सहयोग गर्ने कानुनी प्रावधान रहेकाले पोर्चुगलमा मृत्यु भएकाहरूको हकमा सरकारका तर्फबाट आर्थिक सहयोग प्राप्त हुँदैन ।
युरोपेली जुनसुकै मुलुकको भ्रमण, अध्ययन, व्यापार वा अन्य भिसा लिएर पोर्चुगल आई नेपालीहरू बसोवास गर्दै आएका छन् । सन् २०२५ को अन्त्यसम्मको तथ्याङ्कमा पोर्चुगलका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन हजार पनि नरहेको पोखरेलको भनाइ छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरका अनुसार पोर्चुगलमा मासिक कम्तीमा ५ जनाको मृत्यु भइरहेको छ । उनका अनुसार अघिल्लो वर्ष सन् २०२५ मा मृत्यु हुनेको तथ्याङ्कलाई केलाउँदा मात्रै पनि यो सङ्ख्या निस्किएको हो । निधन भएकामध्ये कोही-कसैको अन्तिम संस्कार मात्रै यता हुने गरेको र सम्भव भएसम्म परिवारले शव नेपाल नै झिकाउने उनी बताउँछन् ।
‘प्रायः वैदेशिक रोजगारीमा रहेकाहरूको आर्थिक अवस्था कमजोर नै हुन्छ, मृतकका परिवारले शव नेपाल पठाउनका लागि हारगुहार गर्न थाल्छन्,’ मगर भन्छन्, ‘हामीजस्ता सामाजिक संस्थाहरूलाई निकै मुस्किल परेको छ ।’
हालसम्म विभिन्न जातीय, क्षेत्रीय सङ्गठनहरूले शव फिर्ताका लागि आर्थिक सङ्कलनदेखि कानुनी प्रक्रियाका लागि सहजीकरण गर्दै आएका छन् । ‘कुनै आदिवासी जनजातिको निधन भए हामीजस्ता संस्थाले, महिलाको भए महिला समूहले, ठकुरीको निधन भए ठकुरी समाजले, बागलुङ जिल्लाको भए बागलुङ सेवा समाजले वा यस्तै जिल्ला-जिल्लाको समाजले शव व्यवस्थापनको जिम्मा लिनुपरिरहेको छ,’ मगर भन्छन् ।
पोर्चुगलमा नेपाली राजदूतावास स्थापना भइसकेकाले शव व्यवस्थापन र फिर्तासम्बन्धी कार्य पनि दूतावासले गर्नुपर्ने तर्क उनी गर्छन् । ‘शव व्यवस्थापनको नेतृत्व राजदूतावासले गर्नुपर्यो, जसले गर्दा हामीले पोर्चुगलमा पनि नेपाल सरकार छ है भन्ने अनुभूति गर्न पाउँछौँ,’ अध्यक्ष मगरले भने ।
प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्री एउटा शव नेपाल पठाउँदा ४ हजारदेखि ५ हजार युरोसम्म खर्च भइरहेको बताउँछन् । यहाँ रहेको नेपाली समुदाय शव नेपाल पठाउनका लागि चन्दा सहयोग गरेर हैरान भइसकेको उनको भनाइ छ ।
‘प्रत्येक हप्ता एउटा न एउटा शव अलपत्र परेको खबर बाहिर आउँछ, थोरै-थोरै रकम सहयोग गर्दा पनि यहाँका नेपालीहरूलाई भार पर्न थालेको छ,’ खत्रीले भने । त्यसका लागि उपयुक्त विकल्प र दीर्घकालीन योजना तयार गर्न उनले नेपाली राजदूतावासलाई आग्रह गरेका छन् ।
नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रममा उनले यहाँको मुख्य समस्याका रूपमा शव व्यवस्थापनलाई राखेर दूतावासबाट नै सहायता कार्यक्रम तय गर्न आग्रह गरेका हुन् ।
परिवारसम्म पुग्दैन सरकारी सहयोग
चार दिनअघि एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन मोक्तानले प्रकाश गुरुङको दाहसंस्कार आफूहरूले पोर्चुगलमै गर्ने भएकाले उनको नाममा चन्दा सङ्कलन नगर्न सार्वजनिक अपिल गरे । चार सय युरो खर्च लाग्ने र त्यो खर्च आफ्नो नेतृत्वको एनआरएनएले बेहोर्ने भन्दै उनले जारी गरेको सार्वजनिक सन्देशको अर्थ भने फरक थियो ।
जब मोक्तानले यो सन्देश सार्वजनिक गरे, त्यसपछि पोर्चुगलको सामाजिक सुरक्षा कोषबाट शव व्यवस्थापनका लागि प्राप्त हुने रकमका बारे जानकारी सार्वजनिक भएको छ ।
पोर्चुगल सरकारको सामाजिक सुरक्षा कोषबाट शव व्यवस्थापनका लागि १ हजार ६ सय युरो परिवारलाई वा शव व्यवस्थापनमा समन्वय गर्ने संस्थालाई उपलब्ध हुन्छ । त्यो आर्थिक सहयोगका बारेमा धेरै कमलाई जानकारी छ ।
रकम लिनका लागि अपनाउनुपर्ने केही प्रक्रियाका कारण ढिला हुने भएकाले मृतकका परिवारलाई यस विषयमा खास जानकारी नै हुँदैन । प्रकाश गुरुङको शव फिर्ता अभियानमा लागेका चक्र गुरुङका अनुसार यहाँको सामाजिक कोषबाट प्राप्त हुने उक्त रकम प्राप्त भएपछि शव व्यवस्थापन गर्ने संस्थालाई भुक्तान हुने गरी एनआरएनएले कागजात बनाएको छ ।
त्यसमा नपुग भएको ४ सय युरो मात्रै एनआरएनएले भुक्तानी गरेको छ । पोर्चुगलमै दाहसंस्कार गर्न चाहनेलाई ४ सय युरो मात्रै खर्च लाग्ने तथ्य यस घटनाबाट बाहिर आएको छ । यहाँको सरकारका तर्फबाट प्राप्त हुने रकम प्रायः मृतकको परिवारलाई थाहै नहुने चक्र गुरुङ बताउँछन् ।
शव व्यवस्थापनको नेतृत्व गर्ने संस्थालाई पछि उक्त रकम आउने भएकाले नेपालमा रहेका मृतकका परिवारलाई जानकारी नहुने उनी बताउँछन् ।
‘यहाँ शव नेपाल पठाउने वा यहीँ दाहसंस्कार गर्नका लागि चन्दा सङ्कलन अत्यधिक हुने र त्यसको पारदर्शिताको विषय सतहमा आउन थालेको छ, त्यसलाई रोक्न र व्यवस्थित गर्न जरुरी भएको छ,’ एनआरएनए अध्यक्ष मोक्तान भन्छन्, ‘मृतकका परिवारलाई काजकिरियाबापत यहाँबाट प्राप्त हुने रकमका बारेमा धेरैलाई जानकारी नहुँदा सम्बन्धित परिवारले त्यो रकम पाएका छैनन् ।’
प्रतिक्रिया 4