१२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ ।
ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआईजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएकोप्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनुपर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’
आफूलाई माननीयका रुपमा अर्थ्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’ भन्दै थर्काएका थिए ।
सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट उनको अभिव्यक्ति प्रति विरोध हुन थालेको छ । पूर्व शिक्षामन्त्री महावीर पुनले आफ्नो स्वागत गरेनन् भनेर प्रधानाध्यापकलाई थर्काउने पोखरेललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
पोखरेलको नाम नलिइकन पुनले सांसद जनताको नोकर भएको उनलाई सुझाव दिएका छन् । ‘यिनी कुन पार्टीका हुन् कुन्नि ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सांसद भनेको जनताको नोकर हो । एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नुपर्छ’ पूर्वमन्त्री एवं म्याग्दीबाट निर्वाचित पुन भन्छन्, ‘५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनुपर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनुहुन्छ ? कि तुरुन्त माफी माग्नु पर्यो कि त सारा जनताले फिर्ता बोलाउनु पर्यो । सांसद पदको बेइज्जत नै गर्यो त ।’
पोखरेलले गरेको व्यवहारप्रति रास्वपाका नेता कार्यकर्ताले आपत्ति जनाएका छन् । केन्द्रीय सदस्य एवं मोरङ-३ बाट निर्वाचित गणेश कार्कीले ‘भुई नछोड्न’ पोखरेललाई सुझाव दिएका छन् । सांसदलाई ‘माननीय’ भनिएको राम्रो नसुनिने कार्कीको टिप्पणी छ । पोखरेललाई लक्षित गर्दै कार्की सामाजिक सञ्जालमा लेख्छन्, ‘यही सांसद पद पनि बढीमा ५ वर्ष हो । के बानी पार्नु ? अनि ‘हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको दुई महिना नि भा’छैन, के बिर्सिनु ! भुईं नछोडौं न है ।’
शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल रास्वपामा सांसद पोखरेलले प्रधानाध्यापकलाई गरेको अपमानप्रति आपत्ति जनाएका छन् । पत्रकार दाहाल सामाजिक सञ्जालमा लेख्छन्, ‘आफू आउँदा स्वागतार्थ स्कूल गेटमा लामबद्ध नभएकोमा प्रधानाध्यापक पद र व्यक्तिको सार्वजनिक अपमान गर्नेलाई ’माननीय’ मान्नु कि धिक्कार्नु ?’
रास्वपाका कार्यकर्ता पनि सांसद पोखरेलले देखाएको व्यवहारप्रति रुष्ट बनेका छन् । सामाजिक सञ्जाल मार्फत पोखरेल लक्षित टिप्पणीहरु रास्वपा कार्यकर्ताले व्यक्त गरिरहेका छन् । रास्वपाको स्थापनाकालदेखि पार्टी कार्यमा सक्रिय स्वस्तिका लामिछानेले पनि मतदातालाई थर्काउने पोखरेलको व्यवहारप्रति आपत्ति जनाएकी छन् ।
‘माननीयज्यूले बोल्न सिक्नुपर्ने रहेछ । बरु, बोल्न सिक्ने कक्षा सुरु गर्नुस् । हामी सिकाइदिउँला जनतासँग कसरी बोल्ने भनेर । ४ वर्षको अनुभव छ हामीसँग’ नेतृ लामिछाने लेख्छिन्, ‘फौजीमा आफूभन्दा सानालाई थर्काए जसरी आफ्ना मतदाता थर्काउन पाइँदैन हेक्का रहोस् । तपाईंलाई माननीय बनाउन हाम्रो मिहिनेत कति छ भन्ने तपाईंलाई थाहा छैन होला । ४ वर्षदेखि गरेको हाम्रो दु:खको कदर गर्दिनुहोला । माननीय भएँ भन्दैमा मैमत्ता हुने काम बन्द गरियोस् । कसले बनायो माननीय यिनै जनताले होइन ? माथि उचाल्न सक्नेले भुईंमा पछार्न नि सक्छ्न हेक्का रहोस् ।’
प्रतिक्रिया 4