News Summary
Generated by OK AI. Editorially reviewed.- राधा ५८ वर्षपछि जन्मघर अर्थुङ्गे-बाँसबोट पुगेर बाल्यकालका सम्झनामा डुबिन् र गाउँको परिवर्तन देखेर भावुक भइन्।
- राधाको निधनपछि छोरीज्वाइँ बेलायतबाट आएर कालीगण्डकी किनारमा उनको अन्तिम संस्कार गरियो।
राधा, ए राधा ?
‘चालचुल’ छैन त !
अझै ओछ्यानमै ?
आफ्ना भावना मिसाउँदै बोइले थपिन्- हुन पनि माइतीमा नलागेको निद्रा अन्त कहाँ लागोस् छोरीचेलीलाई।
अझै केही बोलिनन् राधा।
‘आमाबाको काख र बालपन बिताएको खाट भेटेपछि त घाम डाडाँपारी पुगिसक्दा पनि पत्तो हुँदैरहेनछ है ! उठ अब । तिमीलाई लिन आएकी म ।’
नजिकै पुगेर घचघच्याउँदै बोलिन् बोइ– वर्षौंदेखि गुम्सिएका मनका पोका खोल्नुछ दिनभरि।
अहँ ! न चल्मलाइन न बाक्य निस्कियो।
हल्लाएर उठाउन खोजिन् बोइले।
शरीरको चिसोपनाको अनुभवले खङ्ग्रङ्ग परिन् बोइ । ओठतालु सुक्यो उनको।
राधा……! के भयो तिमीलाई !
ए आमै ! हुँहुँहुँ………………………आत्तिँदै, चिच्याउँदै रुन थालिन् ।
यसरी जन्मघरमा अन्तिम श्वास फेरिसकेकी थिइन् राधाले ।
…………………
बाँके कोहलपुरबाट डेढ दिनको बस यात्रापछि अस्ति झिसमिसेमा म्याग्दी सदरमुकाम बेनीबजारको कालीपुलमा ओर्लिएकी थिइन् राधा । छङ्छङ् बगिरहेकी पवित्र कालीगण्डकीलाई श्रद्धा र प्रेम अर्पण गरिन् त्यहीँबाट । मंसिरको घुरमैलो बिहान । उदाउँदै गरेको रविकरको प्रवेशले कहीं कहीं रछाया, आक्कलझुक्कल ओहोरदोहोर गरिरहेका मान्छेका छायाँ।
स्कुले उमेरमा काली किनारमा बिताएका मगनमस्त समयको बाढी चल्यो एक्कासी । कानमा उस्तै गुञ्जिरहेको थियो कालीको सुसाइ । प्रष्ट नदेखिए पनि राधाले अनुमान लगाइन्- काली साँघुरिँदै गइछन् । जलप्रवाह कम भएछ ।
फेरि मनमनै सोचिन्- कालचक्रले र कदाचित आफ्नै बेवास्ताले रोग र बुढ्यौलीका कारण मेरो शरीर गलेजस्तै त हो, मानिसका अमानवीय व्यवहार र जलवायु परिवर्तनको असरले कालीगण्डकी सायद आफ्नो स्वरुप बदल्न बाध्य भइन्।
मनमा कुरा खेलाउँदै अघि बढाइन् पाइला । पुग्नु थियो- अर्थुङ्गे-बाँसबोट ।
बाँसबोट, जहाँ उनले पहिलो पाइला टेकेकी थिइन्, ५८ वर्षअघि।
विज्ञान भन्छ- साढे चार अर्ब वर्षपहिले पृथ्वीको जन्म भएको थियो । ५१ करोड ७२ हजार किलोमिटर क्षेत्रफलमा फैलिएको छ पृथ्वी । अनेक प्रलय, संकट बेहोर्दै र सामना गर्दै यिनले आफूलाई प्राणीजगतको साझा घरमा रुपान्तरण गरिन् ।
यो विशाल पृथ्वीमा त्यही सानो ‘बाँसबोट’ नै संसार बन्यो राधाका लागि । र, सर्वप्रिय पनि । जहाँको माटोको सुगन्धले उनलाई सदा तानिरहन्थ्यो । आज पनि त्यही सुगन्ध र स्मृतिहरूले खिच्दै थियो उनलाई।
हुन त, बेनीबजारबाट खासै टाढा होइन अर्थुङ्गे-बाँसबोट । हुलाकचोकदेखि २ घण्टा ठाडो पैदल यात्रापछि पुगिने । स्कुले उमेरमा सल्लेरी वन हुँदै बाख्राका पाठा उफ्रेजसरी उफ्रँदै दिनमै दुई चारपटक ओहोरदोहोर गरेकी हुन् राधाले उहिले-उहिले । हिजोआज त पिचबाटो बनिसकेछ । तर गाडी फेला परेन । बाटो पिच भएर के गर्नु ? गाडी चढ्ने यात्रु नभएपछि । आक्कल-झुक्कल जाने यात्रुको प्रतीक्षा गर्दागर्दै गाउँ जाने जिप कहिले त बेलुकी मात्रै हिँड्नेरहेछ।
त्यस्तो अनिश्चित यात्रा कुर्नुभन्दा उकालै लाग्नु उचित लाग्यो उनलाई । तर आज, रोग र बुढ्यौलीले गलेको शरीर कहाँ सजिलै फड्कन्थ्यो र हिजोजसरी ! त्यसमाथि शीतले छपक्कै ढाकेको सल्लेरीमा एकाबिहानको यात्रा जोखिमपूर्ण पनि थियो । तर, थातथलोसँग मिलनको ब्यग्रताले त्यो जोखिम भुलाइदियो ।
घामको पनि प्रतीक्षा नगरी पञ्चमीका पाइलाजसरी राधाले पाइला अघि बढाइन् । केही माथि पुगेपछि पारिलो घाम रनवन फैलियो । कम्ता मोहक थिएन यो दृश्य । पारिलो घामले पिठिम (पिठ्युँ)मा स्पर्श गर्यो । सानो छँदा सखारै दूध पुर्याउन सदरमुकाम जाने बा’को पछिपछि ओराली झरेका र फर्कँदा यस्तै पारिलो घामसँग रमाउँदै उकाली चढेका दिन राधाका आँखा अघिल्तिर आए ।
‘आँपारुख चौतारो’ (आँपको रुख अनि पिपल लहरै भएको फराकिलो चौतारो) पुग्नै दुई घण्टा लाग्यो । देउराली भन्ज्याङ र गौँडामा पहिले पानीका मूल थिए । पथिकले प्याससँगै यात्राको थकान मेट्थे । एक ठाउँबाहेक अन्यत्रका मूल सुकिसकेछन् । विकास ल्याउने नाममा बर-पिपल काटिएछन्, चौतारा मासिएछन्। ‘बर-पिपलजस्तै तपीरहनू’ भनेर देउसीमा आशिष् दिने समाजको यो अवस्था देखेर राधा अवाक् बनिन् ।
गाउँ सुरु हुनै लाग्दा भेटिएको धाराको चिसो पानीले केही सन्तोष दियो । तृप्तीको भावले मुसुक्क मुस्कुराइन् । अनि सानो स्वरमा बोलिन्- यै पानीको सम्झनाले त यत्रो उकालो कट्न हिम्मत दियो नि ।
अमृतजस्तै पानीले शरीरमा नयाँ शक्ति दियो, साहस दियो । केहीबेरपछि उनी त्यही घरको अघिल्तिर थिइनँ, जहाँ उनको बालवय बितेको थियो । झोला भुइँमा फ्यात्त फाल्दै सुस्केरा हाल्दै पिँढीमा थचक्क बसिन् । माइतीघरमा स्वागतको मुस्कान दिने कोही थिएन । रित्तो घर, रित्तो आगन । कोही नहुँदा एक्लिएको घर थोत्रिएको थियो । माटो उप्किएको भित्तामा स्वर्गीय भइसकेका बाआमाको धमिलो तस्वीर झुण्डिरहेको थियो । सायद कसैको प्रतीक्षामा ।
उनले ढोकातिर एकनास हेरिरहिन् । ‘छोरी आइस् ? बस नानी, म मोही ल्याउँछु’ भन्दै आमा निस्कन्छिन् कि जसरी निकैबेर हेरिरहिन् । मोही ल्याउने कोही थियो न सोधखोज गर्ने । भरिएका आँखा बर्कोले पुछिन् । रित्तो घरको आगन, पिँढी, चोटा-कोठा, कटेरोमा ओहोरदोहोर चलिरह्यो उनको।
आगनको माटो कोट्याएर निधारमा दलिन् । आगनछेउमा भत्किसकेको तुलसी मठमा लडिराखेको सालिग्राम बर्कोले पुछिन् र राखिदिइन् । निकैबेर राम्चेको डाँडातिर हेरेर टोलाइन् । दलानमा माहुरीको काठे घार उस्तै थियो । दलिन, खटप्वालमा गौथलीका सुन्दर गुँड थिए । राधाले सोचिन्– घरगाउँको माया मारेर मान्छे परदेशिए, बरु माहुरी र गौथलीले माया मार्न सकेनछन् ।

राधा थकित थिइन् । तापनि आफूले बाल्यकाल र बाआमाले सम्पूर्ण जीवनचोला बिताएको घर पुग्दा उनमा छुट्टै खुसी र सन्तुष्टि थियो । दिउँसोतिर माइलाबाको घरतिर लागिन् । ८५ वसन्त पार गरिसकेका माइलाबा सदाझै पिँढीमा बसिरहेका थिए । एकलास जस्तै बनेको थियो माइलाबाको घर।
दिनभर एकालाप गर्नु बाध्यता थियो । ११ छोराछोरीका पिता माइलाबा जीवनको उत्तरार्धमा आइपुग्दा केही नभएका टुहुराजस्तै बनेका थिए ।
नजिकै पुगेर राधाले बोलाइन्- बा ! माइला बा !
ठम्याउन कठिन आँखा । मुजैमुजा परेको भावशून्य अनुहार । दाँत झरिसकेकाले बोली बुझ्न कठिन । तै पनि माइला बाले जेनतेन भने- को आयौ बा ?
म राधा क्या माइलाबा- उनले भनिन्।
११औं सन्तान जन्माउने क्रममा माइली आमाले संसार छोडेपछि माइला बा एक्लै भए । हुर्के बढेपछि छोराछोरी आ-आफ्ना बाटा लागे। सँगैका दौँतरी, दाजुभाइ बितेपछि माइला बा एक्लै परे । मनको पोको खोल्ने साथीसम्म भएनन्।
सदरमुकाम बस्ने छोराबुहारीले हालसालै हजुरबालाई साथी हुन्छ भनेर ८ कक्षामा पढ्ने नाती राखिदिएका रहेछन् । ‘नाती त असल छ, निकै माया गर्छ मलाई’- वर्षौंपछि भेट भएकी छोरीलाई के सुनाउनु भनेर होला माइला बाले दु:ख लुकाउँदै भने ।
नाती भएपछि माइला बालाई तातो पानीको पिर त भएन । तर, नाती हरदम मोबाइल लिएर कुना पस्ने हुँदा एकालापले पिरोलिरह्यो।
‘गाउँ रित्तो भैसक्यो नानी अब त कोही छैनन् । तन्नेरी जति परदेश लागे, तिनका बाउआमा र जहान सहरतिर सरे । सबैका घर खाली भए’ वर्षौंपछि मनको पोको खोल्दै माइला बाले रित्तो गाउँको पीडा सुनाए । राधाले पनि गाउँमा कुनै चहलपहल देखिनन् । उबेला गाउँमा बिजुली पुगेको थिएन। तर पनि, साँझ पर्दानपर्दै बस्ती झिलिमिली हुन्थ्यो । अहिले सबै घरमा बिजुली जोडिएको छ, तर एकाधबाहेक साँझमा पनि सिंगै गाउँ चकमन्न देख्दा राधाको मन उज्यालिन सकेन ।
उहिले गाउँ हराभरा थियो । खेतबारीका कुनै गह्रा, सुर्का र फोहटा बाँझो हुँदैनथे । आली र कान्ला समेत मास र भटमासका विरुवाले भरिन्थे । गोठ गाइवस्तुले भरिला थिए । परालका टौवा अनि खरका कुन्युले गोठको शोभा दिन्थे । सेतो कमेरो र रातो माटोले सजिएका घरका पालीमा पाकेका फर्सी लहरै राखिएका हुन्थे । हरेक घरमा मकैका थाँक्रा, भकारीभरी धान र कोदो हुन्थ्यो । गाउँमा आगोदेखि अन्नसम्म ऐँचोपैँचो चल्थ्यो । अर्मपर्म र सरसापट जीवनको रक्तसञ्चार जस्तै थिए।
यी सम्झँदा सम्झँदै राधा बाल्यकालमा हराउन पुगिन् । आठ कक्षासम्म पढेकी राधा स्कुलबाट फर्केर कहिले स्याउला बोक्न वनतिर लाग्थिन् त कहिले दूध दुहुन हरियो घाँस काट्न सिमखेततिर । मेला जाँदा आमाले मामाघरबाट कोशेली ल्याएको गौरीया चामलको सिरौँला र भट्ट पटुकामा हालिदिनुहुन्थ्यो, त्यो खाजा राधालाई असाध्यै मिठो लाग्थ्यो ।
उहिले त चाडबाड आउँदा गाउँमा रौनक नै बेग्लै हुन्थ्यो । लिंगे पिङ, रोटे पिङ खेलकुद मेला नाचगान । दशैँमा घर फर्किने लाहुरेहरूले छरेका अत्तरले पूरै गाउँ हरर बास्ना चल्थ्यो । बुढापाका वरपिपलको चौतारीमा शीतल ताप्दै गफिन्थे । छेवैमा केटाकेटीहरू बाघचाल खेल्थे।
माइलाबाको आगनमा केहीबेर बसेर राधा उठिन् अनि सिरानघरको कान्छा हजुरबाको दैलोमा पुगिन् । कान्छा हजुरबा र हजुरआमा हाँस्दै घरबाहिर आएनन् । बरू सत्र अठार वर्षकी एक युवतीले बाहिर निस्केर सोधिन् तपाईं को हो ? कसलाई खोज्नुभएको ? राधाले निकैबेर ठम्याउन खोजिन् तर सकिनन् । कान्छा हजुरबाको पूरै परिवार सहर बसाइ सरिसकेछ।
आफू जन्मे हुर्केको ठाउँमा आफैं अपरिचित हुनुपर्दा खल्लो लाग्यो उनलाई । कुनै समय उनलाई गाउँका ढुंगामाटोले पनि चिन्छन् जस्तो लाग्थ्यो। घाँस काट्न पर डाँडामा पुग्दा पनि गाउँको जुनसुकै कुनाबाट जोसुकैले ए SSSS राधा ! भनेर बोलाउन सक्थे । उबेला जुनघामले आफैँलाई पछ्याइरहेजस्तो अनि कोइलीको ‘कुहुँकुहुँ’ आवाजले पनि आफूलाई नै बोलाएझैँ लाग्थ्यो राधालाई । गाउँको सेरोफेरो सबै आफ्नो जस्तो लाग्थ्यो । ‘अब त नयाँ पुस्ताले चिन्न पनि छोड्यो बरै’ उनले मनमनै भनिन्।
सिरानघरबाट निस्केर जन्मघरतिरै लागिन् राधा । झमक्क साँझ परिसकेको थियो । आगनको डिलमा लडिराखेको ग्यालिनमा मूलधाराको पानी थापिन्। घरमा विजुली काटिएको रहेछ । अगेना छेवैमा रहेको टुकीमा थोरै मट्टीतेल रछ । टुकी बालिन् । ठुटाठुटी र छेस्का बटुलेर आगो सल्काइन्। पुरानो ‘किल्टी’ (केटली)मा पानी तताइन् । नेपालगन्जबाटै ल्याएको सातु झिकेर खाइन् । यतिखेर उनले सानामा आमाले दूधमा भिजाएर दिएको मकै र भट्मासको सातु मीठो मानेर खाएको खुब सम्झिइन्।
पुराना दिनको याद र लामो समयपछि जन्मघरमा टेक्न पाएको खुसीले गर्दा निदाउनै सकिनन् । आमा सुत्ने गरेको भुइँको मुलिओछ्यानमा थोत्रिएको गुन्द्रीमा आमाको पुरानो डसना ओछ्याएर पल्लिरहिन् राधा । उनलाई त्यो फाटिसकेको पुरानो डसनामा आमाको बास्ना महसुस भइरहेको थियो ।
बिहान सबेरै उठेर बालसखा सीताको घर पुगिन् । नेपालगञ्ज छँदै राधाले सोचेकी थिइन्– ‘कोही भेटिएला नभेटिएला तर म सीताको आगनमा पुगेरै छोड्छु’।
– ल हेर ! राधा होइनौ र तिमी-
बोइ (सीताकी आमा)ले चिन्नुभो मलाई’- उनी फुरुङ्ग भइन् । राधाले महसुस गरिन्-आफू जन्मेको माटोमा कसैले यसरी नामले बोलाउँदा मिल्ने खुसी शब्दमा व्यक्त गर्न नसकिने रहेछ । बोइले अँगालो हाल्दै भनिन्, ‘ल हेर ! कसरी कहाँबाट आइपुग्यौ नि छोरी भाग्यले भेट्न जुरेको रैछ । अर्को साता पोखरा जाने साइत गरेकी छु । एक साता ढिलो गरेकी भए तिम्लाई भेट्न नि पो नपाउने रैछु, आज टुप्लुक्क आइपुग्यौ।’
बोइ पनि रुनुभयो राधा पनि रोइन् । राधाकी प्रिय बालसखा सीताकी आमा हुन् उनी । सबैले उनलाई बोइ भनेर बोलाउँथे । ‘बोइको त्यो आगनमा कति खेलियो, कति उफ्रिइयो’ -राधा भावुक भइन् । ‘आज, भोलिमा राधा माइती आउँदिनन् होला त बोइ ?’ राधाको सोधाइमा भेट्नको चाहना थियो। ‘खै भ्याउन्न भन्छे, पोहोर तीजमा आएर एक रात बसेर गएकी फेरि फर्केर आएकी छैन बा । त्यो पनि, के गर्छौ टाढा पर्यौ तिमी दुइटी, भाग्यले डोहोर्यार्इ कहाँकहाँ पुग्यौ, माइत आउने-जाने पनि रहरै भो तिमीहरूलाई’ बोइले निराश हुँदै भनिन् ।
राधा र बोइ धेरैबेर गन्थन गर्दै बसे । कतिबेला रुन्थे, फेरि के-के सम्झेर हाँस्थे पनि । निकैबेर बसेपछि राधाले भनिन् –‘बोइ हजुरलाई भेटेर सीतालाई नै भेटे जस्तो भो । बस्नु है, म जान्छु।’
‘कहाँ जान्छ्यौ नानी यतै बस् न आज’ बोइले मायाले कपाल सुमसुमाउँदै भनिन्।
‘बोइ ! म जतिदिन बस्छु बा आमाको आगनमै बस्छु, केहि रात त्यही घरमा बिताउन मन छ ।’
बोइले रोक्न खोज्दाखोज्दै राधा उठेर हिँडिन्।
त्यो दिन राधा पूरै गाउँघर र खेतबारीमा भौँतारिरहिन् । कहिले एक्लेपिपलको चौतारोमा गएर थचक्क बस्थिन् त कहिले मूलपँधेरोको डीलमा उभिएर टोलाउँथिन् । कहिले माझफाँटको खेत हेरेर के-के सोच्थिन् फेरि माथितिर पौलस्त्य आश्रममा एकतमासले हेरिरहन्थिन्।
बाल्यकालको स्मृतिमा हराउँदै उनी अन्तराघर साइँलाबाको खेतको आलीमा बसेर बेलौती टिप्दै सोचिन्- उहिले जस्तै अहिले यहाँ सीता, पुष्पा, शर्मिला, सरिता र मञ्जु पनि भैदिएको भए कति रमाइलो हुँदो हो !
भुइँबाटै टिप्न सकिने गरी लटरम्म फलेका अमलाका केही दाना टिपेर स्वीटरको खल्तीमा हालिन् । त्यहाँबाट उनी सिमखेतहुँदै फर्किँदै गर्दा उनले देखिन् निगुरो र जलुकीको कलिला मुना प्रशस्तै थिए । हे बरै ! निगरो टिपेर खाने पनि कोही रहेनन् गाउँमा- मनमनै भनिन्- उहिले हामीले निगुरो टिपेर अँगालो भरी बोकेर घर पुग्दा आमा कति खुसी हुनुहुन्थ्यो । आमाको हँसिलो अनुहार सम्झेर राधा मुसुक्क मुस्कुराइन्।
दिनभरि आफू किशोरी हुँदा खेलेको उफ्रेको गरा, कान्ला, पाखा र घरआगनमा चक्कर लगाएर राधा साँझमा बा’ले आफ्नै हातले बनाएको घरको आगनमा थचक्क बसिन् । आँखा चिम्लिएर लामो श्वास फेरिन् अनि झोलाबाट कपि र कलम झिकेर कविता कोरिन्-
आमा !
तिमी यहाँ नभए पनि लाग्छ यतै छौ,
तिमीले लिउन जडेर सम्याएका भित्ता र खोपा,
गोबर र माटो मिसेर पोतेका पिँढी र आँगन,
तिमीले वर्षौँ खरानीले भाँडा मस्काएको जुठेल्नो
जताततै छ तिम्रो सुवास।
यो हावामा तिम्रो न्यानो स्पर्श बगेजस्तो,
यो माटोमा तिम्रो सुगन्ध मिसिएजस्तो,
धाराछेउमा उभिएको आरुबखडामा,
तिम्रै आकृति प्रतिबिम्बित भएजस्तो,
यस्तो लाग्दैछ मलाइ यतिबेला,
आमा तिमी यतै कतै भएजस्तो।।
वर्षौँपहिले आफ्नो कन्यादान यही आगनमा भएको सम्झिन्छन् उनले । कसरी उनको बिहेमा आमा डाँको छोडेर रोएकी थिइन्- यति टाढा छोरी बिहे गरी पठाउन लागियो भनेर । रुँदारुँदै मुर्छित भएकी आमालाई बाले सम्झाउँदै भनेका थिए- ‘चिन्ता नगर् बुढी छोरीले अक्षर चिनेकी छ चिठी लेख्छे, बेलाबेला आइरहन्छे।’
बिहेपछि बाआमा होउन्जेल कहिलेकसो त माइत आइन् पनि राधा । टाढाको माइत मनले चाहेर पनि आइरहन कहाँ मिल्नु । फेरि छोरी जन्मेपछि आउजाउ सजिलो पनि थिएन । यौटी छोरी जन्मेपछि पाठेघरको व्यथाले थला परेकी राधाका अरू सन्तान भएनन् । छोराका लागि भन्दै लोग्नेले दोस्रो बिहे गरेपछि राधा थप एक्लो बनिन् । तर उनले हिम्मत नहारी छोरीको लालनपालन र शिक्षादीक्षामा दिलोज्यान दिइन् । निकै दु:खसँग हुर्काएकी छोरीलाई नर्सिङ पढाइन् ।
पढाइ सकेलगत्तै एक मात्र सहारा छोरी पनि बिहेपछि देश छाडेर बेलायत हानिइन् ।
‘एक्लै कति बस्नुहुन्छ आमा भन्दै एकपटक राधालाई छोरीज्वाइँले बेलायत पनि बोलाए । तर, राधाको मन त्यहाँ अडिन सकेन। ‘भो ! नानी म उतै जान्छु, उतै बस्छु, मिलेसम्म तिमीहरू आउँदै गर है’ भन्दै नेपाल फर्केर आएकी थिइन् राधा।
राधाले छोरीलाई भन्ने गरेकी थिइन्-‘संसारको जुनसुकै कुनामा मेरो देहान्त भएछ भने पनि अन्तिम संस्कार कालीगण्डकी किनारमा गरिदिनु है छोरी’। मध्यरातसम्म माइतीघरको पिँढीमा बसेर राधाले छोरीलाई निकै सम्झिइन् ।
भोलिपल्ट बिहान घामको पहिलो किरणसँगै राधालाई बोलाउन बोइ आइपुगिन् । राधा शान्त भएर आमा सुत्ने गरेको मुलिओछ्यानमा सुतिरहेकी थिइन्। कहिल्यै नउठ्नेगरी ।
बसाइँसराइ र वैदेशिक रोजगारीको लहरले गाउँमा मलामी पाउन पनि मुस्किल भइसकेको थियो । माइला बा’ले नातीलाई पल्लो गाउँबाट अलि टाँठाबाठा तन्नेरी बोलाउन अह्राए । निकै सोधिखोजी पछि विदेशमा रहेकी राधाकी छोरीलाई खबर पुर्याउने मेसो मिल्यो ।
बरफका डल्लामा तीन दिनसम्म शव राखेपछि पर्सिपल्ट राधाका छोरीज्वाइँ बेलायतबाट आइपुगे, अनि कालीगण्डकी किनारमा उनलाई अन्तिम अग्निदान दिए।
कालीगण्डकी आज शान्त थिइन् । आफ्नी ब्रह्मपुत्रीलाई आफूमा समाहित गर्न आतुर भएजस्तै । क्षणभरमै शरीर खरानी बन्यो, …अनि कालीमा अलप भइन् राधा ।
प्रतिक्रिया 4